यो वेब साईट आफ्नै हाल खबरको लागी हो. यो हाल खबरबाट विभिन्न विधाका कथा ईतिहास विवरण आवरण समाबेस गरिएको छ नेपाली ईतिहास कालखण्डमा आदी कालदेखिको पृष्ठभूमिमा आधारित पाठक बृन्द समक्ष्य पस्काएको छुआशा छ यो वेब साईटबाट हामीले पस्काएको विभिन्न विधाका आलेख प्रलेखहरु समाबेसिता गराई भरपुर साक्षत्व र समिक्षता हुने छ भनी म आशाबादी छु धन्याबाद
Monday, February 15, 2016
लिम्बू' (याक्थुङ्) नालीबेली:-
'लिम्बू' समुदायको बसोबासको ऐतिहासिक स्थल वर्तमान नेपालको पहाडमा अरुण भन्दा पूर्व र तराईमा सप्तकोशीदेखि मेची नदीसम्मको भूभाग हो। 'लिम्बू' बसोबास क्षेत्र समय–समयमा संकुचन र विस्तार भएको ऐतिहासिक प्रमाणहरू छन्। आधुनिक नेपाल निर्माण भन्दा पहिले उत्तरमा हिमालय पर्वत र दक्षिणमा हालको भारतको जलालगढ (पूर्णिया) सम्मका भूभागमा 'लिम्बू' को राजनीतिक अधिकार थियो। यत्रो भूभाग भए पनि सिक्किमले शक्ति विस्तार गर्दा कहिलेकाहीं 'लिम्बू' शासकका पहाड र तराई दुवैतर्फका क्षेत्रहरू पूर्ण अधिकारमा त कहिले शिर्तो बुझ्ाउने करद (कर) प्रदेशमा परिणत हुन्थे। कहिलेकाहीं चाहिं 'लिम्बू' भूभाग आंशिक रूपमा खण्डित पनि हुन्थ्यो।
सिक्किमका भोटे शासकको उग्र थिचोमिचोबाट बच्न लिम्बू शासक र जनताले कहिलेकाहीं पश्चिमका सेन राजाहरूसँग सहयोग माग्थे। यसक्रममा सेन राजाहरूलाई मूल शासक स्वीकारेर विजयपुर, चौदण्डी जस्ता राई–लिम्बू क्षेत्रको शासन व्यवस्था चल्ने–चलाउने प्रबन्ध गरिएका ऐतिहासिक प्रमाण पाइएका छन्। 'लिम्बू'हरू स्थानीय शासक हुँदाको अवस्थामा र सिक्किमका भोटे शासकको थिचोमिचोबाट जोगिन मकवानी सेनहरूलाई आमन्त्रण गरेपछि समेत यस प्रदेश वा राज्यको नाम 'लिम्बू इलाका' 'लिम्बूवान' आदि नभई विजयपुर थियो। यसै क्षेत्रका विजयनारायण राय नामक किराँत (लिम्बू) शासककै नामबाट विजयपुरको नाम रहेको ऐतिहासिक मान्यता छ।
विजयपुर राज्यको पहाडतर्फ 'लिम्बू' का १० स्थानीय नायक (हाङ्) को प्रशासन चल्थ्यो भने तराईतर्फ सोझै मूल शासक वा तिनका मुख्य काजी (मुख्य मन्त्री) अन्तर्गत राज्य व्यवस्था मिलाइएको थियो। सेनहरूलाई राजाको रूपमा आमन्त्रण गरेर मूल गद्दीमा राखिएपछि भने विजयपुर दरबारमा एक जना राय (लिम्बू) र एक जना खसका गरी दुई जना मुख्यमन्त्री राख्ने चलन चल्यो। यस्तो व्यवस्थाको उद्देश्य स्थानीय परम्परालाई मान्यता दिंदै सिक्किमको अतिक्रमणलाई रोक्ने क्रममा त्यस क्षेत्रमा पुर्याइएका खस र मगर समुदायको व्यवस्थापन गर्नु पनि थियो। यसो गर्दा बाह्य आक्रमणबाट रक्षासँगै विजयपुरको आन्तरिक राज्यव्यवस्था पनि राम्रोसँग चल्थ्यो।
आफ्नो भाषामा 'लिम्बू' हरूको जातीय नाम वा पहिचान 'याक्थुङ्' वा 'याक्थुङ्वा' हो। सिक्किम मूल थलो भएका किराँत परिवारका लेप्चाहरूले 'याक्थुङ्' वा 'याक्थुङ्वा' हरूलाई सम्मानपूर्वक 'चोङ्' वा 'चोङ्वा' भनेर सम्बोधन गर्दथे, अझ्ै गर्दछन्। किराँतको प्राचीनतम चोङ्लिपि, किराँत लिपि, भाषा र साहित्यका विद्वान् सिरिजङ्गाको आदरार्थी नाम, विशेषण 'सिरि चोङ्वा' लेप्चाहरूले लिम्बूलाई सम्बोधन गर्ने वा चिनाउँने क्रममा बनेकोमा शंका गरिरहनुपर्दैन। यसबाट याक्थुङ् मुन्धुम (मुन्थुङ्), याक्थुङ् सेमा मुन्थुङ् तथा याक्थुङ्हाङ् जस्ता प्राचीन र हिजोआज प्रचलित 'याक्थुङ्–चुम्लुङ्' जस्ता नाम 'लिम्बू' लाई जनाउने स्थानीय सम्मानका बोली हुन् भनेर सहजै बुझ्िन्छ। याक्थुङ् शासक कूलका विद्वान रुपिहाङ् रायको अत्यन्त सम्मानित उपनाम 'सिरिजङ्गा' को प्रसंग पनि यहाँ उल्लेख्य छ। यी रुपिहाङ्लाई 'लिम्बू' वा 'लिम्बूवान' का नभनी लिम्बूलाई चिनाउने लेप्चा नाम 'चोङ्' र हिन्दू तथा बौद्ध आदर्शको आदरार्थी 'श्री' समेत जोडेर 'श्री चोङ्वा' भनियो। यो नाम पछि अपभ्रंश हुँदै 'श्री जोङ्वा' र 'सिरिजङ्गा' हुनपुग्यो। याक्थुङ् (लिम्बू) समुदायको इतिहासमा यो एउटा बुझनैपर्ने रोचक तथ्य हो।
'लिम्बू' नाम स्थानीय याक्थुङ् समुदायलाई भोट मूलका शासक र लामाहरूले हेयभावले राखेको नामबाट आएको इतिहासले देखाए पनि ज्ञानको अभावका कारण सेन, गोर्खाली शासक, बेलायती विद्वान् ब्रायन हज्सन्, उनका अनुसन्धान सहयोगी र पछि बाह्यजगतले समेत 'याक्थुङ्' वा 'याक्थुङ्वा' नभनी 'लिम्बू' नै प्रयोग गरे। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी तथा प्रशासकहरूले व्यावहारिक सम्बोधनमा 'लिम्बू' जाति र तिनको ऐतिहासिक बसोबास क्षेत्रलाई उर्दू–पर्सियन शब्दको 'आना' जोडेर 'लिम्बूआना' भने, जुन अहिले 'लिम्बूवान' भएको छ। जबकि, लन्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित १७० देखि झ्ण्डै ३०० वर्षअघिसम्म सिरिजङ्गा लिपिमा लेखिएका दर्जनौं स्रोतमा कतै पनि 'लिम्बू' शब्द भेटिन्न।
याक्थुङ्वाहरूलाई आफ्नोतर्फ मिलाउने क्रममा पृथ्वीनारायण शाहले जारी गरेका औपचारिक आदेश र प्रतिज्ञापत्रहरूमा 'लिम्बू' शब्द प्रयोग गर्दा उनीहरूको मूल नामबारे जानकारी नभएको वा सिक्किमे तथा भोटतर्फका लामा र अधिकारी वर्गले चलाएको हेयको शब्द नै चलाउन चाहेको बुझ्िन्छ। उनका उत्तराधिकारीहरूले पनि अज्ञानतावश 'लिम्बू' नै चलाए। याक्थुङ्हरूको ऐतिहासिक थलोलाई आधिकारिक रूपमा 'पल्लो किराँत', 'विजयपुर राज्य', 'मोरङ इलाका', '१७ थुम्', 'तेह्र थुम', 'पूर्व ६ नम्बर चैनपुर', 'चैनपुर अमाल इलाका', 'पाँच खपन', 'दश मझ्िया', 'सुखिम चैनपुर' जस्ता क्षेत्रीय प्रशासनिक नाम दिइएका दस्तावेजहरू पनि पाइन्छ। 'पल्लो किराँत' नाम पञ्चायतकालसम्म नै प्रचलित थियो। ऐतिहासिक प्रशासनिक हिसाबले पल्लो किराँतका खाम्पालुङ् इशलिम्बा, सिङ्लेला जस्ता क्षेत्रीय पर्वत शृङ्खलाका नाम पनि उत्तिकै उल्लेख्य छन्।
पृथ्वीनारायण शाहको समयमा सल्यानी र जाजरकोटे राजाहरूलाई काठमाडौंबाट पठाइएका लालमोहरहरूमा पल्लो किराँतको पहाडी इलाकालाई 'पूर्वको सुखिम चैनपुर' भनिएको छ। 'लिम्बू' शब्द स्थानीय (नेटिभ) नभएको सन्दर्भमा 'लिम्बू' प्रशासनिक नाम नराखिनु स्वाभाविकै पनि हो। तर, सिक्किमका भोट मूलका शासकका साथै कालान्तरमा तिब्बततर्फबाट झ्रेका गोवा आदि स्थानीय प्रशासक र लामाहरूले हेयभावमा 'लिङ्वो' वा 'लिङ्वु' नै भन्दा पछि खस, मगर आदि समुदायले पनि यथार्थ नबुझ्ी अनौपचारिक रूपमा 'लिंवू' नै भन्ने गरे। यसरी 'लिम्बू' स्थानीय याक्थुङ्वाहरूलाई याक्थुङ्इतरका समुदायले भ्रमवश दिएको एउटा समुदायगत नाम हुनपुग्यो। यस सन्दर्भमा एउटा चाखलाग्दो तथ्य के छ भने, उत्तरी संखुवासभाको हटिया गाविस नजिकै स्याक्सिलामा करीब २७ घरधुरीको वस्तीमा 'सिरजुङ्' नामले चिनिने र आफूलाई 'लिङ्वो' भनेर चिनाउने समुदाय अहिले पनि छ। भोट मूल अन्तर्गत परेको र भाषा आदिले पनि भोट मूलमै समेटिएको यो समुदाय आफूहरू 'सिरजुङ् लिङ्वु' भएको र आफ्ना पुर्खा हाङ् राजाको तर्फबाट कर उठ्तीका निम्ति आएर यतै बसोबास गरेको सुनाउँछन्। आफूलाई हाङ् राजाका कर अधिकारीको सन्तान भन्ने 'सिरजुङ् लिङ्वो'हरू पनि याक्थुङ् वा लिम्बूहरूसँगै सम्बन्धित भएको बुझिन्छ।
याक्थुङ्हरूको प्राचीन इतिहाससम्म नपुग्ने 'लिम्बू' नाम भोट मूलका सिक्किमे शासक र लामाहरूले आक्रमण–अतिक्रमण, लेनदेन–व्यापार वा अरूखाले सम्पर्कका क्रममा 'लिङ्वु' वा 'लिंवू' भनेबाटै आएको हो। इतिहासमा 'लिंवू' र सिक्किम–भोटबाट ओर्लिएका भोट मूलका समुदायबीच सिमाना र क्षेत्रीय प्रभुत्वका विषयमा धेरै पटक ठूला–साना झ्डप भएका थिए। सिक्किमका लामाको पेलाइ र उक्साहटमा त्यहाँका भोटे शासकले गराएको महात्मा सिरिजङ्गाको हत्या राजनीतिक र सांस्कृतिक प्रभुत्ववादको एउटा दुर्दान्त घटना हो। हेयभावको सम्बोधन र याक्थुङ् विद्वानको हत्या एकअर्कोसँग असम्बन्धित घटना थियो भनेर मान्न सकिंदैन
Monday, October 12, 2015
लिम्बुवान आन्दोलनका राजनीतिक आधारबारे लेखाजोखा
by विजय लुम्फुङवा लिम्बु
हिले देशमा एक थान संविधानको घोषणा भइसकेको छ । घोषणापछि स्वागत र विरोधका स्वर सुनिएका छन् । मधेश, थरुहट, लिम्बुवान र मगरातमा आन्दोलनका ज्वारभाटा उठिरहेका छन् । यस्तो अवस्थामा लिम्बुवान आन्दोलन पनि अछुतो छैन । नेपालमा संघीयताको आन्दोलनको जेठो आन्दोलन लिम्बुवान हो भन्दा फरक नपर्ला । त्यसरी नै संघीयताको आन्दोलनमा सबैभन्दा संगठित र सशक्त आन्दोलनमा पनि यही हो । लिम्बुवान संयुक्त संघर्ष समितिको गठनपश्चात यो आन्दोलन अझ एकीकृत रुपमा अगाडि बढिरहेको छ । कुनै पनि आन्दोलनका आफ्नै सैध्दान्तिक आधार हुन्छन् । लिम्बुवान आन्दोलनको पनि आफ्नै सैध्दान्तिक र राजनीतिक आधार छन् । ती आधार यसको ऐतिहासिक पृष्ठभूमि, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाले निर्धारण गरेका छन् ।
समाज विकासका नियम
समाज विकासको नियमअनुसार मानवसमाज गण, कविला, जाति गदै राष्ट्रको रुपमा विकास हुन्छ । लिम्बु समुदाय पनि यी चरण पार गदै राष्ट्रको रुपमा आएको छ । लिम्बु जाति एक राष्ट्र हो । राष्ट्र भनेको कुनै निर्जीव ढुंगा, खोला वा कुनै भूगोलको सीमारेखा होइन, बरु जाति हो । अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरी अफ करेण्ट इङ्लीसअनुसार राष्ट्र भनेको कुनै निश्चित भूभागसँग सम्बद्ध सामान्यतया एउटै भाषा बोल्ने र सामान्यतया राजनीतिक चरित्र वा राजनीतिक आकांक्षा भएका मानिसहरुको ठूलो समुदाय हो । डा. एन.के कपुर भन्छन्, “राज्य राष्ट्रहरुको संगठन हो, तर राष्ट्र त्यो जनसमुदाय हो, जो मनोवैज्ञानिक रुपले बाँधिएको भविष्यमा सँगै बस्ने इच्छा हुन्छ ।”
जोसेफ स्तालिनले लेखेका छन्, “राष्ट्र भनेको ऐतिहासिक रुपले विकसित स्थिर मानव समुदाय हो, जुन साझा संस्कृतिमा प्रतिविम्बित हुने साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ ।
दार्शनिक जिम्मर्न भन्छन्, “यदि मानिसहरुको कुनै समुदाय एक राष्ट्र भएको अनुभव गर्छन् भने तिनीहरु साँच्ची नै राष्ट्र हुन्छन् ।”
राष्ट्र र राज्य एकदमै फरक कुरा हुन् । युरोपमा राष्ट्र–राज्य बनेदेखि राष्ट्र र राज्य शब्दलाई एकै अर्थमा लिन थालियो तर राष्ट्र र राज्य समान अर्थ दिने शब्द होइनन् । राज्य राष्ट्रहरुको शासन संचालन गर्ने विधिवत संगठन मात्र हो । राज्य राष्ट्रहरुले निर्माण गर्छन् । राष्ट्र परिवर्तित हुन सक्छ तर अमर हुन्छ । राज्य राष्ट्रहरुले निर्माण गर्छन् । राज्य अमर नहुन सक्छ । गोर्खा राज्य विस्तारपछि लिम्बुवान, खम्बुवानलगायत बाइसे–चौबिसे राज्य पतन भए, तर लिम्बु, खम्बुलगायत थुप्रै राष्ट्र रहिरहेका छन् । जबसम्म राष्ट्रहरु रहन्छन् तबसम्म राज्य प्राप्ति सम्भव छ ।
