यो वेब साईट आफ्नै हाल खबरको लागी हो. यो हाल खबरबाट विभिन्न विधाका कथा ईतिहास विवरण आवरण समाबेस गरिएको छ नेपाली ईतिहास कालखण्डमा आदी कालदेखिको पृष्ठभूमिमा आधारित पाठक बृन्द समक्ष्य पस्काएको छुआशा छ यो वेब साईटबाट हामीले पस्काएको विभिन्न विधाका आलेख प्रलेखहरु समाबेसिता गराई भरपुर साक्षत्व र समिक्षता हुने छ भनी म आशाबादी छु धन्याबाद
Tuesday, June 23, 2015
मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’
नेपालको सुदूरपूर्व मेची अञ्चल, इलाम जिल्लाको इभाङ–५ स्थित डाँडागाउँको पुछारमा रहेको आगोटेबारीमा औंलामा गन्न सकिने घरहरु मात्र थिए। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जेठा दाजु लाजहर्कको अंश आगोटेबारीमा मुलढोका पश्चिम फर्केको, दक्षिणतिर सानो झयाल भएको, मुनि गारो र माथि चिमको बेरा र खरले छाएको मुस्किलले ४, ५ जनाको परिवार अट्ने सानो घर थियो। घर सानै भएपनि सुन्दर बनाउन कमेरो माटो र रातो माटोले राम्ररी लिपपोत गर्नुका साथै बाहिर भित्तामा पदमफूङ (गोलो गोलो बुट्टाको फूल बनाएको) भएको घरमा टेकबहादुर लिङ्देनको परिवार बस्थ्यो। गाउँको पुछारमा बस्ने परिवार भएकाले टेकबहादुरलाई पुछारे भन्दथे।
भीरसँगै टाँसिएर बसेको सानो घर, सानो सिकुवा, सानो आँगन तर आँगनमा ठूलो सेतो ढुङ्गा थियो। यही घरमा टेकबहादुरको श्रीमती पान्थर, चोकमागु, तीनमलेकी जोगमाया तुम्बापो माङको सेवा गरिरहनु हुन्थ्यो। मुहिङगुम अङसीमाङ फाल्गुनन्दको भतिजी बुहारी मात्र नभएर चेलासमेत रहेकी जोगमाया गुरुको आदेशअनुसार दियो कलश राखेर अटुट सेवा गर्नुहुन्थ्यो। यस्तैमा वि.सं. २०११ साल असारतिर सपनामा घाम, जुन, तारा मात्र देख्नुभएछ, र पछि मंसिर १८ भन्दा अघि ३ रातसम्म लगातार छोराबुहारी श्यामजीरीको पेटमा चन्द्र, सूर्य, तारामण्डल झलमल उज्यालो देख्नुभएछ। टेकहादुर र जोगमायाको एउटै छोरा पुण्यप्रसाद लिङ्देनकी श्रीमती पान्थर फाक्तेप–९, ओजाचेप्पा माइत भएकी चन्द्रमाया चेम्जोङ (श्यामजीरी)ले पनि बालक गर्भमा हुँदा मासु, मंस, मदमदिरा खान नहुने, सपनामा हिमश्रृंखला तथा डाँडाहरुमा उडेको, सेतो घोडा कुदाएको बारम्बार देख्नुहुन्थ्यो।
यस्तै, लक्षणहरुसँगै श्यामजिरीको कोखबाट वि.सं. २०११ मंसिर १८ गते शुक्रबार बिहान घामको आगमनसँगै एउटा बालकको जन्म भयो। बालक जन्मेपछि सुत्केरीलाई परेवाको मासु दिइयो। तर, त्यही कारण बालकले आमाको दूध खाइदिनुभएन। सौभाग्य बालकसँगै व्याउने कालो भएपनि सिँदुरी नाम गरेको गाईको दूध बालकलाई ख्वाएर हुर्काइयो।
माङको दूतको रुपमा जन्म भएको त्यो खबर त्यही गाउँमा मात्र सीमित रहेन। सायद त्यसैले पारि लामागाउँमा १५ बहिनी खत्रीनीहरु घाँस, दाउरा, मेलापात गर्दा गीत गाउँथे, ‘गैरी गाउँमा जन्म्यो बालागुरु दुनियाको उपचारका लागि…’