लिम्बु जाति एक राष्ट्र भएकोले लिम्बु जातिको ऐतिहासिक साझा भूगोल लिम्बुवान, कृषिमा आधारित साझा आर्थिक जीवन, साझा भाषा याक्थुङपान, लिम्बु हौं भनी गर्व गर्ने साझा मनोविज्ञान र राष्ट्र बन्न विभिन्न इकाइ (सानमकवानवंशी र चिनिया रक्त मिश्रण) को रक्त संयोजनको चरण पार गरिसकेको छ । यसर्थ वैज्ञानिक दृष्टिकोणले पनि लिम्बु राष्ट्र भएकोले राष्ट्र–राज्य प्राप्त गर्न सक्षम छ भन्ने कुरा दर्शाउँछ । यसर्थ राज्य प्राप्तिको आन्दोलनलाई न्यायोचित ठहर्याउँछ ।
ऐतिहासिक आधार
ऐतिहासिक आधारका कारणले पनि हाल जारी लिम्बुवान आन्दोलनको औचित्य पुष्टि गर्दछ । लिम्बुवान १८३१ सालअघि स्वतन्त्र राज्यको रुपमा रहेको थियो । त्यस बेला सहमतीय संघीय शासकीय रुपमा राज्य सञ्चालन गरिन्थ्यो । सुब्बा प्रेम बहादुर माबोहाङ लिम्बु र भुपेन्द्रनाथ शर्मा ढुंगेलले दश लिम्बुवानका थुम निर्माणका प्रान्त विभाजनको सर्तनामा १७ दफाका राजनीतिक प्रस्तावमा सहमति गरेको उल्लेख गरेका छन् । सो सर्तनामाको दफा १ मा राय राजा सबैको सगोल गोस्वारा तल्लो कक्ष मोरङ राज्य रहनेछ, सो मोरङ राज्यमा दश प्रान्तका जनता र राय राजा मन्त्रीहरुले मन्त्री चुनी ठहराई राख्ने, त्यसमा चुनिएका मन्त्रीहरु पाँच, पाँच वर्षमा अदलीबदली गराउनु भनेर उल्लेख गरिएको छ ।
यसबाट दशवटा स्वायत्त थुमहरुको केन्द्र विजयपुर नै रहेका भन्ने कुरा स्पष्ट हुन्छ । विजयपुरलाई केन्द्र मानेर स्वायत्त शासन सञ्चालन गर्ने अभ्यास भएको कुरा स्पष्ट हुन्छ । इमानसिं चेम्जोङका अनुसार १५ औं शताब्दीको सुरुमा मोरङ तराईमा साङलाइङ नाम गरेका लिम्बु राजाले शासन गर्दथे । हालको विजयपुर देखि पुर्वतिर पर्ने बारातप्पामा उनको दरबार थियो । उनको छोरा पुङलाइनले हिन्दुमत ग्रहण गरेर आफ्नो नाम अमर राय राखे । उक्त अमर राय पछि पाँचपुस्ताका विजयनारायण रायले हालको विजयपुर शहर बसाले, त्यसैबेला फेदाप थुमका मुरेहाङ खेवाङ शक्तिशाली थिए । पहाडी शक्तिलाई आफ्नो हातमा ल्याउन राजा विजयनारयणले मुरेहाङ खेवाङलाई शक्तिशाली चौतारिया पद दिए । त्यही बेला देखि लिम्बुवानले विजयपुरलाई केन्द्रमात्र मानेर स्वायत्त राज्य सञ्चालन गर्न थाल्यो । मकवानपुरका सेन मकवानी राजा लोहाङ सेनले विजयपुर उपर विजय प्राप्त गरेपछि फेदाप थुमका राजा बाजाहाङ खेवाङका छोरा पानोहाङलाई चौतारिया दिईस्वायत्त अधिकार विजयपुरलाई दिएर मकवानपुर फर्के । त्यसपछि सारा लिम्बुवानले सेनमकवान वंशीहरुको मातहतमा १८३० सम्म १४२ वर्ष स्वायत्तताको उपभोग गर्यो । लिम्बुवान तत्कालिन गोर्खा राज्यले जितेको होइन, लिम्बुवान र गार्खा राज्य बीच वि. स. १८३१ श्रावण २२ भएको सम्झौता अनुसार लिम्बुवान गार्खा राज्यमा मिसिएता पनि लिम्बुवानले स्वायत्त रुपमा शासन प्रसासन सञ्चालन गर्न पाउने थियो । जस अुनसार किपट व्यवस्थाका रुपमा स्वायत्त ढंगले २०२१ सालमा लिम्बुवानले स्वायत्त राज्यको अनुभव बटुलेको छ । यस किसिमको ऐतिहासिक अनभुव लिम्बुवान भूमिले बटुले छ जसले यहाँका जाति समुदायहरुले पनि यो राजनीतिक, सामाजिक र सांस्कृतिक अनुभव बटुलेकोले स्वायत्तताको आन्दोलनलाई अझ बल पुगेकोछ ।
लिम्बुवान आन्दोलनसँग भएका सन्धि सम्झौता
नेपालका विभिन्न राज्यसत्ताले लिम्बुवानका जनता र आन्दोलनसँग राजनीतिक सम्झौता गरेका छन् । गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा लिम्बुवान क्षेत्रलाई जितेको नभई सर्तमा मात्र लिम्बुवानमा गाभेको हो । १८३१ साउन २२ गते गोर्खाली र लिम्बुहरुबीच ऐतिहासिक सन्धि भएको थियो जुन १८३१ सालको लालमोहरको नामले प्रसिद्ध छ । त्यही लालमोहरमा लिम्बुहरुले गोर्खा राजालाई मान्नुपर्ने र गोर्खाली राजाले पनि सेनमकवान वंशीहरुको पालादेखि लिम्बुहरुले उपभोग गदै आएको लिम्बुवान जातीय स्वायत्ततालाई सदाका लागि मान्यता दिने बाचा गरिएको छ । त्यही बाचाअनुसार लिम्बुवानले २०२१ सालसम्म वा १९० वर्षसम्म स्वायत्तता पाएको थियो । त्यस लालमोहरलाई गोर्खाली राजाका प्रत्येक पुस्ताले सदर गर्दै आएका थिए । राजा त्रिभुवनले २००८ मंसिर २९ गते र राजा महेन्द्रले २०१७ चैत्र १७ गते लालमोहरलाई सदर गरेर लिम्बुवानलाई अनुमोदन गरेका थिए ।
त्यसरी नै २०६४ फाल्गुण १८ गते सात दल सम्मिलित सरकारी वार्ता समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालबीच सहमति भएको थियो । उक्त सहमतिपत्रमा “देशमा हाल चलिरहेको लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थरुहट, दलित, महिलालगायतका जनताहरुको आन्दोलनको भावानालाई हृदयंगमन गरी”… भन्दै ५ बुँदे सहमति गरेका थिए, जसमा लिम्बुवान आन्दोलनलाई स्पष्ट रुपमा सम्बोधन गरिएको छ । उक्त सहमतिपत्रमा मोर्चासँग सम्बद्ध लिम्बुवान राज्य परिषद नेपालका अध्यक्ष कुमार लिङदेनले हस्ताक्षर गरेका छन् ।
bijaya-limbu
त्यस्तै, २०६४ चैत्र ६ गते सात दल सम्मिलित सरकारी वार्ता समिति र संघीय लिम्बुवान राज्य परिषदबीच ५ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा अझ स्पष्ट रुपमा १ नं बुँदामै “लिम्बुवानवासी जनताको उत्कट चाहना र आन्दोलनलाई सम्बोधन गरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण राख्दै संविधान सभाबाट वर्तमान नेपालको राज्य पुनःसंरचना गर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्रलगायतका आधारमा स्वायत्त राज्यहरुको संवैधानिक व्यवस्था गरी संघीय शासन प्रणाली अवलम्बन गरिने छ” भनेर उल्लेख गरिएको छ ।
यसले लिम्बुवान आन्दोलनको महत्वलाई अझ स्पष्ट गरेको छ । यसरी पटक पटक राज्यसत्तासँग लिम्बुवान आन्दोलनले गरेका सन्धि र सम्झौता राज्यसत्ताको बेइमानीका कारण लागू नभएको अवस्था छ । त्यसैले वर्तमानमा जारी आन्दोलनको एक माग हो, लिम्बुवान आन्दोलनसँग भए गरेका सन्धि सम्झौताको इमान्दारीपूर्वक पालना गरियोस् ।
Tuesday, June 23, 2015
मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’
नेपालको सुदूरपूर्व मेची अञ्चल, इलाम जिल्लाको इभाङ–५ स्थित डाँडागाउँको पुछारमा रहेको आगोटेबारीमा औंलामा गन्न सकिने घरहरु मात्र थिए। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जेठा दाजु लाजहर्कको अंश आगोटेबारीमा मुलढोका पश्चिम फर्केको, दक्षिणतिर सानो झयाल भएको, मुनि गारो र माथि चिमको बेरा र खरले छाएको मुस्किलले ४, ५ जनाको परिवार अट्ने सानो घर थियो। घर सानै भएपनि सुन्दर बनाउन कमेरो माटो र रातो माटोले राम्ररी लिपपोत गर्नुका साथै बाहिर भित्तामा पदमफूङ (गोलो गोलो बुट्टाको फूल बनाएको) भएको घरमा टेकबहादुर लिङ्देनको परिवार बस्थ्यो। गाउँको पुछारमा बस्ने परिवार भएकाले टेकबहादुरलाई पुछारे भन्दथे।
भीरसँगै टाँसिएर बसेको सानो घर, सानो सिकुवा, सानो आँगन तर आँगनमा ठूलो सेतो ढुङ्गा थियो। यही घरमा टेकबहादुरको श्रीमती पान्थर, चोकमागु, तीनमलेकी जोगमाया तुम्बापो माङको सेवा गरिरहनु हुन्थ्यो। मुहिङगुम अङसीमाङ फाल्गुनन्दको भतिजी बुहारी मात्र नभएर चेलासमेत रहेकी जोगमाया गुरुको आदेशअनुसार दियो कलश राखेर अटुट सेवा गर्नुहुन्थ्यो। यस्तैमा वि.सं. २०११ साल असारतिर सपनामा घाम, जुन, तारा मात्र देख्नुभएछ, र पछि मंसिर १८ भन्दा अघि ३ रातसम्म लगातार छोराबुहारी श्यामजीरीको पेटमा चन्द्र, सूर्य, तारामण्डल झलमल उज्यालो देख्नुभएछ। टेकहादुर र जोगमायाको एउटै छोरा पुण्यप्रसाद लिङ्देनकी श्रीमती पान्थर फाक्तेप–९, ओजाचेप्पा माइत भएकी चन्द्रमाया चेम्जोङ (श्यामजीरी)ले पनि बालक गर्भमा हुँदा मासु, मंस, मदमदिरा खान नहुने, सपनामा हिमश्रृंखला तथा डाँडाहरुमा उडेको, सेतो घोडा कुदाएको बारम्बार देख्नुहुन्थ्यो।
यस्तै, लक्षणहरुसँगै श्यामजिरीको कोखबाट वि.सं. २०११ मंसिर १८ गते शुक्रबार बिहान घामको आगमनसँगै एउटा बालकको जन्म भयो। बालक जन्मेपछि सुत्केरीलाई परेवाको मासु दिइयो। तर, त्यही कारण बालकले आमाको दूध खाइदिनुभएन। सौभाग्य बालकसँगै व्याउने कालो भएपनि सिँदुरी नाम गरेको गाईको दूध बालकलाई ख्वाएर हुर्काइयो।
माङको दूतको रुपमा जन्म भएको त्यो खबर त्यही गाउँमा मात्र सीमित रहेन। सायद त्यसैले पारि लामागाउँमा १५ बहिनी खत्रीनीहरु घाँस, दाउरा, मेलापात गर्दा गीत गाउँथे, ‘गैरी गाउँमा जन्म्यो बालागुरु दुनियाको उपचारका लागि…’
सो बालकको ज्योतिष नाम श्यामबहादुर राखियो। आगोटेबारीको जग्गा मलिलो भएपनि थोरै जग्गा भएकाले उत्पादन हुने अन्न र जितपुरको खेतको धान कुटाएर ल्याएकोले बोजु, आमा, बाबु, २ जना फुपू र लुङा दलबहादुर लाओतीसहितको परिवारलाई वर्ष दिन खान पुग्दैनथ्यो। कोदो धेरै उब्जनी हुने भएकाले धेरैजसो कोदो, मकै नै प्रमुख खाद्यान्न हुने गथ्र्यो। यस्तैमा घरायसी बेमेलताका कारण आमा श्यामजीरी ३ महिने बालकलाई छोडेर दोस्रो विवाह गरी आसाम जानुभयो। बालक श्यामबहादुर बोजु जोगमायाको लालनपालनमा हुर्कन थाल्नुभयो। र, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले जोगमायालाई भन्नुभए झैं जोगमाया पुनः आमा झैं हुन पुग्नुभयो।
यसरी सानैमा मातृत्वविहीन बन्नु पुगेका बालक साथीभाइसँग खेल्दै हिँड्ने उमेरमा ३०, ३५ वटा बाख्रा र ९, १० वटा गाईवस्तुहरुको गोठाला हुनुभयो। बाली नष्ट हुनबाट जोगाउन बाँदर रुङ्नु भयो। त्यही उमेरमा वहाँले गाउँको करिब डेढ घण्टाको उकालो हिँडेर पुगिने प्राथमिक विद्यालय जानुहुन्थ्यो। बोजुले बुनेको खाडीको दाउरा सुरुवाल, इस्टकोट र निधारमा सेतो माङफूङ (बिघौत) लगाएर जाँदा साथीहरुले गिद्धले निधारमा छेरेको भन्दै जिस्काउँथे। तर, वहाँ केही पनि भन्नुहुन्नथ्यो। किनकि, वहाँ कसैलाई नराम्रो नभन्ने, झूट नबोल्ने, एकान्त मनपराउने, कम बोल्ने, झगडा नगर्ने प्रवृतिको हुनुहुन्थ्यो।
विद्यालयमा पढ्दा पुस्तक पढ्नै नपढी आउने भएको साथै नजान्नेसँग बसिरहनु परेकाले अर्को वर्ष पारि गजुरमुखी गाविसको विद्यालयमा पढ्नु पर्ला भन्ने सोच वहाँको र बाजे टेकबहादुरको पनि थियो। तर, यस्तैमा बाजे बिरामी हुनुभई बित्नुभयो पनि। त्यतिबेला वहाँ ९ वर्षको हुनुहन्थ्यो।
बाजेको मृत्युसँगै विद्यार्थी जीवन पनि टुट्यो। पढ्ने वातावरण बन्न सकेन। गोठाला गर्दा नै दिन बित्न थाल्यो। प्रायः बोजुलाई पूजापाठ गर्न सघाउनु हुन्थ्यो। बोजु त्यहाँबाट गैरीगाउँको माङहिममा पूजा गर्न जानुहुन्थ्यो। साथमा नातिलाई पनि लानु हुन्थ्यो। त्यसबखत माङहिमको सेवासाबा जोगमायाको काका बद्रीनन्द तुम्बापो हुनुहुन्थ्यो। बद्रीनन्दसमेतको संगतले १३ वर्षको उमेरदेखि नै जपतप गर्नतर्फ वहाँ लाग्नुभयो। र, सोही वर्ष वहाँ बद्रीनन्दद्वारा दीक्षितसमेत हुनुभयो। दीक्षित गरिसकेपछि वहाँको जोगनाम बद्रीनन्दले राखिदिनुभयो– आत्मानन्द। पछि बोजुले आत्मा परमात्मा जान्ने आत्मानन्द भन्ने गर्नुहुन्थ्यो।
यसरी बोजुसँग कहिलेकाहीं माङहिम जाँदाजाँदै वहाँले धेरै कुरा सिक्नुभयो। तैपनि वहाँलाई गोठाले जीवनले १४ वर्षको उमेरसम्म छोडेन। किनकि, माङहिममा पनि भेंडा चराउनु पथ्र्यो। यस्तैमा वहाँ १४ वर्षको हुँदा अर्थात् २०२५ सालको दशैंको टीकाको रात ठूलो पानी प¥यो। बेगले चलेको हावा र लगातारको मुसलधारे पानीले घर चर्कियो। पहिरोले वहाँ र लुङा दलबहादुर लाओतीलाई समेत झण्डै लग्यो। त्यही रात नै त्यस घरमा वहाँको अन्तिम रात भयो। त्यसपछि त्यो घर छोडेर डाँडागाउँमा निस्की अन्नपानी र सामान ओसारेर पछि हिउँदमा सबै खेतीपाती उठाई स–परिवार डाँडागाउँको पुछार तुमबुङबामा बसाईं सर्नुभयो। यसरी दिनचर्या कठिन भइरहेकै अवस्थामा बुबा दोस्रो विवाह गरेर आसाम जानुभयो।
बोजु र बद्रीनन्दसँग माङको सेवामा तल्लिन हुने क्रममा १३ वर्षको उमेरमा नै गैरीगाउँ माङहिम छेउको सानो वनमा समय समयमा जपतप गरी आध्यात्मिक जगतमा पदार्पण गर्नुभयो। र, आत्मा, परमात्मा जान्ने तथा विगत, वर्तमान र भविष्य जान्ने भई बालागुरु उपनामले सर्वत्र चिनिनु भयो। सो ध्यानलाई पूरा गर्न सोही वर्ष अर्थात् वि.सं. २०२५ को माघ शुरुतिर गुफा साधन गर्न बोजु, बद्रीनन्द, सिद्धिहाङ राई, डम्बरसिं लिङ्देन र माल्टेनीको तामाङनीसहित जितपुर पुछारको खत्रक्पा खोल्सी जानुभयो। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नुभएको सो खोल्सीमा ध्यानरत रहँदा राति अचानक पारि दानाबारी–९,बोरुङबाट आएको टर्चको भैmप्रकाशले ध्यान अवरुद्ध भयो। बद्रीनन्द डराउनु भई राति नै ठाउँ छोडी कष्टपूर्ण तवरले जंगलको सिरानमा निस्कनुभयो। अत्तालिएर अँध्यारोमा जंगलको बाटो उकालो चढ्दा जपतप गर्नका लागि ल्याइएको खाद्यान्न छरपष्टियो। केही दिनअघि महमाईमा ज्यानमारा काण्ड चलेकाले त्यसैको सम्झनाले गर्दा डराई ध्यान पूरा हुन पाएन। तर, त्यो प्रकाश ज्यानमाराको थियो या शिकारीको थियो या माङको पहिचान थियो यकिन हुन सकेन। उज्यालो भएपछि जितपुरको माङहिममा गई ३ दिनसम्म बस्नुभयो। सेवा लगाउनुभयो।
बालागुरुको अपूरो अधुरो ध्यान, माङसँगको भेटको लालसा अपूरो रहेकैले वि.सं. २०२६ मंसिरमा मोरङको बक्राहखोलाको डिलमा रहेको पिपलको फेदमा रातिराति एक हप्ता ध्यान गर्नुभयो। त्यो ध्यान कुल झोडा दर्ता गराउने प्रमुख उद्देश्य राखेर गर्नुभएको थियो। नभन्दै पछि वहाँ र वीरबहादुर योङहाङ काठमाडौं गएर कुलझोडा दर्ता गर्नुभयो। यसरी बक्राखोलाको डिलमा ध्यान गर्नुभन्दा केही अघि अर्थात् असोजतिर दुर्गा मन्दिरमा पनि ध्यान गर्नुभयो। तर, दशैंताका भएकाले भोग दिई पूजा गरिएकाले त्यति राम्रो हुन सकेन।
वीरबहादुरसँग काठमाडौंमा वीरेन्द्र वीरविक्रम शाहको विवाह हेर्न जानुभयो। त्यतिखेर विराटनगरबाट जोगवनी गई भारतीय भूमिबाट रक्सौल हुँदै वीरगञ्जमा निस्केर बाइरोडको बाटो हुँदै काठमाण्डौ छिर्नुभयो। काठमाडौको थापाथलीमा ३ महिना जति बस्नुभयो। हेर्ने कोर्नेहरु खुब आउँथे। पहिलो पटक काठमाडौं गएकाले पशुपति, बुढानिलकण्ठलगायत सम्पूर्ण प्रमुख देवीदेवताको दर्शन गर्नुका साथै राजाको विवाह हेरेर वि.सं. २०२७ जेठमा घर फर्किनुभयो। सम्भवतः खत्रक्पामा भएको घटनामा नै सातो गई बिरामी हुनुभएका बद्रीनन्द सोही असारमा परमधाम हुनुभयो।
सोही महिना पुनः ध्यान गर्नुपर्ने माङ आदेश भयो। त्यसैले बद्रीनन्दको मृत्यु कर्म सकेर वहाँ साथी खोज्न लाग्नुभयो। करिव एक महिनाको परिश्रममा पान्थरको कुरुम्बासम्म पुगेर साथीहरु र खाद्यान्न बटुल्नुका साथै फुपाजु जोगदिल साम्सुहाङसँग लारुम्बाकै बाटो भएर ठाउँ हेर्न जानुभयो। ठाउँ चयन भयो माई, देउमाई र मेक्वाको संगमस्थल फुलुङ्गीको गुफाडाँडा।
डेरा, ध्यान गर्ने स्थान, लाधुङसेमी मण्डप, बारबेर इत्यादि तयार बनाउन करिब एक महिना लाग्यो। सो गुफा साधन माघ २५ गतेसम्म चल्यो। र, साउन २५ गतेदेखि ध्यान शुरु भयो। त्यतिखेर पान्थर कुरुम्बाका नरहाङ लाओती, दधिराम लाओती, मानवीर लाओती र इलाम नाङरुङका वीरबहादुर योङहाङ बालागुरुसँग हुनुहुन्थ्यो। तोरण देउमाईदेखि खत्रक्पासम्म टाँगिएको थियो। त्यो देखेर मान्छेहरु छक्क पर्थे। शुरुमा त्यहाँ चराचुरुङ्गी, जीवजन्तु केही आउँदैनथे। पछि एउटा–एउटा गर्दै आउन थाले। मान्छेहरुले पनि थाहा पाए र भेट्न आउनेको भीड पनि बढ्न थाल्यो। यो ध्यान १३ वर्षदेखि १५ वर्षसम्म गैरी गाउँको सानो वनमा र विभिन्न ठाउँमा गर्नुभएको ध्यान, योग, जपतपको बृहत रुप थियो।
यसरी गुफासाधन गर्दा बालागुरुले सेवासाम्लोहरु रचना गर्नुभयो। करिब ६ महिनासम्म ध्यानरत भई वहाँले समाधी ज्ञान प्राप्त गर्नुभयो। र, सो ध्यानमा नै आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको अपूरो कार्यलाई पूरा गर्ने रहेको थाहा पाउनुभयो।
फुलुङ्गीको सो सफल गुफा साधनपछि फर्केर गाउँ जाने क्रममा गैरीगाउँको चुक्चिनाम्बा माङहिममा ठूलो सेवा भयो। सो सेवा बालागुरुका लागि माङलाङताक्मा अर्थात् स्वागतार्थ थियो। किनकि, असारमा बद्रीनन्दको मृत्यु भएपछि सो माङहिमको गुरुको नियुक्तिका लागि चुम्लुङ सोही माङहिममा बसेको थियो जसमा बालागुरुलाई नै गुरु बनाउने निर्णय भएको थियो।
यसरी ठूलो सेवा गर्नलाई तयारी त भयो। तर, महल बनाउने विषयमा राय मिलेन। अर्थात् बालागुरुलाई त्यो मन परेन। त्यसैले वहाँले चित्त दुखाउनु भयो। रुनु पनि भयो। त्यसपछि केही दिन पर सारेर त्यो सेवालाई भव्यताका साथ गरियो। बालागुरु पनि खुशी हुनुभयो। सो समयमा पर्दाभित्र रहनुभएका बालागुरुलाई धेरैले अनौठो देखेका थिए। सोही कार्यक्रमसँगै बालागुरुलाई मुहिङगुम अङसीमाङ फाल्गुनन्दको पुनः अवतारको रुपमा मानियो र पूजियो। सो कार्यक्रममा बालागुरुले धर्मोपदेश पनि दिनुभयो। यसरी भक्तजन बोलाएर गरिएको यो पहिलो धर्मोपदेश तथा ठूलो कार्यक्रम थियो। त्यहीबाट नै धर्मोपदेश दिने कार्य पनि शुरु भयो।
बालागुरु मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतार भएको मान्यतापछि मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’हुनुभयो। धर्मगुरु त पछि वि.सं. २०३६ तिर राजनीतिक नेताहरुले लगाइदिएको उपमा हो। यद्यपि, मुहिङगुम अङसीमाङ भनी हालिएन। किनकि, यो शब्दको चयन वि.सं. २०५७ ताका मात्र भएको हो।
वहाँ वि.सं. २०२८ भदौमा पखेरे भन्ने मुहिङगुम अङसीमाङको मामा र जगतबहादुर लाओतीसँग बाबु र कान्छी आमा रहेको स्थान आसाममा जानुभयो। त्यहाँ जानसाथ बाबु र आमा नेपाल बसाईं सर्नुभयो। मुहिङगुम अङसीमाङ र जगत मात्र घरमा रहनुभयो। घर उठाउनु पर्ने भएकाले जर्ना (काठ) तिल, मकै, सिमी, बोडी इत्यादि आफ्नै उत्पादन ३५÷३६ सयको बेच्नुभयो। र, पछि बुबा फर्केपछि त्यही पैसा लिएर अघोरी खोज्न जानुभयो। ब्रह्मपुत्र नदीमा स्टिमर(मेसिनबाट चल्ने सानो डुंगा)बाट तरेर भरौल नदीको किनारैकिनार सेतीखरेमा ओर्लेर निष्पट जंगलमा एक हप्ता जति अघोरी खोज्ने काममा लाग्नुभयो। त्यसबखत त्यहाँ अघोरीको ज्यादै चल्ति थियो। त्यो लिन व्यापारीहरु जंगलमै आउँथे। त्यसै कारण कतिको ज्यान पनि जान्थ्यो। त्यसरी हिँड्दा गुरुसँग जम्मा १९ जना नेपालीहरु थिए।
खुकुरी बञ्चरो, चामल बोकेर तन्नेरी बनेको जस्तै बनिनु पर्ने, बेतको लहरामा झुण्डिन्दै जानुपर्ने। साथीहरुले सेतीखरेमा धेरै माछा मारेर खाए। गुरु खानु हुन्नथियो। टेंगा (भोगटे)को अचार प्रसस्तै खानुहुन्थ्यो। यसबीच गुरुले अघोरी त पत्ता लगाउनु भयो। तर, ज्यान जाने माङको पूर्वसंकेतले गर्दा मान्नु भएन। र, अलिकति मात्र भएको लिएर फर्किनुभयो। त्यो बेच्दा चार हजार रुपैयाँ भएको थियो।
अघोरीको खोजीपछि पखेरे आसाममै रहेकाले गुरु, गुरुको बुबा र जगतमात्र फर्किनुभयो। आलिपुर हुँदै नक्सालसम्म रेलमा आउँदा पैसा सकियो। त्यसैले नक्सालवाडीबाट पैदलै भोकै बेलुका झापाको ढेङ्ग्रे आइपुग्नुभयो। यो फर्काइ वि.सं. २०२८ माघ महिनाको थियो।
अर्को वर्ष २०२९ सालको साउनमा गुरु प्रथम पटक सिन्चेई फक्ताङलुङ जानुभयो। वहाँको साथमा जौबारी कान्छा (डिल्लीप्रसाद तुम्बापो), वीरबहादुर योङहाङ, दिलबहादुर लाओती, जगतबहादुर लाओती, अविधोज लिङ्देन र लक्ष्मी सेर्मा (सेर्मा कान्छा) पनि हुनुहुन्थ्यो। ताप्लेजुङको याम्फुदेनमा आलु खाँदा नाहेन झर्यो। त्यसको भोलिपल्ट अविधोज डमरु बजाउँदै कराउँदै हिँडिरहेको थियो। दुई जना लामाहरु माला गन्दै फापरझुटाबाट तल झर्दै थिए। बेलुका डुँडपानीमा बास बस्दा अचानक मौसम बिग्रियो। चट्याङ छेवैमा पर्न थाल्यो। आकाश गर्जिन थाल्यो, हावापानी ज्यादै डरलाग्दो तवरले चल्न थाल्यो। गुरुसँग जानेहरु सबै डराए। त्यसैले गुरु हतारहतार हातखुट्टा धोइवरी जपमा बस्नुभयो। अक्षता र धूप बालेर यसो हेर्दा अघिकै लामा देख्नु भएछ। तब जसले अह्राएको त्यतै जानु, हामी त हिमाल हिँडेको भन्नु भएछ। नभन्दै एकैक्षणमा त्यहाँ मौसम शान्त हुँदै गयो। त्यो हावापानी तलतिर सर्दै गयो। र, हेल्लोक खोलाको बाढीले गाउँ नै बगाइलग्यो। जसमा ती दुई लामाहरु पनि परेछन्। त्यो घटना पछि फर्किंदा थाहा भयो।
घुन्सामा पुगेपछि फाल्गुनन्दको अवतार आउनुभयो भनेर त्यहाँका गुम्बाको गुरुले मुहिङगुम अङसीमाङलाई १० रुपैयाँ भेटी दिएर हामीभन्दा तपाई जेठो भन्यो। त्यतिखेर दोभाषेहरु राखिएको थियो। फाल्गुनन्दले एउटा ढोका खोल्नुपर्छ भन्नुहुन्थ्यो। त्यो खोल्नुपर्छ भन्थे लामाहरु। त्यतिखेर त्यहाँका बासिन्दाहरुले गुरुलाई घर घरमा लगेर धनको सह रहोस् भनेर बाकस खोलेर सुनहरु छुन लगाए।
त्यसपछि माथि फक्ताङलुङको काखमा पुग्दा पहिलो पटक त गुरु रिसाउँदै, ‘माङले किन दर्शन दिँदैन बल्ल आउँदा’भन्नुभयो। तर, भोलिपल्ट राम्रो भयो। हिउँ परिरहेको थियो। तैपनि गुरु केही चेलाहरुसँग निकै माथिसम्म चढ्नुभयो।
दोस्रो वर्ष वि.सं. २०२९ मा पनि गुरु फक्ताङलुङ जानुभयो। यो वर्ष वहाँले फक्ताङलुङको पूर्वी मोहडा पाङलाङमा आफ्नो लामो केश काटेर आउनुभयो। साथै, विवाह गर्नुपर्ने माङको आदेशसमेत लिएर फर्किनुभयो। टिम्बुमा सात दिनसम्म बस्नुभयो। मयुर पोखरीमा पौडी खेल्नुभयो। गुरुको सो टोलीले लक्ष्मी पोखरी र जोरपोखरीको आसपास भीरमा तीन पटक शंख बजेको सुनेको थियो। गुरुसँग १५ जना पाङलाङ गएकोमा पाँचजना टिम्बु पोखरीबाटै फर्किएकाले १० जनामात्र पुगे।
फक्ताङलुङ यात्राकै क्रममा वहाँले सिदिङबा (श्रीङचोक) मा दुई दिन ध्यान गर्नुभयो। र, यसरी माङसँग साक्षात्कार हुने क्रममा कात्तिकमा बाँझोको माङमालुङस्थित थालाचेप्पाको जंगलमा तिहारको आसपास सात दिनसम्म ध्यानरत रहनुभयो। यो ध्यान वहाँको जीवनमा निकै महत्वपूर्ण रहेको वहाँ स्वयं मान्नुहुन्छ। किनकि, त्यतिखेरको सेवापछि वहाँले गर्नुभएको वाणी विशेषतः पञ्चायती शासन र विद्यमान अशान्तिबारे थियो।
माङसँग समय समयमा भेट गर्नुपर्ने भएरै होला महमाईको लक्ष्मी खोलाको शीरमा पनि चार दिन चार रात पुष महिनाको जाडोमा ध्यानरत हुनुभएको थियो। साथमा जौबारी कान्छा हुनुहुन्थ्यो। त्यसपछि लगत्तै फुलुङ्गीमा दुई दिन दुई रात जपतपमा लाग्नुभयो।
बाँझो गाविसको सिरानमा रहेको माङमालुङस्थित थालाचेप्पा डाँडामा वि.सं. २०२९ कात्तिकमा जपतप गर्नुभयो। र, २१ गते शनिबार भविष्यवाणी गर्नुभयो।