सो बालकको ज्योतिष नाम श्यामबहादुर राखियो। आगोटेबारीको जग्गा मलिलो भएपनि थोरै जग्गा भएकाले उत्पादन हुने अन्न र जितपुरको खेतको धान कुटाएर ल्याएकोले बोजु, आमा, बाबु, २ जना फुपू र लुङा दलबहादुर लाओतीसहितको परिवारलाई वर्ष दिन खान पुग्दैनथ्यो। कोदो धेरै उब्जनी हुने भएकाले धेरैजसो कोदो, मकै नै प्रमुख खाद्यान्न हुने गथ्र्यो। यस्तैमा घरायसी बेमेलताका कारण आमा श्यामजीरी ३ महिने बालकलाई छोडेर दोस्रो विवाह गरी आसाम जानुभयो। बालक श्यामबहादुर बोजु जोगमायाको लालनपालनमा हुर्कन थाल्नुभयो। र, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले जोगमायालाई भन्नुभए झैं जोगमाया पुनः आमा झैं हुन पुग्नुभयो।
यसरी सानैमा मातृत्वविहीन बन्नु पुगेका बालक साथीभाइसँग खेल्दै हिँड्ने उमेरमा ३०, ३५ वटा बाख्रा र ९, १० वटा गाईवस्तुहरुको गोठाला हुनुभयो। बाली नष्ट हुनबाट जोगाउन बाँदर रुङ्नु भयो। त्यही उमेरमा वहाँले गाउँको करिब डेढ घण्टाको उकालो हिँडेर पुगिने प्राथमिक विद्यालय जानुहुन्थ्यो। बोजुले बुनेको खाडीको दाउरा सुरुवाल, इस्टकोट र निधारमा सेतो माङफूङ (बिघौत) लगाएर जाँदा साथीहरुले गिद्धले निधारमा छेरेको भन्दै जिस्काउँथे। तर, वहाँ केही पनि भन्नुहुन्नथ्यो। किनकि, वहाँ कसैलाई नराम्रो नभन्ने, झूट नबोल्ने, एकान्त मनपराउने, कम बोल्ने, झगडा नगर्ने प्रवृतिको हुनुहुन्थ्यो।
विद्यालयमा पढ्दा पुस्तक पढ्नै नपढी आउने भएको साथै नजान्नेसँग बसिरहनु परेकाले अर्को वर्ष पारि गजुरमुखी गाविसको विद्यालयमा पढ्नु पर्ला भन्ने सोच वहाँको र बाजे टेकबहादुरको पनि थियो। तर, यस्तैमा बाजे बिरामी हुनुभई बित्नुभयो पनि। त्यतिबेला वहाँ ९ वर्षको हुनुहन्थ्यो।
बाजेको मृत्युसँगै विद्यार्थी जीवन पनि टुट्यो। पढ्ने वातावरण बन्न सकेन। गोठाला गर्दा नै दिन बित्न थाल्यो। प्रायः बोजुलाई पूजापाठ गर्न सघाउनु हुन्थ्यो। बोजु त्यहाँबाट गैरीगाउँको माङहिममा पूजा गर्न जानुहुन्थ्यो। साथमा नातिलाई पनि लानु हुन्थ्यो। त्यसबखत माङहिमको सेवासाबा जोगमायाको काका बद्रीनन्द तुम्बापो हुनुहुन्थ्यो। बद्रीनन्दसमेतको संगतले १३ वर्षको उमेरदेखि नै जपतप गर्नतर्फ वहाँ लाग्नुभयो। र, सोही वर्ष वहाँ बद्रीनन्दद्वारा दीक्षितसमेत हुनुभयो। दीक्षित गरिसकेपछि वहाँको जोगनाम बद्रीनन्दले राखिदिनुभयो– आत्मानन्द। पछि बोजुले आत्मा परमात्मा जान्ने आत्मानन्द भन्ने गर्नुहुन्थ्यो।
यसरी बोजुसँग कहिलेकाहीं माङहिम जाँदाजाँदै वहाँले धेरै कुरा सिक्नुभयो। तैपनि वहाँलाई गोठाले जीवनले १४ वर्षको उमेरसम्म छोडेन। किनकि, माङहिममा पनि भेंडा चराउनु पथ्र्यो। यस्तैमा वहाँ १४ वर्षको हुँदा अर्थात् २०२५ सालको दशैंको टीकाको रात ठूलो पानी प¥यो। बेगले चलेको हावा र लगातारको मुसलधारे पानीले घर चर्कियो। पहिरोले वहाँ र लुङा दलबहादुर लाओतीलाई समेत झण्डै लग्यो। त्यही रात नै त्यस घरमा वहाँको अन्तिम रात भयो। त्यसपछि त्यो घर छोडेर डाँडागाउँमा निस्की अन्नपानी र सामान ओसारेर पछि हिउँदमा सबै खेतीपाती उठाई स–परिवार डाँडागाउँको पुछार तुमबुङबामा बसाईं सर्नुभयो। यसरी दिनचर्या कठिन भइरहेकै अवस्थामा बुबा दोस्रो विवाह गरेर आसाम जानुभयो।
बोजु र बद्रीनन्दसँग माङको सेवामा तल्लिन हुने क्रममा १३ वर्षको उमेरमा नै गैरीगाउँ माङहिम छेउको सानो वनमा समय समयमा जपतप गरी आध्यात्मिक जगतमा पदार्पण गर्नुभयो। र, आत्मा, परमात्मा जान्ने तथा विगत, वर्तमान र भविष्य जान्ने भई बालागुरु उपनामले सर्वत्र चिनिनु भयो। सो ध्यानलाई पूरा गर्न सोही वर्ष अर्थात् वि.सं. २०२५ को माघ शुरुतिर गुफा साधन गर्न बोजु, बद्रीनन्द, सिद्धिहाङ राई, डम्बरसिं लिङ्देन र माल्टेनीको तामाङनीसहित जितपुर पुछारको खत्रक्पा खोल्सी जानुभयो। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नुभएको सो खोल्सीमा ध्यानरत रहँदा राति अचानक पारि दानाबारी–९,बोरुङबाट आएको टर्चको भैmप्रकाशले ध्यान अवरुद्ध भयो। बद्रीनन्द डराउनु भई राति नै ठाउँ छोडी कष्टपूर्ण तवरले जंगलको सिरानमा निस्कनुभयो। अत्तालिएर अँध्यारोमा जंगलको बाटो उकालो चढ्दा जपतप गर्नका लागि ल्याइएको खाद्यान्न छरपष्टियो। केही दिनअघि महमाईमा ज्यानमारा काण्ड चलेकाले त्यसैको सम्झनाले गर्दा डराई ध्यान पूरा हुन पाएन। तर, त्यो प्रकाश ज्यानमाराको थियो या शिकारीको थियो या माङको पहिचान थियो यकिन हुन सकेन। उज्यालो भएपछि जितपुरको माङहिममा गई ३ दिनसम्म बस्नुभयो। सेवा लगाउनुभयो।
बालागुरुको अपूरो अधुरो ध्यान, माङसँगको भेटको लालसा अपूरो रहेकैले वि.सं. २०२६ मंसिरमा मोरङको बक्राहखोलाको डिलमा रहेको पिपलको फेदमा रातिराति एक हप्ता ध्यान गर्नुभयो। त्यो ध्यान कुल झोडा दर्ता गराउने प्रमुख उद्देश्य राखेर गर्नुभएको थियो। नभन्दै पछि वहाँ र वीरबहादुर योङहाङ काठमाडौं गएर कुलझोडा दर्ता गर्नुभयो। यसरी बक्राखोलाको डिलमा ध्यान गर्नुभन्दा केही अघि अर्थात् असोजतिर दुर्गा मन्दिरमा पनि ध्यान गर्नुभयो। तर, दशैंताका भएकाले भोग दिई पूजा गरिएकाले त्यति राम्रो हुन सकेन।
वीरबहादुरसँग काठमाडौंमा वीरेन्द्र वीरविक्रम शाहको विवाह हेर्न जानुभयो। त्यतिखेर विराटनगरबाट जोगवनी गई भारतीय भूमिबाट रक्सौल हुँदै वीरगञ्जमा निस्केर बाइरोडको बाटो हुँदै काठमाण्डौ छिर्नुभयो। काठमाडौको थापाथलीमा ३ महिना जति बस्नुभयो। हेर्ने कोर्नेहरु खुब आउँथे। पहिलो पटक काठमाडौं गएकाले पशुपति, बुढानिलकण्ठलगायत सम्पूर्ण प्रमुख देवीदेवताको दर्शन गर्नुका साथै राजाको विवाह हेरेर वि.सं. २०२७ जेठमा घर फर्किनुभयो। सम्भवतः खत्रक्पामा भएको घटनामा नै सातो गई बिरामी हुनुभएका बद्रीनन्द सोही असारमा परमधाम हुनुभयो।
सोही महिना पुनः ध्यान गर्नुपर्ने माङ आदेश भयो। त्यसैले बद्रीनन्दको मृत्यु कर्म सकेर वहाँ साथी खोज्न लाग्नुभयो। करिव एक महिनाको परिश्रममा पान्थरको कुरुम्बासम्म पुगेर साथीहरु र खाद्यान्न बटुल्नुका साथै फुपाजु जोगदिल साम्सुहाङसँग लारुम्बाकै बाटो भएर ठाउँ हेर्न जानुभयो। ठाउँ चयन भयो माई, देउमाई र मेक्वाको संगमस्थल फुलुङ्गीको गुफाडाँडा।