वि.सं. २०२९ मंसिरमा आमालाई भेट्न जगत लाओतीसँग आसाम जानुभयो। आमालाई खोज्न कुर्कुले जानुभयो। गुरुले अन्तर्दृष्टिबाट यही हुनुपर्छ भन्नुहुने तर भेट्नै मुस्किल परिरहेको बेला कसो गर्दा कान्छा बुबा हाँस्दै उभिरहनुभएको थियो। अनि आमासँग भेट हुनासाथ गुरुले ढोग्नुभयो। आमाले पनि चिन्नुभएछ। १८ वर्षमा बल्ल आमाछोराको भेट भयो। सो समयमा ११ दिन आमाछोराबीच धेरै कुराहरु भए। आमाले गुरुलाई र जगतलाई पारिवारिक धेरै गुनासोहरु पोख्नु भयो। गुरुलाई सानैमा छोड्नुको विवशताहरु बताउनुभयो। अर्को वर्ष पनि गुरु दिलबहादुर लाओतीसँग आसाम जानुभयो।
अर्को वर्ष कात्तिक महिनाकै आसपासमा पान्थरको लोब्रेकुटी मास्तिर जमिन खनेर सात दिन सात रात ध्यान गर्नुभयो। मृतआत्माले साह्रै दुःख दिन्थ्यो। किनकि, त्यो भूतको बाटो रहेछ। तैपनि वहाँले ध्यानलाई सफल तुल्याउनुभयो। माङसँगको सो साक्षात्कारमा चेलाभूलाहरुसँग मुहिङगुम अङसीमाङ फाल्गुनन्दको चित्त दुःखेको माङवाणी आयो।
दोस्रो पटकको फक्ताङलुङमा पाउनुभएको माङआदेशलाई पूरा गर्ने क्रममा बाँझो–८ निवासी सुब्बा बृखध्वज साँबाकी जेठी छोरी पवित्रहाङमा साँबासँग वि.सं. २०३२ माघ २२ गते बिहीबार चुक्चिनाबा गैरीगाउँको माङहिममा विभिन्न माङहरुको समेत उपस्थितिमा देवविवाह गर्नुभयो। र, मुहिङगुम अङसीमाङ फाल्गुनन्दले भन्नुभए झैं किरात समाजले पितारुपी संसारिक जीवनमा अङसीमाङलाई पाए। साथै माताको रुपमा मुहिङगुम अङसीमामाङलाई पाए।
विवाहको दुई वर्षपछि फुल्लुङ्गीमा लगातार तीन वर्ष चल्ने सेवा शुरु गर्नुभयो। जसमा विशेषतः साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती) थियो। वि.सं. २०३४ सालमा मुहिङगुम अङसीमाङ एवं मुहिङगुम अङसीमामाङ पहिलो सन्तानको बुबाआमा हुनुभयो। अर्थात् साउन ३ गते जेठी छोरी निर्मलाको जन्म मावलीघरमा भयो। यही वर्ष गजुरमुखीको अमले खेतमा तीन वर्षे सेवाको प्रारम्भ अङसीमाङबाटै हुन पुग्यो। सोही वर्ष काबेली माङहिममा मुन्धुम बनाउन सोच लिएर जानुभयो।
त्यसबखतसम्म बस्ने स्थायी ठाउँको चयन भइसकेको थिएन। त्यसैले धेरै ठाउँको चयन पछि २०३५ सालमा लारुम्बा बसाइँ आउनुभयो। सोही वर्ष कात्तिक १५ देखि १७ गतेसम्म महमाईको तमाखेको चुलीभित्र तत्कालिन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्जव सङबाङफेको व्यवस्थापन एवं संयोजनमा बैठक बसी विभिन्न निर्णयहरु पारित गर्नका साथै किरात धार्मिक झण्डाको निर्माण गरी निर्णय पुस्तिकामा रगतको ल्याप्चे लगाई माङवाचा खाने काम भयो। तर, यस वर्ष निकै कठिन पनि सावित भयो। किनकि, यही वर्ष गुरुलाई प्रशासनले भित्रभित्रै रुपमा नराम्रो सोचेर खोज्न थालेको थियो। र, प्रहरीहरु प्रायः गुरुलाई खोज्न हिँडिरहन्थे।
वि.सं. २०३६ मा गुरुआश्रमको माङहिममा अङसीमाङको २५औं जन्मोत्सव मनाई माङगेन्ना कार्यक्रमको औपचारिक शुरुवात भयो। पछि यो माङगेन्ना कार्यक्रमलाई भालुटारहुँदै मान्द्रेडाँडामा किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम बनाएर त्यतै गर्न थालियो। साथै सो डाँडाको नामसमेत परिवर्तन गरी माङसेबुङ राखियो।
यसै वर्ष माघ ७ गते पान्थरको सदरमुकाम फिदिममा किरात धर्म तथा साहित्य उत्थान संघ गुरुले दर्ता गराउनुभयो। वि.सं. २०४२ देखि गुरुकै पहलमा किरात लिपिमा छाप्ने प्रेस नेपालमै पहिलो पटक कलकत्ताबाट ल्याइयो। यस बीचमा यस प्रेसले गर्दा धेरै अप्ठयारा परिस्थितिको सामनासमेत गर्नुप¥यो। यही प्रेसको कारण गुरु कलकत्ता पनि जानुभयो। अन्ततः वि.सं. २०४७ फागुन ८ गते अधिकारिकरुपमा किरात प्रिन्टिङ प्रेसको उद्घाटन भयो। र, वि.सं. २०४८ देखि छाप्ने कार्यसमेत शुरु भयो। यो सम्भवतः विश्वको किरात लिपि छाप्ने पहिलो प्रेस थियो।
समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिँड्दा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई झैं लिम्बुवानको राजा इत्यादि आरोप लाग्यो। प्रहरीहरु गिरफ्तार गर्न आइरहन्थे। भागिरहनु पर्ने, कुनै पनि समय ज्यान जान सक्थ्यो। यस्तैमा वि.सं. २०४९ साउनताका गुरु मार्नेलाई तीन लाख रुपैयाँ इनाम दिने भन्ने हल्ला सरकारबाट गोप्यरुपमा चलाइएको भन्ने हल्ला लिम्बुवानमा सर्वत्र चल्यो। यही वर्ष गुरुलाई महमाई पलाँसेको मुद्दा समेत आइलाग्यो। किरात धर्म तथा साहित्य उत्थान संघ दर्ता भएदेखि गुरु अध्यक्ष रहनुभएको थियो। वि.सं. २०५१ चैत २९ देखि २०५२ बैसाक ३ गतेसम्म चलेको संघको तेस्रो महाधिवेशनमा डिल्ली चाम्लिङलाई अध्यक्ष बनाउनुभयो।
यसबीच बाँझो–८ र ९ मा खानेपानीको लागि सशक्तरुपमा लागिपर्नुभयो। त्यसका साथै गाउँमा विद्यालय नभएकाले हाल भालुटारमा भएको सरस्वती माध्यमिक विद्यालयलाई स्थापित गराउन विषेश पहल गर्नुभयो। वि.सं. २०५२ सालमा मुहिङगुम अङसीमाङकै सोचअनुसार किरात चोत्लुङ गुरुमाङगेन्ना सेवा इलाममा दर्ताका लागि प्रक्रिया शुरु गरी २०५५ मा दर्ता गरियो।
वि.सं. २०२७ सालमा चुक्चिनाम्बा माङहिमदेखि प्रत्येक वर्ष मंसिर १९ र माघ ६ गते नियमितरुपमा धर्मोपदेश, देववाणी दिँदै आउनु हुने वहाँले वि.सं. २०४९ माघ ३ र ४ गते भालुटारमा तथा वि.सं. २०५६ चैत ७ र ८ माङसेबुङमा विश्व ब्रह्माण्डबारे भविष्यवाणी समेत गर्नुभयो।
वहाँको जीवनको महत्वपूर्ण कार्यको रुपमा वि.सं. २०५७ साल कात्तिक २४, २५ र २६ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको ११६औं जन्मजयन्ती विश्व शान्ति र मानव एकता दिवसको रुपमा मनाउँदै किरात धर्मको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन काठमाडौंमा तीन दिनसम्म किरात धर्म तथा साहित्य उत्थान संघको प्रमुख आयोजकत्वमा र किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाको सहआयोजकत्वमा भयो। भने २०६७ चैत २१, २२ र २३ गते काठमाडौंमा नै किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भयो।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने प्रमुख अभिभारा आफूमा रहेको उद्घोष गर्नुहुने गुरुले वि.सं. २०६१ कात्तिक २५ गते मुहिङगुम अङसीमाङको भाकललाई पूरा गर्नुभयो। नौमती बाजागाजासहित नौवटा बाछी दान गर्ने भाकल मुहिङगुम अङसीमाङले पूरा गर्न नपाई वहाँको देहान्त भएको थियो। सोही अवसरमा मुहिङगुम अङसीमाङकालीन सातवटै माङहिम (चुक्चिनाम्बा, जितपुर, लोब्रेको दुईवटा, सिलौटी, काबेली, र निगुरादेनको माङहिम) र माङसेबुङको किरात हाङसाम मुजोत्लुङ माङहिममा मुहिङगुम अङसीमाङको तस्वीर अंकित तीनवटा कासको लोहोटा, तीनवटा चाँदीको दियो, मुहिङगुम अङसीमाङको मन्त्र भएको ७ किलोग्रामको कासको थाल थियो। मुजोतलुङलाई पनि चढाइएको थियो। वहाँकै पहलमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई नेपाल सरकारले नेपालको १६औं राष्ट्रिय विभूति घोषणा गर्यो।
लेखक किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष, प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख तथा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’का पूर्व निजी सचिव हुन्।
Tuesday, June 9, 2015
वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो। बुबा जगुनबाज र आमा हंसमति बेघा लिम्बुको कोखबाट साइँला छोराको रुपमा सामान्य किसान परिवारमा जन्मिएका सो बालक गर्भमा रहँदा आमाले मदमंस खाए अस्वस्थ हुने, सपना बिग्रिनेजस्ता लक्षणहरु हुँदै आए पनि त्यसतर्फ कुनै ध्यान दिइएको थिएन। बालक जन्मेपछि सुत्केरीलाई कुखुराको मासु र जाँड खुवाउनाले शिशुले आमाको स्तनपान गर्नु भएन। जन्मेको ३/४ घण्टासम्म नरुने, आमाको दूध चुस्न पनि नमान्ने भएपछि भोकले मर्ला भन्ने डरले जबरजस्ती स्तनपान गराउन खोज्दा आमाको स्तनमा खटिरा उत्पन्न हुनाले दूध चुसाइएन। तथापि, सोही घरमा चार दिनअघि ब्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालनपोषण गयो।
बालकको न्वारानको नाम नरध्वज राखियो। अघि जन्मेका धेरै नानीहरु नबाँच्ने भएकाले शिशुको रक्षाका लागि फलामको चुरा लगाई दिँदा दीर्घायु हुन्छ भन्ने जनविश्वासअनुसार शिशुलाई फलामको चुरा लगाइयो। सोही कारण शिशुको बोलाउने नाम फलामसिं हुन गयो।
बालकले आमाको दूध खान नपाउँदै आमा परलोक हुनुभयो। बुवाले दोस्रो विवाह गर्नुभयो। बालक सानीआमाको रेखदेखमा हुर्कंदै जानुभयो। बालक शान्त, एकान्तप्रेमी, मृदुभाषी, कम बोल्ने हुनुहुन्थ्यो। गाई बाख्रा गोठाला गर्दै वनजंगल, खोलानाला, डाँडाकाँडा चहार्दै वहाँ ८ वर्षको हुनुभयो।
चुक्चिनाम्बामा खान, लाउन, बस्न दु:ख भएकाले शिरानघरे जगुनबाज देउमाई खोलापारि जितपुरको ढोडेनीमा खेती गर्न जानुहुन्थ्यो। हिउँदमा गाई गोठ माइखोलापारि राख्ने क्रममा जगुनबाजले पनि राख्नुभयो। गोठ हाल दानाबारी गाविस ९ को बोरुङ सहवीरे भनिने खत्रक्पा खोल्सीपारि थियो।
गोठ लगेर उतै बस्ने भएकाले समय–समयमा घरबाट खाद्यसामग्री पुर्याउन जानुपथ्र्यो। एकदिन फलामसिंलाई आफ्नो सानीआमाले बुवालाई सातुसामल गोठमा पुर्याउन पठाउनुभयो। चामलसँगै मासु पनि भएको फलामसिंलाई थाहै भएन। डोको बोकेर खोला तरिसकेपछि बालक फलामसिंलाई ज्वरो आउन थाल्यो। एकैछिनमा शरीरभरि फोकैफोका उठ्यो। हनहनी ज्वरो आयो, बोल्नै नसक्ने हुनुभयो। मुस्किलले गोठमा पुग्दा छोराको त्यस्तो अवस्था देखेर बुवाले आतिन्दै के भयो भनेर सोध्नुभयो। छोराले आँसु खसाउँदै टुलुटुलु हेरि मात्र रहेको देखेर सानीआमाले बिरामी छोरालाई माया नै नगरी भारी बोकाएर पठाइछे भन्ने सम्झनुभयो। छिमेकी गोठालाहरुलाई गोठ हेर्न लगाएर छोरा बोकेर ढोडेनी घरतिर फर्कनुभयो। आफ्नी श्रीमतीसँग रिसाउँदै छोरा बोकी घर पुग्दा आमाले आश्चर्य जनाउँदै घरबाट बाटो लाग्दा बिराम नभएको कुरा विश्वास दिलाएपछि फेदाङमा, बिजुवा लगाउनुभयो। तीन दिनसम्म फेदाङमा, बिजुवाहरु लगाउँदा पनि बिरामीमा कुनै प्रगति भएन। हरेक रात छिमेकीहरु भेला भएर बिरामी रुङ्ने गर्थे। चौथो दिन बेलुकीपख गाउँलेहरुले रुँगिराखेको बेला बेहोस अवस्थामा लडिरहेको फलामसिं जुरुक्क उठेर एक्कासी जंगलतिर दौडनुभयो। ३/४ जनाले पछ्याउँदै दौडे। वहाँ घर नजिकैको जंगलमा पस्नुभयो। सबैले खोजे तर फेला पारेनन्।
सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले मतिर आऊ भनी इशाराले बोलाएको बिरामी बालकले देख्नुभएको रहेछ। बोलावटले आकर्षित भई बालक जुरुक्क उठेर जाँदा दिव्य पुरुष मतिर आऊ भन्दै इशारा गर्दै अझ पर–पर दौडे। दिव्यपुरुषले बिरामी हुनुअघिको खोलाको किनारतिर लगे। त्यसपछि वहाँलाई दिव्य पुरुषले माइखोलामा नुहाउन लगाए। केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे। त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले।
दिव्य पुरुष : मलाई चिनिस् कि चिनिनस्?