डेरा, ध्यान गर्ने स्थान, लाधुङसेमी मण्डप, बारबेर इत्यादि तयार बनाउन करिब एक महिना लाग्यो। सो गुफा साधन माघ २५ गतेसम्म चल्यो। र, साउन २५ गतेदेखि ध्यान शुरु भयो। त्यतिखेर पान्थर कुरुम्बाका नरहाङ लाओती, दधिराम लाओती, मानवीर लाओती र इलाम नाङरुङका वीरबहादुर योङहाङ बालागुरुसँग हुनुहुन्थ्यो। तोरण देउमाईदेखि खत्रक्पासम्म टाँगिएको थियो। त्यो देखेर मान्छेहरु छक्क पर्थे। शुरुमा त्यहाँ चराचुरुङ्गी, जीवजन्तु केही आउँदैनथे। पछि एउटा–एउटा गर्दै आउन थाले। मान्छेहरुले पनि थाहा पाए र भेट्न आउनेको भीड पनि बढ्न थाल्यो। यो ध्यान १३ वर्षदेखि १५ वर्षसम्म गैरी गाउँको सानो वनमा र विभिन्न ठाउँमा गर्नुभएको ध्यान, योग, जपतपको बृहत रुप थियो।
यसरी गुफासाधन गर्दा बालागुरुले सेवासाम्लोहरु रचना गर्नुभयो। करिब ६ महिनासम्म ध्यानरत भई वहाँले समाधी ज्ञान प्राप्त गर्नुभयो। र, सो ध्यानमा नै आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको अपूरो कार्यलाई पूरा गर्ने रहेको थाहा पाउनुभयो।
फुलुङ्गीको सो सफल गुफा साधनपछि फर्केर गाउँ जाने क्रममा गैरीगाउँको चुक्चिनाम्बा माङहिममा ठूलो सेवा भयो। सो सेवा बालागुरुका लागि माङलाङताक्मा अर्थात् स्वागतार्थ थियो। किनकि, असारमा बद्रीनन्दको मृत्यु भएपछि सो माङहिमको गुरुको नियुक्तिका लागि चुम्लुङ सोही माङहिममा बसेको थियो जसमा बालागुरुलाई नै गुरु बनाउने निर्णय भएको थियो।
यसरी ठूलो सेवा गर्नलाई तयारी त भयो। तर, महल बनाउने विषयमा राय मिलेन। अर्थात् बालागुरुलाई त्यो मन परेन। त्यसैले वहाँले चित्त दुखाउनु भयो। रुनु पनि भयो। त्यसपछि केही दिन पर सारेर त्यो सेवालाई भव्यताका साथ गरियो। बालागुरु पनि खुशी हुनुभयो। सो समयमा पर्दाभित्र रहनुभएका बालागुरुलाई धेरैले अनौठो देखेका थिए। सोही कार्यक्रमसँगै बालागुरुलाई मुहिङगुम अङसीमाङ फाल्गुनन्दको पुनः अवतारको रुपमा मानियो र पूजियो। सो कार्यक्रममा बालागुरुले धर्मोपदेश पनि दिनुभयो। यसरी भक्तजन बोलाएर गरिएको यो पहिलो धर्मोपदेश तथा ठूलो कार्यक्रम थियो। त्यहीबाट नै धर्मोपदेश दिने कार्य पनि शुरु भयो।
बालागुरु मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतार भएको मान्यतापछि मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’हुनुभयो। धर्मगुरु त पछि वि.सं. २०३६ तिर राजनीतिक नेताहरुले लगाइदिएको उपमा हो। यद्यपि, मुहिङगुम अङसीमाङ भनी हालिएन। किनकि, यो शब्दको चयन वि.सं. २०५७ ताका मात्र भएको हो।
वहाँ वि.सं. २०२८ भदौमा पखेरे भन्ने मुहिङगुम अङसीमाङको मामा र जगतबहादुर लाओतीसँग बाबु र कान्छी आमा रहेको स्थान आसाममा जानुभयो। त्यहाँ जानसाथ बाबु र आमा नेपाल बसाईं सर्नुभयो। मुहिङगुम अङसीमाङ र जगत मात्र घरमा रहनुभयो। घर उठाउनु पर्ने भएकाले जर्ना (काठ) तिल, मकै, सिमी, बोडी इत्यादि आफ्नै उत्पादन ३५÷३६ सयको बेच्नुभयो। र, पछि बुबा फर्केपछि त्यही पैसा लिएर अघोरी खोज्न जानुभयो। ब्रह्मपुत्र नदीमा स्टिमर(मेसिनबाट चल्ने सानो डुंगा)बाट तरेर भरौल नदीको किनारैकिनार सेतीखरेमा ओर्लेर निष्पट जंगलमा एक हप्ता जति अघोरी खोज्ने काममा लाग्नुभयो। त्यसबखत त्यहाँ अघोरीको ज्यादै चल्ति थियो। त्यो लिन व्यापारीहरु जंगलमै आउँथे। त्यसै कारण कतिको ज्यान पनि जान्थ्यो। त्यसरी हिँड्दा गुरुसँग जम्मा १९ जना नेपालीहरु थिए।
खुकुरी बञ्चरो, चामल बोकेर तन्नेरी बनेको जस्तै बनिनु पर्ने, बेतको लहरामा झुण्डिन्दै जानुपर्ने। साथीहरुले सेतीखरेमा धेरै माछा मारेर खाए। गुरु खानु हुन्नथियो। टेंगा (भोगटे)को अचार प्रसस्तै खानुहुन्थ्यो। यसबीच गुरुले अघोरी त पत्ता लगाउनु भयो। तर, ज्यान जाने माङको पूर्वसंकेतले गर्दा मान्नु भएन। र, अलिकति मात्र भएको लिएर फर्किनुभयो। त्यो बेच्दा चार हजार रुपैयाँ भएको थियो।
अघोरीको खोजीपछि पखेरे आसाममै रहेकाले गुरु, गुरुको बुबा र जगतमात्र फर्किनुभयो। आलिपुर हुँदै नक्सालसम्म रेलमा आउँदा पैसा सकियो। त्यसैले नक्सालवाडीबाट पैदलै भोकै बेलुका झापाको ढेङ्ग्रे आइपुग्नुभयो। यो फर्काइ वि.सं. २०२८ माघ महिनाको थियो।
अर्को वर्ष २०२९ सालको साउनमा गुरु प्रथम पटक सिन्चेई फक्ताङलुङ जानुभयो। वहाँको साथमा जौबारी कान्छा (डिल्लीप्रसाद तुम्बापो), वीरबहादुर योङहाङ, दिलबहादुर लाओती, जगतबहादुर लाओती, अविधोज लिङ्देन र लक्ष्मी सेर्मा (सेर्मा कान्छा) पनि हुनुहुन्थ्यो। ताप्लेजुङको याम्फुदेनमा आलु खाँदा नाहेन झर्यो। त्यसको भोलिपल्ट अविधोज डमरु बजाउँदै कराउँदै हिँडिरहेको थियो। दुई जना लामाहरु माला गन्दै फापरझुटाबाट तल झर्दै थिए। बेलुका डुँडपानीमा बास बस्दा अचानक मौसम बिग्रियो। चट्याङ छेवैमा पर्न थाल्यो। आकाश गर्जिन थाल्यो, हावापानी ज्यादै डरलाग्दो तवरले चल्न थाल्यो। गुरुसँग जानेहरु सबै डराए। त्यसैले गुरु हतारहतार हातखुट्टा धोइवरी जपमा बस्नुभयो। अक्षता र धूप बालेर यसो हेर्दा अघिकै लामा देख्नु भएछ। तब जसले अह्राएको त्यतै जानु, हामी त हिमाल हिँडेको भन्नु भएछ। नभन्दै एकैक्षणमा त्यहाँ मौसम शान्त हुँदै गयो। त्यो हावापानी तलतिर सर्दै गयो। र, हेल्लोक खोलाको बाढीले गाउँ नै बगाइलग्यो। जसमा ती दुई लामाहरु पनि परेछन्। त्यो घटना पछि फर्किंदा थाहा भयो।
घुन्सामा पुगेपछि फाल्गुनन्दको अवतार आउनुभयो भनेर त्यहाँका गुम्बाको गुरुले मुहिङगुम अङसीमाङलाई १० रुपैयाँ भेटी दिएर हामीभन्दा तपाई जेठो भन्यो। त्यतिखेर दोभाषेहरु राखिएको थियो। फाल्गुनन्दले एउटा ढोका खोल्नुपर्छ भन्नुहुन्थ्यो। त्यो खोल्नुपर्छ भन्थे लामाहरु। त्यतिखेर त्यहाँका बासिन्दाहरुले गुरुलाई घर घरमा लगेर धनको सह रहोस् भनेर बाकस खोलेर सुनहरु छुन लगाए।
त्यसपछि माथि फक्ताङलुङको काखमा पुग्दा पहिलो पटक त गुरु रिसाउँदै, ‘माङले किन दर्शन दिँदैन बल्ल आउँदा’भन्नुभयो। तर, भोलिपल्ट राम्रो भयो। हिउँ परिरहेको थियो। तैपनि गुरु केही चेलाहरुसँग निकै माथिसम्म चढ्नुभयो।