बालक : चिनिन।
दिव्य पुरुष : अघिल्लो जन्मको कुरा बिर्सिस्?
बालक : बिर्सें, थाहा छैन।
दिव्य पुरुष : राम्रो सम्झी, थाहा पाउँछस्।
बालक : अहँ थाहा पाइन।
दिव्य पुरुष : मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस्? (माइखोलातिर औंल्याउदै) ऊ आमासँग माफी माग भन्दै दिव्य पुरुष त्यही नै अल्पिए।
बालकको शरीर हल्का भयो। रुखसँगै बेरिएको लहरा त्यहीँ नै लोप भयो। शरीरको कम्प, पीडा सबै हराएर आनन्द भइ खोलातिर फर्किंदा दिव्य बाजागाजाहरुको ध्वनी गुञ्जन थाल्यो। आँखा खोलामा अडिएको थियो। त्यसबेला खोलाको बीचबाट सुकिलो आभूषणले सुसज्जित सुन्दरी निस्केर हल्का मुस्कानका साथ आई बालकलाई शरीरमा सुमसुम्याउँदै बडो मधुर स्वरमा ‘तपस्वी हुन्छौ, अगाडिको व्रत पूर्ण गर्नु। मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’ भनी मुस्कुराउँदै पुन: खोलातर्फ गइन्। आनन्ददायी दिव्य बाजाहरु फेरि बज्न थाले। दिव्यस्त्रीलाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो। तर, सो दिव्यस्त्री त्यही लोप भइन्। बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा अद्भूत दृश्य देखा पर्यो। रात दिन झैं उज्यालो भयो। आकाशबाट धर्मशास्त्रका ठूल–ठूला सुनौला अक्षरहरु क्रमैसँग खोलामा खस्न थाले। ती अक्षरहरुले आँखै तिर्मिराउँथ्यो। मन्त्रहरुले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो। त्यसले बालकमा ज्ञान बोध हुँदै गयो।
सबै दृश्य सकिएपछि सपनाबाट ब्युँझे झैं हुनुभयो। आकाशमा जून ताराहरु मात्र देखिए। धर्तिमा सम्पूर्ण ज्योतिहरु हराएर सामान्य रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना हो जस्तै लाग्यो। त्यो रात मंसिरको धान्य पूर्णिमाको रात थियो। उज्यालो भएपछि आफूलाई आफ्नै गोठको वारिपट्टिको जंगलमा पाउँदा र शरीरको फोकाहरु सबै निको भएको पाउँदा खुशी हुनुभयो। केही क्षणमा घरबाट खोज्न आउने मानिसहरुसँग भेट भयो। खोज्न आउनेहरुले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर छेक्दै नजिक पुगेर समाते। बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरु छक्क परे। कसरी बिराम निको भयो भनेर सोध्न लागे। बालकले सबै बृत्तान्त बताइदिनुभयो। बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो। खोज्न जानेहरुले अघि फलामसिंले भन्नुभएका सबै कुराहरु दोहोर्याएर आमा–बुवालाई सुनाइदिए।
गोठाला, मेलापात गर्दै फलामसिं किशोर अवस्थामा प्रवेश गर्नुभयो। घरमा खानसम्म धौधौ हुने भएकाले फलामसिंका आमा–बुवा चुक्चिनाम्बा छोडेर जितपुरको ढोडेनीमा बसाइँ जानुभयो। फलामसिंले जन्मस्थल छोड्न मान्नुभएन। फलामसिं काका लालबाज र काकीसँगै जन्मस्थलमै बस्ने हुनुभयो। जितपुरमा राम्रो जीवनयापन नभएकाले केही वर्षपछि आमाबुवा फेरि चुक्चिनाम्बाको डाँडागाउँ सिरानमै फर्किनुभयो।
मदमंस छुन पनि नहुने बिराम भइहाल्ने, बिहान बेलुका दैनिक दियो कलशसँग सेवा गर्ने भएकाले र काका काकी मदमंस सेवन गर्ने भएकाले काकीले एकदिन ‘साइँला अब त तिमी हुक्र्याै, खोइ एकै ठाउँ बस्नु राम्रो थियो, तर खानुमा मिल्दैन। तल लेछेबुङमा कटेरो बनाएर बस। त्यसो गर्दा चोखो हुन्छ’ भन्दा फलामसिंले हुन्छ भन्नुभयो। लेछेबुङ बारीमा सानो कटेरो बनाइदिनुभयो।
लेछेबुङमा ३ रोपनी ३ आना बारी, एउटा कोदालो, एउटा तेरेङ खे:या, एउटा माटाको हण्डी, एउटा सिलबरे थाल, एउटा कराई, एउटा खुर्पा र एउटा हँसिया, दुई माना पिठो र चार झुत्ता मकै फलामसिंको अंश थियो।
फलामसिं भ्याकुर र तरुल खनी खाँदै जीविका चलाउनुहुन्थ्यो। तरुल खन्न जाँदा बुढी मान्छे अघि गएको देख्नुहुन्थ्यो। र, तरुल पनि धेरै भेट्टाउनु हुन्थ्यो। साथीहरुले मासु ख्वाउनु पर्छ भनेर लडाएर ख्वाउन खोज्दा उनीहरुको हात मुखमा नजाँदा अचम्म मान्थे। दुहुना गाईहरुको दूध सबै चुसिदिनुहुन्थो। प्राय: साग, सिस्नु खाएर नै हुर्किनु भयो। बनी गरेर एक जोडी कुखुरा ल्याउनुभएको थियो। त्यो कुखुराको अण्डा सर्पले सबै खाइदिँदा सर्प मारेपछि सो कुखुराले काढेका चल्लाहरु फैलिएका थिए।
माइला दाजु राजवन्त वेलायती फौजमा हवल्दार भएर बर्मामा हुनुहुन्थ्यो। सोही पल्टनमा गाउँकै आफन्त बलधुम योङहाङ पनि हुनुहुन्थ्यो। वहाँ घर बिदामा आउँदा आमा–बुवाले छोडेको एक्लो भाइ फलामसिंले सारै दु:ख पायो होला भन्ने सोचेर दाजुले साइँला भाइ फलामसिंलाई पनि लिएर आउनु भनी बलधुमलाई अह्राउनुभएको थियो। बलधुमले फलामसिंलाई भेटेर माइला दाजुले तिमीलाई पनि लिएर आउनु भनेको छ भनी खबर सुनाएपछि फलामसिं दाजुलाई भेट्न जान मञ्जुर हुनुभयो। बलधुम पल्टनमा हाजिर हुन जाँदा फलामसिंलाई पनि साथमा लिएर जानुभयो। खर्च थिएन, गाउँमा कुखुरा किन्ने बेच्ने चलन थिएन। त्यसैले दार्जिलिङको गुन्द्री बजारमा बेच्न खुँगीमा बोकी जाँदा इलामको नाम्सालिङमा तुषारोमा चिप्लेर लड्दा खुँगीले थिच्यो।
दाजु भेट्न हिँडेको फलामसिंलाई बलधुमले दार्जिलिङ घुम डिपुमै भर्ती गराएर रिक्रुट बनाइ सरकारी राशन खुवाउँदै लाहोरमा पुर्याएको थाहै थिएन। सरकारी पोसाक लगाएर परेडमा उपस्थित गराउँदा फलामसिं छक्क पर्नुभयो। तब विनम्रतापूर्वक ‘साहेब म त योगी हुँ, शस्त्रधारी पल्टने हुने मलाई इच्छा छैन। म दाजु भेट्न मात्र आएको हुँ।’ भनेर बिन्ती चढाउँदा ‘उसो भए कमााण्डरको अफिसमा जानुपर्छ’ भन्ने उत्तर आयो।
कमाण्डरको अफिसमा पुर्याइएपछि कमाण्डरले भन्नुभयो, ‘पल्टने हुने विचार थिएन भने किन भर्ती भयौ?’
‘साहेब, म त दाजु भेट्न आएको मलाई झुक्याएर भर्ती गराएछन्। मलाई पल्टने हुने विचार छैन’, फलामसिंले भन्नुभयो। कमाण्डिङ अफिसर हाँस्नु मात्र भयो, केही नलागेपछि रिक्रुट हुन करै लाग्यो।
यसरी फलामसिं वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनुभयो। फलामसिंको फौजी जीवन सुरु भयो। तैपनि समय–समयमा माङसेवा गर्न छोड्नु भएन। खाटको सिरानीपट्टि दियो कलश राखेर धुप सल्काएर साँझ बिहान नियमित सेवा गर्नुहुन्थ्यो। दिन प्रतिदिन फलामसिं ध्यानी नामले परिचित हुनुभयो।
दाजु राजवन्त बर्माबाट तीन महिनापछि भाइ भेट्न आउँदा दुई चारजना चेला बनाइसक्नुभएको थियो। आफ्नो दाजु हवल्दार भएकाले उसको कुरा लाग्छ कि भनेर सबै कुरा बताएर आफ्नो नाम काटिदिने प्रबन्ध मिलाइदिन अनुरोध गर्नुभयो। तर, दाजुले तीन वर्षपछि मिलाइदिने वचन दिंदै फकाउनुभयो। पल्टनमा दिनदिनै ध्यानीको प्रख्याति बढ्दै गयो। बिरामी सैनिकका परिवार ध्यानीको डेरामा आउन थाले। मान्छे धुइरो लागेको देखेर अंग्रेज परिवारसमेत उपचार गरी माग्न ध्यानीकोमा आउन थालेको देखेर अफिसरहरु पनि छक्क पर्थे। यतिकैमा तीन वर्ष पनि बित्यो। ध्यानीले नाम काटेर एकैचोटी जान खोज्दा उल्टै दर्जा बढाइदिनाले बन्धनमा पर्नुभयो।
उही पल्टनमा हवल्दार दलसुर तान्त्रिक ज्ञानमा निकै नाम चलेको व्यक्ति हुनुहुन्थ्यो। पल्टनमा सबैले प्रभूजी भन्थे। तन्त्रमन्त्रको भरले सबै कम्पनी कमाण्डरहरुलाई समेत कजाइसकेकाले दलसुरले बोलेको कसैले पनि काट्न सक्दैनथे।
एकदिन साँझपख ध्यानी सधैं झै सेवामा बस्नुभएको थियो। चेलाहरु पनि सेवामा आएका थिए। ध्यानीको थानमाथि दुम्सीको तीनवटा काँडा फिरिरि घुम्यो। दलसुरले वाण छोडेको हो भन्ने थाहा पाएर ध्यानीले वाण फर्काइदिनुभयो। एकैछिनमा तीनवटा हरियो झिंगा आएर थानको वरिपरि भन्किन थाले। ध्यानीले झिंगा मारिदिनु भनेपछि चेलाहरुले मारिदिए। तीन वटा मारेको त मौरी झैं कोठैभरी भुनभुनाउन थाले। चेलाहरुलाई त रमिता नै भयो। यो प्रभुजीकै काम हो भन्दै चेलाहरु खासखुस कुरा गर्दै थिए। ध्यानीले झिंगाहरुलाई केही नगर भन्नुहुँदै माला हातमा लिएर जप गर्न थाल्नुभयो। माङ नै हुनुहुन्छ है भनेर जिम्मा दिएपछि क्षणभरमै सबै झिंगा हराए। यो कुरा फेमली लाइनमा पनि पुगेछ, रमिता हेर्नेहरुको भीड भयो। भोलिपल्ट बिहानको परेडमा दलसुर आउनुभएन। सोधखोज गर्दा वहाँ ओच्छ्यानबाट उठ्नै नसक्ने गरी थला पर्नुभएको भन्ने थाहा भयो। अस्पताल लाने कुरा गर्दा ‘मलाई डाक्टरले निको पार्न सक्दैन’ भनेर दलसुर अस्पताल जान मान्नुभएन। किनकि, आफ्नै वाण फलामसिंले फर्काइदिँदा आफूलाई लागेको दलसुरलाई थाहा थियो।
‘कसले निको पार्छ’ भनेर सोध्दा ‘ध्यानीले मात्र निको पार्छ’ भन्नुभयो। ‘ध्यानीले तिमीलाई भेदेको हो’ भनेर सोध्दा ‘उसले भेदेको त होइन। तर, उसले मात्र निको पार्छ। उसले उपकार गरिदिएन भने म बाँच्दिन’ भन्दै ध्यानीलाई बोलाउन आग्रह गर्नुभयो। ध्यानीलाई लिन पठाउँदा ‘मैले केही गरेको छुइन, म दलसुरको कोठामा जान्न’ भन्नुभयो।
‘नगएमा दलसुरको ज्यान जान्छ’ भनेर ढिपी गरेपछि ध्यानीले एक किसिमको झार फुकेर ‘यसको झोल खुवाइदिनु निको हुन्छ’ भन्नुभयो। फर्केपछि झार माडेर झोल खुवाएपछि दलसुर केही दिनमा नै निको हुनुभयो। त्यस दिनदेखि ध्यानीको कोठामा घण्टी बजेको सुन्ने बितिकै दलसुर परैबाट प्रणाम गर्दै आउने हुनुभयो। ध्यानीको नाम झन् बढ्दै गयो।
एकदिन सुनसान जंगलमा आफू मात्र भएको मौकामा उही दिव्यपुरुषसँग अचानक भेट भयो। ध्यानी झस्कनुभयो, दिव्यपुरुषसँग सवाल जवाफ सुरु भयो :
‘खत्रक्पामा भनेको कुरा बिर्सिस्?’