दोस्रो वर्ष वि.सं. २०२९ मा पनि गुरु फक्ताङलुङ जानुभयो। यो वर्ष वहाँले फक्ताङलुङको पूर्वी मोहडा पाङलाङमा आफ्नो लामो केश काटेर आउनुभयो। साथै, विवाह गर्नुपर्ने माङको आदेशसमेत लिएर फर्किनुभयो। टिम्बुमा सात दिनसम्म बस्नुभयो। मयुर पोखरीमा पौडी खेल्नुभयो। गुरुको सो टोलीले लक्ष्मी पोखरी र जोरपोखरीको आसपास भीरमा तीन पटक शंख बजेको सुनेको थियो। गुरुसँग १५ जना पाङलाङ गएकोमा पाँचजना टिम्बु पोखरीबाटै फर्किएकाले १० जनामात्र पुगे।
फक्ताङलुङ यात्राकै क्रममा वहाँले सिदिङबा (श्रीङचोक) मा दुई दिन ध्यान गर्नुभयो। र, यसरी माङसँग साक्षात्कार हुने क्रममा कात्तिकमा बाँझोको माङमालुङस्थित थालाचेप्पाको जंगलमा तिहारको आसपास सात दिनसम्म ध्यानरत रहनुभयो। यो ध्यान वहाँको जीवनमा निकै महत्वपूर्ण रहेको वहाँ स्वयं मान्नुहुन्छ। किनकि, त्यतिखेरको सेवापछि वहाँले गर्नुभएको वाणी विशेषतः पञ्चायती शासन र विद्यमान अशान्तिबारे थियो।
माङसँग समय समयमा भेट गर्नुपर्ने भएरै होला महमाईको लक्ष्मी खोलाको शीरमा पनि चार दिन चार रात पुष महिनाको जाडोमा ध्यानरत हुनुभएको थियो। साथमा जौबारी कान्छा हुनुहुन्थ्यो। त्यसपछि लगत्तै फुलुङ्गीमा दुई दिन दुई रात जपतपमा लाग्नुभयो।
बाँझो गाविसको सिरानमा रहेको माङमालुङस्थित थालाचेप्पा डाँडामा वि.सं. २०२९ कात्तिकमा जपतप गर्नुभयो। र, २१ गते शनिबार भविष्यवाणी गर्नुभयो।
वि.सं. २०२९ मंसिरमा आमालाई भेट्न जगत लाओतीसँग आसाम जानुभयो। आमालाई खोज्न कुर्कुले जानुभयो। गुरुले अन्तर्दृष्टिबाट यही हुनुपर्छ भन्नुहुने तर भेट्नै मुस्किल परिरहेको बेला कसो गर्दा कान्छा बुबा हाँस्दै उभिरहनुभएको थियो। अनि आमासँग भेट हुनासाथ गुरुले ढोग्नुभयो। आमाले पनि चिन्नुभएछ। १८ वर्षमा बल्ल आमाछोराको भेट भयो। सो समयमा ११ दिन आमाछोराबीच धेरै कुराहरु भए। आमाले गुरुलाई र जगतलाई पारिवारिक धेरै गुनासोहरु पोख्नु भयो। गुरुलाई सानैमा छोड्नुको विवशताहरु बताउनुभयो। अर्को वर्ष पनि गुरु दिलबहादुर लाओतीसँग आसाम जानुभयो।
अर्को वर्ष कात्तिक महिनाकै आसपासमा पान्थरको लोब्रेकुटी मास्तिर जमिन खनेर सात दिन सात रात ध्यान गर्नुभयो। मृतआत्माले साह्रै दुःख दिन्थ्यो। किनकि, त्यो भूतको बाटो रहेछ। तैपनि वहाँले ध्यानलाई सफल तुल्याउनुभयो। माङसँगको सो साक्षात्कारमा चेलाभूलाहरुसँग मुहिङगुम अङसीमाङ फाल्गुनन्दको चित्त दुःखेको माङवाणी आयो।
दोस्रो पटकको फक्ताङलुङमा पाउनुभएको माङआदेशलाई पूरा गर्ने क्रममा बाँझो–८ निवासी सुब्बा बृखध्वज साँबाकी जेठी छोरी पवित्रहाङमा साँबासँग वि.सं. २०३२ माघ २२ गते बिहीबार चुक्चिनाबा गैरीगाउँको माङहिममा विभिन्न माङहरुको समेत उपस्थितिमा देवविवाह गर्नुभयो। र, मुहिङगुम अङसीमाङ फाल्गुनन्दले भन्नुभए झैं किरात समाजले पितारुपी संसारिक जीवनमा अङसीमाङलाई पाए। साथै माताको रुपमा मुहिङगुम अङसीमामाङलाई पाए।