‘बिर्सेको छुइन।’
‘अब बेला पुग्यो। अब त जाने बेला भयो।’
‘धर्म प्रचार गरिसकेको छैन।’
‘उसो भए सबै काम सकेर आफ्नो खुशीले आउनु।’
यति भनी दिव्यपुरुष अन्तध्र्यान भए।
यस पटकको देवदर्शनले ध्यानीको मनमा सारै अशान्ति छायो। हृदयमा ठूलो चोट पर्यो। जसरी भए पनि पल्टन छोड्ने दृढ अठोट गर्नुभयो।
इरावती नदीको किनारमा जाँदै गर्दा योगी झिलिमिली आँखा बलेर आउँदै गरेको देख्नुभयो। भेटेपछि योगीले हिन्दू धर्मग्रन्थका चारवटा पुस्तकहरु दिनुभयो। मनुस्मृति, सत्य अर्थप्रकाशलगायतका हिन्दू ग्रन्थहरु थिए। योगीसँग आत्माबाटै वार्तालाप भएको थियो। साथमा दिलमान तुम्बापो हुनुहुन्थ्यो। यस्तैमा भारतीय जसमनी पन्थका शशिधर स्वामीका चेलासँग भेट भई धेरै दिनसम्म धेरै ज्ञान, शिक्षा, दीक्षा लियादिया गरेपछि वहाँले नै फाल्गुनन्द नाम राखिदिएपछि ध्यानी हवल्दार फाल्गुनन्द हुनुभयो।
प्रथम विश्वयुद्ध वि.सं. १९७० मा शुरु भयो। ध्यानी हवल्दारको कमाण्डमा एक सेक्सन सिपाही खटिए। आफ्ना सेक्सनका सिपाहीहरुलाई उपदेश दिंदै भन्नुभयो, ‘हेरज्ञ् दुश्मन भनिनेहरु पनि हामीजस्तै मानिस हुन्। जर्मनहरुले हाम्रो केही पनि बिगारेका छैनन्। उनीहरुलाई मारेर के फाइदा? मारियो भने उल्टो पाप लाग्छ। उनीहरुको स्वास्नी, छोराछोरीले दु:ख पाउँछन्। तर, सरकारको नूनपानी खाएको छौं, नूनको सोझो गर्नुपर्छ। हुकुम पालना गर्नैपर्छ। यसकारण गोली कि आकाशतिर कि भुइँतिर हान्नू, मान्छेलाई ताकेर नहान्नू। माङलाई सम्झनु। सत्य र धर्ममा बसियो भने मरिंदैन।’
लडाईं चलिरहेको थियो, एउटा लिम्बुनीजस्ती आइमाई पहेंलो सुनको थुन्से बोकेर फौजको अगाडि हिँडेको दृश्य ध्यानीको सेक्सनकाले देखेका थिए। शत्रुपक्षबाट आएको सबै बम तथा गोलाहरु त्यही थुन्सेमा पसेको जस्तो देख्थे। ध्यानीका सेक्सनका कोही मारिएनन्, घाइते पनि भएनन्। आफ्नोतर्फबाट बन्दुकको गोली आकाश तथा भुइँतिर पड्काएर युद्धको भूमिका निर्वाह गरे। लडाईं साम्य भयो, आ–आफ्नो पल्टनमा फर्के।
पल्टनमा हुँदै जंगल अपरेशनमा हिँडिरहँदा एकपटक अजङ्गको बाघ फुत्त निस्केर खडा भयो। दिलमानको होसहवास नै उड्यो। ध्यानी र बाघको आँखा सिधै जुध्यो। निकैबेर एक–आपसमा हेराहेरपछि बाघले अर्कोपट्टि मोहडा फर्कायो। बल्ल ध्यानीले भन्नुभयो, ‘हे सिंहदेवीज्ञ् तिम्रो बाटो पछ्याएर जानु।’ भन्दा बाघ लमक लमक गर्दै जंगलतर्फ लाग्यो।
दिलमानलाई हेरेर हाँस्दै ध्यानीले भन्नुभयो, ‘दिलमान डरायौ? तिमी त मृगको पुच्छर मात्रै हेरेर हिँड्ने पो त। बाघले त तिमीसित मीत पो लाएर गयो त।’
दिलमान : ‘त्यसले के विचार गर्यो होला गुरु?’
फाल्गुनन्द : ‘खान हुने नहुने, मार्न हुने नहुने विचार गर्यो नि।’
कहिलेकाहीँ वनजंगलमा टहल्न निक्लँदा रुख, लहराहरु एकापसमा बोलेको सुनेजस्तो लाग्थ्यो। अघिल्लो जन्ममा चोर्दा, ज्यान मार्दा, असत्य बोल्दा, कसै कसैले भने बुबा, आमा र गुरुहरुको आज्ञापालन नगर्दा यो जन्म भएछ भनेर बात मारेजस्तो सुन्दा झस्कनु हुन्थ्यो।
एकदिन साँझपख सुनसान जूनेली रातमा टहलिन निक्लँदा दिव्यपुरुषसँग अचानक दर्शनभेट हुँदा खुट्टामा सेवाढोग गर्नुबाहेक केही वाक्य आएन। दिव्यपुरुषले ‘तिमी त सेवा गरौला, किरातीहरुलाई सुधार गर्छौ कि भनेको त यहीं छौ’ भन्ने वाक्य सुन्दा ‘हुन्छ’ भन्ने जवाफबाहेक केही बोली फुटेन। यो पूण्य तिथि बैसाक शुक्ल पूर्णिमाको रात थियो।
अब ध्यानीले पल्टन जसरी भए पनि छोड्ने अठोट गर्नुभयो। वि.सं. १९७४ मा प्रथम विश्वयुद्ध पनि समाप्त भयो। पल्टनबाट नाम कटाउन चाहनेले नाम काट्न पाउने हुकुम भएपछि ध्यानीले पनि नाम लेखाउनुभयो। तर, वहाँ सत्यवादी र इमान्दारी हुनाले जमदार पदमा पदोन्नति गराएर पल्टनमै राख्ने तानाबाना बुन्ने काम भयो। अप्ठ्यारोमा पर्नुभयो। मनमा धेरै अशान्ति छायो। अलमलाएर पूर्ण बन्धनमा राख्ने चालबाजी बुझेपछि छुटकारा कसरी पाउने चिन्तनमा साँझपख ध्यानमा बस्दा शब्दवाणी भयो।
बिहान कवाजमा जाँदा सरकारी पोशाक पहिरिएर नजानु, साधा पोशाकमा निधारमा बिघौद लगाएर जानु भन्ने माङआदेशअनुरुप ध्यानीले गर्नुभयो। यो तमासा देखेर अफिसरहरुले जंगिएर भोलि यसरी नआउनु भनी कडा आदेश गरे। फेरि साँझमा ध्यानमा बस्दा फेरि उही शब्द दोहोरियो, ‘भोलि अझ ठूलो बिघौद लगाएर जानु।’ भोलिपल्ट पनि त्यसै गर्नुभयो। लगातार यसरी तीन दिनसम्म पनि आदेशको पालना नभएकाले अफिसरले यसको कारण सोधे, पहाडमा हाम्रो गाउँ घरमा महारानी युमामाङ देवता चढेर यस्तो दु:ख पीर दिन्छ। यसको उपचार पूजाआजा गर्ने मानिस गाउँतिर मात्र पाइन्छ। पक्कै लिम्बुनी महारानी देवी चढेकी हुनुपर्छ। यहाँ राख्नुभन्दा नाम कटाएर पठाउँदा भलो हुनेछ भनेर जनजातीय अफिसरहरुले ठूला अफिसरमा अनुरोध गरेपछि बल्ल स्वीकृति भयो। सबैले एक दिनको तलब पनि उठाएर भत्ता थपी फर्कन तयार हुँदा पल्टनीया चेलाहरु पनि ध्यानीका साथमा हिँड्न तयार भए। सबैलाई सम्झाइबुझाइ गरेर पान्थर चोकमागुका दिलमान तुम्बापोलाई मात्र साथमा लिएर बिदावारी हुनुभयो।
बिदाइ धुमधामसँग दुई दिनसम्म भयो। रेल स्टेशनसम्म बिदाइ गर्नेहरुको भीड लागेको थियो। रेल, मोटर, पानीजहाजको यात्रा गर्दै दार्जिलिङ डिपु आईपुगेर आफ्नो रहलपहल हिसाब थापेर गधामा सामानहरु बोकाएर गाउँ फर्किनुभयो। आउँदा सिलिगुडीमा गोरुगाडा किनेर बाँस तान्ने, भकारी बुन्ने काम पनि गर्नुभयो।
यसपछि आगौटेबारीमा झुप्रो घर बनाई बस्नुभयो। तेस्रो घर चुक्चिनाम्बाको मूलघरको मास्तिर डाँडामा, चौथो गैरिगाउँको भालेबारीमा बनाई सर्नुभयो। त्यस समयसम्म चेलाहरु धेरै बनाइसक्नुभएको थियो, र महागुरु फाल्गुनन्द नामले परिचित हुनुहुन्थ्यो।
केही दिनको बिश्रामपछि महागुरुले दिलमानलाई यहाँ धेरै चेलाभूला बनाउनु भनेर घरमा छोडिराखेर वि.सं. १९७७ माघमा चेलाहरुसहित विभिन्न देवी देवताहरुको दर्शन गर्दै काशी, मथुरा, द्वारीका रामेश्वर जगन्नाथ, अयोध्या, हरिद्वारलगायतका धामहरुको भ्रमण गर्नुभयो। देवस्थलहरुको भ्रमण गरिसकेपछि वि.सं. १९७८ मा चुक्चिनाम्बा आइपुग्नुभयो। टाढा–टाढाका बुढापाकाहरु पनि वहाँलाई भेट्न आउन थाले। रवीमा त्यसबेला जसमनी सम्प्रदायका साधुहरुको नाम निकै चलेको थियो। साधुहरुले महागुरु फाल्गुनन्दको प्रभाव सुनेर कस्ता तपस्वी आएका छन् त भनी भेटे। भेटपछि सम्बन्ध नजिकिँदै गयो। तपस्वी कहिले रवी, कहिले चोकमागु घुमिरहनुहुन्थ्यो। जसमनी मतका केही साधुहरुसमेत प्रभावित भएर मान्न, ज्ञान गुणका कुराहरु सोध्न थाल्ने भएकाले उनीहरुबीचमा वादविवादसमेत भएको थियो। तपस्वी फाल्गुनन्द जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ मानिसहरुको धुइरो लाग्ने गथ्र्यो। बिराम देखाउने, जोखना हेराउने, छोराछोरी माग्नेको भीड हुने भएकाले कहिलेकाहीँ दिक्क भएर भन्नुहुन्थ्यो, ‘मलाई त ज्ञान, ध्यानको कुराहरु पो सोध न।’
इलाम जिल्ला साकफारा ८ कालीखोला र बुवानाखोलाको शिरमा ठूलो पैह्रो गएको थियो। पैह्रोले गाउँसमेत लाने स्थिति भएकाले त्यस भेगका चेलाहरुले ‘स्वस्ती शान्ति गर्दा कतै रोकिन्छ कि गुरु’ भनेर प्रश्न गरे। तब गुरु आज्ञा भयो, ‘त्यहाँ त देवीथान रहेछ। त्यही सुँगुर काटेर बेच्ने चलन रहेछ। देवी रिसाएर त्यसो भएको हो। अब उप्रान्त जीवहिंसा, हत्या नगर्ने कबुल गर्नु’ भनेपछि सोही अनुसार गर्दा पैह्रो थामियो।
त्यस्तै, बाँझो ८ आदिपुरका सुब्बा बिर्खध्वज साँबाले महागुरु फाल्गुनन्दलाई बोलाएर आफ्ना भतिजाहरुलाई भेला गराई महागुरुको निर्देशनअनुसार सेवा लगाएर सेतो पैह्रो थामिएको थियो।
चेला दिलमान तुम्बापोले आफ्नो गाउँमा ‘मसँग एउटा मान्छे छ ल्याउँछु’ भन्थ्यो रे। महागुरु दिलमानसँग उसको गाउँ चोकमागु जानुभयो। गाउँ गएको मौका पारेर दिलमानले दाजुभाइहरुलाई ‘महागुरुले भनेकोमा सबै लागिजाउँ’ भन्दा ‘बेतेनी खेतको पैरो थाम्न सक्यो भने पसौं’ भनेको कुरा दिलमानले महागुरुलाई सुनाउँदा स्वीकार गरी ‘काली गाईको चोखो दूध, समेदा, घीउ र चरु तयार गर्नु सेवा गर्दा थामिन्छ’ भन्नुभयो। सोही अनुसार सेवा गर्दा थामियो। र, ठूलो संख्यामा तुम्बापोहरु यो सम्प्रदायमा पसे।
रवीमा खडेरी चलेको कारणले स्थानीय चेला रामानन्द (पदमलाल) राईहरुको अनुरोधमा पानी पार्न माग गर्न यज्ञ सेवा स्वस्ती शान्ति गर्ने काम भई अन्त्यमा महागुरुले एक पावा पानी पाएको माङवाणी सुनाउनुभयो। तीन दिनपछि धुमधामका साथ दुई दिन दुई रात वर्षा भयो। पदमलालले ‘एक पावाले कति भिज्छ होला’ भन्दा ‘यो पदमलालले पत्याएन है’ भन्नुभयो रे। एक पावाले झन्डै बगाई लग्यो। रवीको मुढेमा साधु गुफा माडे चौरमा बस्दा त्यही गुफाको किनारतिर पानी उमार्नुभयो, जसलाई बद्रीनन्द कुवा भनिन्छ।
इलामको जितपुर ८ स्थित पारिगाउँको लिङ्देन गाउँमा आउने जाने गर्नुहुन्थ्यो। यस्तैमा वि.सं. १९८० मा काका बलिवन्त लिङ्देनले धारा टाढा भयो, नजिकै पानी उमारी दिनुपर्यो भन्दा महागुरुले बलिवन्तकै घरमुन्तिर पानी उमारिदिनुभयो।
वि.सं. १९८१ बैसाकमा इलामको मानेभञ्ज्याङ सीमाना भएर दार्जिलिङतर्फ जाँदा मानेभञ्ज्याङवासीहरुले पानी मागे। यसलाई स्वीकारी पूजा सामग्री तयार गर्दै गरेको स्थानीय चित्रे गुम्बाको लामाले सुनेपछि रिसले चेलाहरुलाई धर्मशास्त्रका पुस्तकको भारी बोकाई बाजागाजाका साथ तडकभडक गर्दै तपस्वीको ओडारमा आई घमण्डपूर्वक गर्जिनुभयो, ‘पानी पार्न धेरै होम लगाएँ, जप तप गरें र पनि पानी परेको छैन। यस्ता फुस्राले कहाँबाट के गरेर पानी पार्छ। धर्मशास्त्र जुझाउँ। म त बाह्र अवतारी लामाको चेला हुँ, गुरु समान छु, ज्ञान जुझाउँm। म त सिधा ल्हासाबाट आएको लामा हुँ र पनि कति गर्दा पनि पानी पार्न सकिन भने यो फुस्रा कहाँको हो, के गर्छ?’
यस्तो कुरा सुनेर तपस्वीले नम्र स्वभावमा भन्नुभयो, ‘तपाई संग्राम गर्न आउनुभएको रहेछ। म त संग्राम गर्दिन, मसँग दलबल छैन। हातहतियार पनि छैन। जित्ने सोच पनि छैन। धर्मशास्त्र जुझाउन आउनु भएछ। मसँग ती केही पनि छैनन्। तपाईं त बाह्रअवतारी लामाको चेला हुनुहुँदोरहेछ। शिक्षा पाएर पण्डित हुनु भएछ, तर म त गुरुविहीन छु। त्यस्ता शिक्षादीक्षाको त कुरै जानेको छैन।’
तपस्वीको यस्तो नम्र स्वभावको उत्तर सुनेर लामा झन् कडकिनुभयो, ‘केही पनि नजान्ने फुस्राले पानी पार्छु भन्ने धाक किन गरेको त?’