विवाहको दुई वर्षपछि फुल्लुङ्गीमा लगातार तीन वर्ष चल्ने सेवा शुरु गर्नुभयो। जसमा विशेषतः साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती) थियो। वि.सं. २०३४ सालमा मुहिङगुम अङसीमाङ एवं मुहिङगुम अङसीमामाङ पहिलो सन्तानको बुबाआमा हुनुभयो। अर्थात् साउन ३ गते जेठी छोरी निर्मलाको जन्म मावलीघरमा भयो। यही वर्ष गजुरमुखीको अमले खेतमा तीन वर्षे सेवाको प्रारम्भ अङसीमाङबाटै हुन पुग्यो। सोही वर्ष काबेली माङहिममा मुन्धुम बनाउन सोच लिएर जानुभयो।
त्यसबखतसम्म बस्ने स्थायी ठाउँको चयन भइसकेको थिएन। त्यसैले धेरै ठाउँको चयन पछि २०३५ सालमा लारुम्बा बसाइँ आउनुभयो। सोही वर्ष कात्तिक १५ देखि १७ गतेसम्म महमाईको तमाखेको चुलीभित्र तत्कालिन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्जव सङबाङफेको व्यवस्थापन एवं संयोजनमा बैठक बसी विभिन्न निर्णयहरु पारित गर्नका साथै किरात धार्मिक झण्डाको निर्माण गरी निर्णय पुस्तिकामा रगतको ल्याप्चे लगाई माङवाचा खाने काम भयो। तर, यस वर्ष निकै कठिन पनि सावित भयो। किनकि, यही वर्ष गुरुलाई प्रशासनले भित्रभित्रै रुपमा नराम्रो सोचेर खोज्न थालेको थियो। र, प्रहरीहरु प्रायः गुरुलाई खोज्न हिँडिरहन्थे।
वि.सं. २०३६ मा गुरुआश्रमको माङहिममा अङसीमाङको २५औं जन्मोत्सव मनाई माङगेन्ना कार्यक्रमको औपचारिक शुरुवात भयो। पछि यो माङगेन्ना कार्यक्रमलाई भालुटारहुँदै मान्द्रेडाँडामा किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम बनाएर त्यतै गर्न थालियो। साथै सो डाँडाको नामसमेत परिवर्तन गरी माङसेबुङ राखियो।
यसै वर्ष माघ ७ गते पान्थरको सदरमुकाम फिदिममा किरात धर्म तथा साहित्य उत्थान संघ गुरुले दर्ता गराउनुभयो। वि.सं. २०४२ देखि गुरुकै पहलमा किरात लिपिमा छाप्ने प्रेस नेपालमै पहिलो पटक कलकत्ताबाट ल्याइयो। यस बीचमा यस प्रेसले गर्दा धेरै अप्ठयारा परिस्थितिको सामनासमेत गर्नुप¥यो। यही प्रेसको कारण गुरु कलकत्ता पनि जानुभयो। अन्ततः वि.सं. २०४७ फागुन ८ गते अधिकारिकरुपमा किरात प्रिन्टिङ प्रेसको उद्घाटन भयो। र, वि.सं. २०४८ देखि छाप्ने कार्यसमेत शुरु भयो। यो सम्भवतः विश्वको किरात लिपि छाप्ने पहिलो प्रेस थियो।
समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिँड्दा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई झैं लिम्बुवानको राजा इत्यादि आरोप लाग्यो। प्रहरीहरु गिरफ्तार गर्न आइरहन्थे। भागिरहनु पर्ने, कुनै पनि समय ज्यान जान सक्थ्यो। यस्तैमा वि.सं. २०४९ साउनताका गुरु मार्नेलाई तीन लाख रुपैयाँ इनाम दिने भन्ने हल्ला सरकारबाट गोप्यरुपमा चलाइएको भन्ने हल्ला लिम्बुवानमा सर्वत्र चल्यो। यही वर्ष गुरुलाई महमाई पलाँसेको मुद्दा समेत आइलाग्यो। किरात धर्म तथा साहित्य उत्थान संघ दर्ता भएदेखि गुरु अध्यक्ष रहनुभएको थियो। वि.सं. २०५१ चैत २९ देखि २०५२ बैसाक ३ गतेसम्म चलेको संघको तेस्रो महाधिवेशनमा डिल्ली चाम्लिङलाई अध्यक्ष बनाउनुभयो।
यसबीच बाँझो–८ र ९ मा खानेपानीको लागि सशक्तरुपमा लागिपर्नुभयो। त्यसका साथै गाउँमा विद्यालय नभएकाले हाल भालुटारमा भएको सरस्वती माध्यमिक विद्यालयलाई स्थापित गराउन विषेश पहल गर्नुभयो। वि.सं. २०५२ सालमा मुहिङगुम अङसीमाङकै सोचअनुसार किरात चोत्लुङ गुरुमाङगेन्ना सेवा इलाममा दर्ताका लागि प्रक्रिया शुरु गरी २०५५ मा दर्ता गरियो।
वि.सं. २०२७ सालमा चुक्चिनाम्बा माङहिमदेखि प्रत्येक वर्ष मंसिर १९ र माघ ६ गते नियमितरुपमा धर्मोपदेश, देववाणी दिँदै आउनु हुने वहाँले वि.सं. २०४९ माघ ३ र ४ गते भालुटारमा तथा वि.सं. २०५६ चैत ७ र ८ माङसेबुङमा विश्व ब्रह्माण्डबारे भविष्यवाणी समेत गर्नुभयो।
वहाँको जीवनको महत्वपूर्ण कार्यको रुपमा वि.सं. २०५७ साल कात्तिक २४, २५ र २६ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको ११६औं जन्मजयन्ती विश्व शान्ति र मानव एकता दिवसको रुपमा मनाउँदै किरात धर्मको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन काठमाडौंमा तीन दिनसम्म किरात धर्म तथा साहित्य उत्थान संघको प्रमुख आयोजकत्वमा र किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाको सहआयोजकत्वमा भयो। भने २०६७ चैत २१, २२ र २३ गते काठमाडौंमा नै किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भयो।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने प्रमुख अभिभारा आफूमा रहेको उद्घोष गर्नुहुने गुरुले वि.सं. २०६१ कात्तिक २५ गते मुहिङगुम अङसीमाङको भाकललाई पूरा गर्नुभयो। नौमती बाजागाजासहित नौवटा बाछी दान गर्ने भाकल मुहिङगुम अङसीमाङले पूरा गर्न नपाई वहाँको देहान्त भएको थियो। सोही अवसरमा मुहिङगुम अङसीमाङकालीन सातवटै माङहिम (चुक्चिनाम्बा, जितपुर, लोब्रेको दुईवटा, सिलौटी, काबेली, र निगुरादेनको माङहिम) र माङसेबुङको किरात हाङसाम मुजोत्लुङ माङहिममा मुहिङगुम अङसीमाङको तस्वीर अंकित तीनवटा कासको लोहोटा, तीनवटा चाँदीको दियो, मुहिङगुम अङसीमाङको मन्त्र भएको ७ किलोग्रामको कासको थाल थियो। मुजोतलुङलाई पनि चढाइएको थियो। वहाँकै पहलमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई नेपाल सरकारले नेपालको १६औं राष्ट्रिय विभूति घोषणा गर्यो।
लेखक किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष, प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख तथा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’का पूर्व निजी सचिव हुन्।
Subscribe to:
Post Comments (Atom)
११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल
मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...
-
लिम्बूजातीको बाजा ‘के’ (च्याब्रुङ) उत्पती र नाच गोविन्द आङबुहाङ । प्राचिन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो...
-
Pro ud of Darjeeling. if the change of Name the land should not proud of gorkhaland. its better name is Darjeeling hill of near the kanchanj...
-
बुद्धले दिएको उपदेश, दृष्टिकोण र दर्शन नै बुद्घ शिक्षा हो, जुन भोगाइमा आधारित छ । नेपालमा बौद्ध संस्कृतिको लिखित इतिहास करिब २५०० वर्षभन्दा ...
No comments:
Post a Comment