‘मैले त पानी पार्ने धाक गरेको छैन। यी सबै सज्जनहरुको आग्रह टार्न नसकेर कतै पानी परिहाल्छ कि भनेर यसो गर्न लागेको’ भन्दा पनि झन् गर्जन लाग्दा तपस्वीलाई पनि आफ्नो परिचय दिन मन लागेर भन्न शुरु गर्नुभयो। ‘बडा लामा रिम्पोचे, तपाई बडा ज्ञानी हुनुहुँदो रहेछ। यस्तासँग भेट हुँदा मलाई ठूलो आनन्द लाग्यो। तपाईंका गुरु पनि ठूलै हुन्, तर ती गुरुहरुले यस्तै घमण्ड गर्नु, क्रोध र हप्कीदप्की गर्न सिकाउनुभयो कि? गुरु, साधु सन्त लामाहरुमा त तामसी भावना पनि ननिस्कनु पर्ने, धर्मशास्त्र जुझाउनु पर्ने कारण त नहुनु पर्ने। लौ त तपाईंको रहर पूरा गरौं।’ यति बोल्दाबोल्दै तपस्वीको पारा चढेर आयो। ‘यी यति जना यहाँ मानिस साक्षी छन्। यति बेला चीनमा वा अरु देशमा के घटना भइराखेको छ सोधी पठाउँ। तपाईंको र मेरो कसको जवाफ मिल्ने रहेछ’ मात्र भनेका थिए लामा हडबडाउन थाल्नुभयो।
तपस्वीको त्रिकाल ज्ञानले भरिपूर्ण भएको गम्भीर प्रश्न सुनेर लामाको होसहवास उड्यो। दुईतिरको चेलाहरु यिनीहरु बाझन थाले, बज्र पार्छन् भनेर भाग्न थाले। तपस्वीले ‘यस्तै अहंकारले जान्छस्’ भन्नुभयो। यिनी त महा शक्तिशाली रहेछन्। अब श्राप देलान कि भनेर डरले काम्दै माफी माग्न थाल्नुभयो। ‘म फुस्राले के माफी दिनु’ भन्दा झन् लामा डरले थरथर काम्दै तपस्वीको प्रकाशमय अनुहार हेर्न नसकी घोप्टो परी आँसु झारी निहुरिएर बसेको देखी महागुरु फाल्गुनन्दलाई दया पलायो।
‘लामा तिमीहरु भनेको भगवान बुद्धका चेला हौ। बुद्धजस्तै शान्त र अहिंसावादी हुनु। ज्ञान खोज्न आउनेले त हिंसा गर्नु हुँदैन। बाहिरी मुखले मात्र धर्म प्रचार गरेर हुँदैन। भित्री आत्मा शुद्ध र निर्मल हुनुपर्छ। सत्य सम्झेर बस्नु। मैले क्षमा दिनु पर्दैन। ईश्वरले क्षमा दिनेछन्। सत्य मार्गमा चल्नु।’ यति भनेपछि महागुरुको पाउमा दण्डवत गरी लामा उठेर जानुभयो। पछि घोडाबाट लडेर लामाको हात भाँच्चियो, र त्यही बिरामले मृत्यु भयो।
पानी माग्ने सेवा भयो। तीन दिनभित्र पानी पर्छ भनी तपस्वी दार्जिलिङतर्फ जानुभयो। तीन दिनमा वर्षा भई मानेभञ्ज्याङवासी जनताले जयजयकार माने। पछि फर्कंदा वहाँको ठूलो स्वागत सत्कार साथ सम्मान भयो।
वि.सं. १९८५ मा पान्थरको चोगमागु ३ मा लोब्रेकुटी आठजिल्ला माङहिम स्थापना गर्नुभयो। यही वर्ष माङमालुङ छेवैको तीनचुले डाँडामा झुप्रो बनाउन तीनचुलेका तीन सुब्बाहरुलाई ५० रुपैयाँको रक्सी राखिदिएर जग्गा माग गर्नुभयो। सो ठाउँमा पानीको अभाव भएकाले फलामे त्रिशुल गाढेर पानी पनि उमार्नुभयो। जसलाई सिमसिमे पानी भनिन्छ। जग्गा दिनमा दुई सुब्बा राजी भए। तर, कुरुम्बाकाहरुले दिएनन्। तब महागुरु जुरुक्कै उठेर जामा उठाएर चुक्चिनाम्बाको गैरिगाउँ झर्नुभयो।
वि.सं. १९८६ मा चुक्चिनाम्बाको गैरिगाउँमा भक्तजनहरुले चन्दा संकलन गरेर किरातेश्वर हाङसाम माङहिम बनाइदिए। त्यसपछि ठूलो लाधुङसेमी सेवा लगाएर महागुरुलाई त्यहाँ राखे। जहाँ पछि महागुरुकै निर्देशानुसार बद्रिनन्द तुम्बापो गुरु भएर बस्नुभयो। सोही वर्ष पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा त्रिशुल भुइँमा गाढी खन्न लगाई खानेपानी उमारिदिनुभयो।
लिम्बुवानवासी सबैलाई एकै ठाउँमा भेला गरेर किरात समाजमा व्याप्त तत्कालीन विकृति विसंगतिहरुलाई हटाउने उद्देश्यले १० लिम्बुवान १७ थुमका किरातीहरुलाई पत्र लेखेर वि.सं. १९८८ बैसाक २४ गते बुधबार लोब्रेकुटीमा बृहत् भेला गराउनुभयो। पान्थर यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौविसका सुब्बा प्रेमबहादुर माबोहाङ आदि सुब्बालगायत ज्ञानीमानी ठूलाठालु सबैको उपस्थिति भयो। सो भेलाले तीन ठाउँ सर्दै पाँच दिनसम्म छलफल गरेर ७ बुँदे सत्यधर्म मुचुल्का पारित गर्यो।
एक साँझ शेरबहादुर लाओती र काजीमान तुम्बाहाम्फेलाई महागुरुले सोध्नुभयो, ‘म को हुँ?’
दुबैले राति सल्लाह गरेर भोलिपल्ट भने, ‘सत्य आहार, सत्य विहार, सत्य भोजन, सत्य कर्म, सत्य बोल्ने सत्यहाङमा।’ तब वहाँ सत्यहाङमा नामले पनि परिचित हुनुभयो।
लोब्रेको आठ जिल्ला माङहिम आठ सुब्बाको मात्र भयो है भन्दा १७ थुमको योगदानमा वि.सं. १९८८ मा आठ जिल्लाकै मुन्तिर सत्रथुम गोश्वारी माङहिम निर्माण भयो। जसमा सत्यहाङमाकै निर्देशनमा बैजनाथ तुम्बापो माङसेवासाबा हुनुभयो। सो माङहिमको छेउमा पानी पनि उमार्नुभयो।
पूर्वाञ्चल लिम्बुवानका लिम्बुहरुलगायत धेरै समूह मिलेर करिब ३ सय जनाले सहिछाप गरी काठमाण्डौस्थित राजदरबारमा सत्यहाङमाविरुद्ध राष्ट्रद्रोही, समाजद्रोही, देशद्रोहीको उजुर पर्यो। यो वि.सं. १९९०/९१ को घटना हो। अभियोगमा पूर्व लिम्बुवान, पल्लो किरातको उत्तरको राजा म हुँ भन्छ, हाम्रो परापूर्वको रीतिथिति, संस्कृति खण्डित गरेर मास्न खोजिरहेको छ। परापूर्वकालदेखिको परम्परागत रीतिरिवाज, जाँड, रक्सी खाने पिउने, छोरीचेलीको सोतरीत, सुनौलीरुपौली, होकतबा र चारकलम लिनेदिने, युमा, थेबालगायत इष्टदेवी देवतामा राँगा, सुँगुर, खसी, बोका, भेडा, बाख्रा, हाँस, कुखुरा भोगबलि दिएर इष्टदेव मान्दै आएको हाम्रो धर्म, संस्कृति, रीतिथिति सबै भङ्ग गर्दै बाधा व्यवधान खडा गर्दै कहिलेकाहिँ हिमाल जान्छ। हिमालयमा दरबार बनाएको छ। सेना पालेको छ। घिउ, चामल, पैसा, मोही उठाएर ढिकुटी भराउँछ। राजा हुँ भन्दै पूर्व लिम्बुवान घुमीघुमी कुधर्म प्रचारप्रसार गर्दै २/३ सय दलबलसहित डुलिरहेको छ भन्ने व्यहोरा थियो। गोप्य ढंगले परेको सो जाहेरी ठीक हो कि होइन भनी बुझने काम राजदरबारमा गोप्य छलफल गरी गोप्य कुरा बुझन बडागुरु पण्डित द्वीपराज उपाध्यायको अगुवाइमा आफ्नो जेठु वीरगञ्जका पौडेलको बुबा ससुराको श्राद्ध काबेली दोभानमा गर्ने बहाना पारी २१ जना ब्राह्मणहरुको टोली हातहतियारसहित महागुरु फाल्गुनन्दको खोजी गर्दै जाँदा सिनाममा भेट्टाए।
पण्डित द्वीपराज र महागुरुको भेटवार्ता शुरु भयो। संसारभरका धर्मशास्त्रबारे कुराकानी भयो। ज्ञानगुणको कुरा एकअर्कामा लियादिया गर्दै ५ दिन ५ रातसम्म बहस चल्यो। अन्तत: अभियोगी राजा नभएर धर्मराजा रहेछन् भन्ने सत्य तथ्य पत्ता लगाएपछि पक्रन नहुने रहेछ भनी यस्तो यस्तो उजुर परेकाले आफूहरु नेलकडी, साङली र हातहतियारसहित आएको सुनाउँदा महागुरुले हुन्छ जान्छु राजाले मलाई गहना पठाएको लाउँछु। यहाँ नभए पनि राजाको सामुन्ने लगाइदिनु भनी जवाफ दिनुभयो।
तेह्रथुम, धनकुटा, खोटाङको पैदल मार्ग भएर काठमाण्डौको मृगस्थली ओडारमा बास भयो। श्री ५ त्रिभुवनको दर्शन गर्दा पूर्वका लार्डसाहेब बबरशमशेर, पश्चिमका लार्डसाहेब मोहनशमशेर, उत्तरको लार्डसाहेब बहादुर शमशेर, दक्षिणका लार्डसाहेब भीमशमशेर गरी चार लार्डसाहेबहरुको बीचमा राजा राखेर हातकडी नेल लगाएर हाजिर गराउँदा चढाउनलाई असर्फी र फूल हातमा थियो। सो जाँच गरेपछि महागुरु फाल्गुनन्दले फूल र असर्फी चढाउँदा फूल र असर्फी राजाको हातमा पर्दा नेलकडी खत्रक्क भुइँमा खस्दा जादु झैं भयो। सभामा सबै छक्क परे, पूर्वको लार्डसाहेबले त जिब्रो नै टोक्नुभयो।
महागुरु फाल्गुनन्दले ‘सरकारसँग भेट गर्ने मेरो इच्छा थियो, त्यो ईश्वरीय कृपाले आज पूरा भयो’ भन्नुभयो। राजा त्रिभुवनले पनि ‘तपाईको दर्शन गर्न बोलाएको दर्शन भयो। भेट्ने इच्छा थियो, त्यो धोको पूरा भयो’ भन्नुभयो। पूर्वका लार्डसाहेबलाई ‘यिनी राजा नभएर धार्मिक सन्त रहेछन्। खाने, पिउने, बस्ने प्रबन्ध मिलाउनु’ भन्ने हुकुम भयो।
वि.सं. १९९२ मा ताप्लेजुङ साप्लाखु १ को काबेली माङहिमका सेवासाबा गंगादिल तुम्बापाले सो माङहिम महागुरुलाई चढाउनुभयो। किनकि, आफ्नो गुरु जसमनी पन्थका गोपालदास योङहाङले ‘पछि लिम्बुवानमा ठूलो महागुरु जन्मिन्छ, त्यसले भनेको कुरामा सबै पसिजानु पर्छ है’ भनेका थिए।
सिन्चेइ फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला)को तीर्थयात्रा सर्वप्रथम वि.सं. १९९३ मा गर्नुभयो। धार्मिक नियम पालन गर्दै फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाएर फर्किनु पथ्र्याे। बाटोमा पर्ने विभिन्न पोखरी, खोला, डाँडाहरुमा नित्य सेवा लगाउँदै जाँदा प्रत्यक्ष दैवी चमत्कारहरु देखेर चेलाभूलाहरु दङ्ग पर्थे। ढ्याप्प कुहिरोले छोपेको डाँडाहरु सेवा लगाउँदा–लगाउँदै उघ्रिएर छ्वाङ उज्यालो हुने, कुनै पोखरीको पानी चलायमान भएर मयुर नाचे झैं दृश्य देखाउने, कतै पोखरीबाट हाँस, कछुवाजस्तो देखिने जन्तुहरु निस्केर वरपर गरी बस्ने, कतै ठूला सर्पहरु झैं देखिने जन्तुहरु पोखरीको छेउछेउ घुमिरहने, कतै नाङलोजस्तो उज्यालो प्रकाश २०/३० सेकेन्डसम्म देखापर्ने, कतै पोखरी रिसाएर पुरै पानी नै पल्टेर मान्द्रो बेरिए झैं बेरिएर छोप्ने, कतै दिउँसै झमक्क अँध्यारो भएर हुरीबतासले बाटो छेक्नेजस्ता विभिन्न यथार्थ दृश्यहरु देख्न भोग्न पाइन्थ्यो।
ताप्लेजुङको तावापोखरीमा सत्यहाङमा र तीर्थ टोली पुग्दा हावाले तम्बु झन्डै–झन्डै उडायो। धेरै पटक सम्झाउँदा पनि नमानेपछि वहाँ रिसाउनु भयो र खुर्मी लिएर उफ्रिँदै तिमीलाई सराप्छु भनेर ३ फिटको समेदा चिठ्याउनु लगाउनुभयो। तीन मुठी चरु लगाएर अब तिमी भष्म भयौ भनेर आराम गरेर बस्नुभयो। चेलाहरुलाई भोलि हेर्नु भन्नु भएको थियो। भोलिपल्ट बिहान पोखरी सुकिसकेको थियो। ज्यादा अहंकार घमण्ड गर्दा यस्तै हुन्छ भनेर चेलाहरुलाई भन्नुभयो। चोङ (लिम्बु)हरु यता नआओस् भनेर लामाहरुले श्राप दिएर त्यहाँको नागलाई उठाएकोमा सो मार्गलाई वहाँले यसरी खोल्नुभएको थियो।
घुन्सामा पुग्दा भोक र प्यासले हिँड्न नसकेको स्थिति देखेर महागुरुले चेलाहरुलाई ‘साह्रै भोक लाग्यो कि कसो हो?’ भनी सोध्दा चेलाहरुले एकै स्वरमा ‘हो गुरु’ भने।
‘त्यसो भए पानी भेट्टाए खाना पकाई खान्छौ त?’ भनी महागुरुले पुन: सोध्नुहुँदा चेलाहरुले ‘यहाँ पानी छैन, केले पकाई खानु गुरु?’ भने।
‘एकछिन पर्ख माङले पानी दिन्छ’ भन्नुभएपछि खुला सानो चउरमा चप्परी खन्न लाउनुभयो। खनिएको ठाउँमा पानी उम्रियो। त्यही पानीले खाना पकाई खाइसकेपछि त्यो पानी सुक्यो। चउर जस्ताको तस्तै भयो।
फक्ताङलुङ पुग्ने बेलामा महागुरुको रुप नै बेग्लै भएर, भक्तहरुलाई समेत भुलेर लगाएको लुगा फुकाल्दै कता जानुहुन्थ्यो कता। जति माथि गयो उति नाङ्गो शरीर देखिन्थ्यो। भक्तहरुले भेट्न नसकेर फालेका लुगाहरु टिपेर बोकिदिंदै फक्ताङलुङ हिमालको फेदीमा पुगेर एउटा ओडारमा आगो फुकेर ताप्दै महागुरुको प्रतीक्षा गर्दै बसिरहन्थे। वहाँ कहाँ जानु हुन्थ्यो, के गर्नु हुन्थ्यो, के खानु हुन्थ्यो, कहाँ बस्नु हुन्थ्यो भक्तजनहरुलाई थाहै हुँदैनथ्यो। तीन चार दिनसम्म हराएर बल्ल मुस्कुराउँदै भक्तहरुलाई खोज्दै, ‘ए यहाँ पो छौ? मैले त तिमीहरुलाई भुसुक्कै भुलेछु’ भन्दै निस्केर आउनु हुन्थ्यो।
लेक लागेर हिँड्न नसकेका चेलाहरुलाई पर्खिँदै लानुहुन्थ्यो। यस्तैमा सिद्धिदास फेजङ र बीर्खबहादुर साँबा पनि हुनुहुन्थ्यो। पर्खिँदै लाँदा ‘बिर्खे बल चोगे’ भन्नु हुन्थ्यो रे। त्यसपछि आफूले प्राप्त गरेका माङसिवाखाहुनहरु तुङ्गेको तालमा गाएर सुमधुर स्वरमा भक्तहरुलाई सुनाउँदै खुशी भएर नाच्दै भक्तहरुलाई माङलाङ नचाउँदै रमाउँदै टोली फर्किन्थ्यो।
वि.सं. १९९४ मा इलाम इभाङको चिम्भुवामा पानीको अभाव देखेर कमाण्डलुबाट पानी भरेर ल्याउनु भई फलामको चिम्टा गाडी जल अभिषेक गर्नुभयो। तत्कालै पानी भरियो। यही साल फक्ताङलुङ जाँदा घुन्सामा किरात थान बनाउनुभयो। ताप्लेजुङको पाथीभरा देवस्थलमा बलिपूजा भएकोले त्यहाँ नगई तल सुकेटार नजिकैबाट युमासाम थेबासामको सेवा गरी हाल हवाई मैदान रहेको सुकेटारमा खानेपानी उमार्नुभयो। ताप्लेजुङकै मेहेले गाविस सिरानको थाम डाँडामा पानी उमार्नुभयो। जसलाई सिजुवा च्वा: भनिन्छ।
अर्को वर्ष १९९५ सालमा फक्ताङलुङ जाँदा पारुङतेम्बे मैदानमा धर्मशाला बनाउनुभयो। भक्तजनको दानबाट निर्माण हुँदै गरेको खबर तत्कालीन बडागुरु पं. द्वीपराज उपाध्यायले थाहा पाएपछि मेरो पनि सेवा लागोस् भन्ने पत्र लेखी एकजना मानिसलाई एक सय रुपैयाँ भेटी पठाएका थिए। भक्तजनको दानले नै धेरै काम भइसकेकाले अलिकति रुपैयाँ लगाई बाँकी रकम फिर्ता पत्र साथ पठाउनुभयो। पत्रमा ‘बडागुरुज्यू, तपाईंले धाममा लागोस् भनेर पठाउनुभएको रुपैयाँ र मानिस आई पुग्यो। तर, यहाँ अघिल्लो जन्ममा धर्म नगरेर यो जुनीमा दु:ख पाएका शिष्यहरुको सेवा लगाइदिँदा अर्को जुनीमा सप्रन्छ कि भनी उनीहरुको धुपबात्ती पूरा चढाइयो। तपाईं त त्यसै पनि ज्ञानी, ध्यानी र धर्मी हुनुहुन्छ। त्यसकारण तपाईंको केही रुपैयाँ लगाउँदा धाम धर्मशाला पूरा भैसकेको हुँदा बाँकी रुपैयाँ फिर्ता गरी पठाएको छु। यसमा दु:ख मन नगर्नु होला।’ उल्लेख थियो। धर्मशाला बनाएपछि धुमधामका साथ सेवा गरी उद्घाटन गराउनुभयो।
सेवा सकेर फर्किरहेको अवस्थामा याङवरक सीमानामा आइरहेको बेला राजद्रोही, अभियोग याङरुप सिनामका कञ्चन गिरीको नामबाट धनकुटा गौंडामा उजुर पर्यो। सो उजुरमा ‘लिम्बुवानमा एक फिरन्ता छ, ऊ बेलाबखतमा हिमाल जान्छु भनी भेंडीगोठतिर पनि पुग्छ, हिमालमा राजदरबार बनाउँदै छ। अगाडिको हाम्रो लिम्बुवान राज्य कायम गर्नुपर्छ भनी लिम्बुवानबासीहरुलाई हात लिँदैछ, खुब जोरसोरले प्रचार गर्दैछ’ भन्ने उल्लेख थियो।
उक्त उजुरबमोजिम पक्राउ पुर्जी काटियो र याङरुपबाट पान्थर सिलौटीमा आइपुग्दा पक्राउ पर्नुभयो। पक्राउ गर्ने डोरले सोधपुछ गरे। ‘तपाईंको नाममा यस्तो यस्तो खालको उजुर छ’ भनी सुनाएर सोधे, ‘कसो? राजा बन्ने इच्छा छ कि क्या हो?’
तपस्वीले नम्र भएर जवाफ दिनुभयो, ‘मजस्तो फुस्रा राजा हुनु, यो पत्याउने कुरा होला? यो जामा लगाउँदा राजा भएँ कि? यो त्रिशुल बोक्दा राजा भएँ कि? यो बिघोत लाउँदा राजा भएँ कि? म त हाम्रो यो सडिएको समाजको उद्धार गरुँ भनेर लागेको। हुन त म जस्तोले के सुधार गर्छु होला र? चेलाहरुको करले १/२ वटा माङहिम, कुटी, धर्मशाला, पौवा, पाटी बनाई हिँड्छु। तीर्थ जानु मन लाग्छ र कहिलेकाहीँ यसो हिमालतर्फ गई टोपल्छु।’
उजुरसँग कुरा ठ्याक्कै नमिलेको देखी त्यहाँ हाकिम भएर गएको मानिसले निकै कड्केर सोध्यो, ‘साँचो–साँचो भन्नुहोस्।’
‘साँचो त यही हो, झुट्टो कुरा त मैले भनेको जस्तो लाग्दैन, कि कसो भन्नुपर्ने तपाईं सिकाउनुहोस् म भन्दै जान्छु। सत्य कुरा भए आत्मादेखि भन्छु, झुट्टा भए भन्दिन। कर नै लाउनु हुन्छ भने मुखले मात्र भनिदिन्छु। किनभने, सत्य सत्य नै रहन्छ, लुक्दैन, छिप्दैन, ढाँटिदैन पनि।’
तपस्वीको यस्तो बयानदेखि तिनीहरुले भने, ‘जर्साबको हजुरमा पुग्नुपर्छ।’ त्यसबेलाको धनकुटा गौंडाका बडाहाकिम माधव शमशेर जबरा हुनुहुन्थ्यो।
बडाहाकिमले प्रश्न गर्नुभयो, ‘तिमी नै हौ हिमालतिर जाने, लिम्बुवान डुल्ने?’
‘मै हुँ सरकार।’
डोरवालाले हाकिमतर्फ फर्केर यिनको बयान यस्तो छ भनी पढी वाची सुनाए। त्यसपछि फाल्गुनन्दको नाममा उजुर गर्नेलाई यिनी नै हुन् तिमीले उजुर गरेको मानिस भनी बडाहाकिमले सोद्धा थरथर काँप्दै ‘यहाँलाई त मैले चिनेकै छैन’ भने। यस्तो खालको उजुर गरेपछि सोध्दै नसोधी कोर्रा लाउँदै जेलमा हाल्छ भन्ने उजुर लाउनेहरुले सोचेका थिए। तर, तपस्वीको सौम्य प्रतापी मुहार देखेर बडाहाकिम माधव शमशेर पनि प्रभावित हुनुभयो। उल्टै अतिथि महासन्त मानेर तपस्वीलाई सिधावापत भिक्षासमेत दिएको दृश्यले उजुरी गर्ने कञ्चन गिरीले जानिन भनी पछि माफी माग्नुभयो। तपस्वीले ‘त्यस्तो बानी छोड्नु, सतकर्मीहरुको संगत लिनु, असतीहरुको संगत छोड्नु, ईश्वरले माफी दिन्छन्’ भनेर उसको चित्त बुझाइदिनुभयो।
वि.सं. १९९५ मा पान्थरको रानीटारमा सिलौटी कुटीको स्थापना भयो। जसमा महागुरुकै निर्देशनबमोजिम सेवासाबा सिद्धिनन्द फेजोङ हुनुभयो। वहाँ लिम्बुवानका विभिन्न ठाउँ गाउँ घुम्दै फिर्दै डुल्दै त्यहाँ आइपुग्दा अचानक गाईहरु कराएको बाएको शब्द सुन्नुभयो। नेपालको पश्चिम स्वर्गद्वारीका स्वामी परलोक भइसकेको हुनाले उनले पालेका गाईहरुले नुन खान नपाएको गाईहरुको शब्द सुन्दा बडो दु:खपूर्ण आवाजमा चुकचुकाउँदै निश्वास लिँदै सबैले सुन्ने गरी ‘ए काजीमान, सेरबहादुरहरु हो, स्वर्गद्वारीमा गौमाताहरुले नुन खान पाएनछन्। १७ थुममा आना, माना महिना दिनभित्रै उठाउनु’ भन्नुभयो। महिना दिनभित्र पैसा र चामल उठ्यो। ‘जम्मा १५ सय रुपैयाँ उठेको रकम गौ सेवकहरुले नुन किनी गौमाताहरुलाई खुवाउनु होला’ भन्ने व्यहोराको चिठ्ठी लेखी पठाउनुभयो।
सिलौटीमै बस्दा एक दिन चेलाभूलाहरुलाई ‘आबुला आउँदै छ है, छिटो धुप पोल’ भन्नुभयो। बाटोमा ‘हाम्रो गुरुले ढोग्यो भने ढोग्ने हो नभए नढोग्ने लिम्बु चितुवालाई’ भन्दै आउँदै थिए। आएपछि महागुरु र त्यो बाहुनबीच सेतो फूल पक्डेर झन्डै आधा घण्टा आत्माबाटै कुराकानी भएपछि त्यसले ढोग्यो। ‘यो त मान्छे होइन रहेछ’ भनेर गयो। तब महागुरुले ‘यिनीहरुले मलाई साह्रै दु:ख दियो। यिनीहरुलाई सुँगुरको मासु, जाँड, रक्सी खुवाउँछु। त्यतिबेला तिमीहरुले छोड्नु है’ भन्नुभयो।
सिलौटी धाममा नै ‘यो संसारको धनी जगतको धनी जो आउँछ, उसले उखेल्दा मात्र यो उखेलिन्छ भनेर चिन्ह छोडेको’ भन्दै भुइँमा त्रिशुल गाड्नुभयो। त्रिशुल सजिलै भासियो र तरबार भसाउँदा आधी मात्र भासियो। पछि महागुरु भुटान गएको मौका छोपी पेलुङवाले उखेल्न खोज्यो सकेन। फलाँटेको राईले उखेल्दा भाँचियो।
यसैको फेदीमा चतुरे बजार लाग्ने सानो भञ्ज्याङ चौरमा ढुंगामा त्रिशुल गाड्दा फुटी फोडेर बीचमा भएको ढुङ्गा ल्याई पूज्ने शिला बनाउनुभयो। साथै, फक्ताङलुङबाट गाईको जिब्रो भैंm जिब्रोको बीच भागमा झलमल मौसमअनुसार बल्ने ढुङ्गा ल्याउनुभएको थियो। वहाँ समाधिस्थ भएपछि त्यो चोरी भयो। यसको अभियोग ज्योतिनन्द राईलाई लाग्यो। फक्ताङलुङबाट मणि पनि ल्याउनुभएको थियो। तर, ‘तिमीहरुले थाम्न सक्दैनौ’ भनेर उतै पुर्याउनुभयो।
पान्थरको याम्बोङ गाविसस्थित हाङयोकमा पानी उमार्नुभयो। त्यस्तै सिलौटी माङहिममुनि पनि त्रिशुल गाडेर पानी उमार्नुभयो।
वि.सं. १९९७ मा तेह्रथुमको आठराई निगुरादेन माङहिम स्थापना गर्नुभयो। र, त्यहाँ चेला विश्वनाथ योङहाङलाई खटाउनुभयो। अर्को वर्ष वि.सं. १९९८ असारमा फक्ताङलुङ दर्शन गर्ने क्रममा हिमालय दर्शन गर्न हिँड्दै गरेका एकजना बालागुरु भन्ने जयदेव ब्राह्मणसँग ताप्लेजुङ मेहेलेमा भेट भयो। वास्तवमा वहाँ सिद्धपुरुष हुनुहुन्थ्यो। भेटघाटमा ज्ञानको प्रभावले महागुरुलाई चिनिहाल्नुभयो। चेलाहरुका साथ हिँड्नु भएका महागुरुलाई गुरु मानी पछ्याउनुभयो। जाँदाजाँदै काबेलीको शिर छिर्लिङ्गे ओडार नजिक चिल्लो ढुङ्गामा बस्न मन लागी बसेर माला जप गर्न लाग्नुभयो। बास त्यही भयो। भोलिपल्ट बिहान चिया पिउने समयमा वारिपारि हेरेर लयदार भाकामा एक्कासी बोल्नुभयो ‘अं… नि शिलाको लीला लिलाको शिला।’ औंलाले देखाउँदै ‘उ त्यो छाँगाभित्रपट्टि के राम्रो शिलाजस्तो देखिन्छ’ भनी बोल्नुभयो। त्यहाँ के रहेछ भनी हेर्न चेला टीकाराम तामाङलाई पठाउनुभयो। छाम्दा चिल्लो तर केही अक्षर खोपेको गुलाबी रंगको ढुङ्गा थियो। करिब ३ फिट लम्बाई र २ फिट चौडाइको लेउ छ्यापै लागेको हुनाले खोस्रने औजार र उज्यालोको आवश्यक परेको ठानी आई ‘कुनै चिल्लो ढुङ्गा छ गुरु’ भनी बताएपछि अन्य चेलाहरुसहित प्रवेश गर्नुभयो। २ वटा चकमक सिन्का र लाइटको सहाराले हेर्दै, पानी छ्याप्दै, खोस्रदै गर्दा अक्षरहरु निस्किए। अनि जस्ताको तस्तै कागजमा सार्ने काम भयो। तब महागुरुले पढ्नु भयो, ‘माङमाङ, मुङमुङ, हाङहाङ, हुङहुङ, साङसाङ, सुङसुङ, छाङछाङ, छुङछुङ।’
फक्ताङलुङ जाँदा मारुङ तेम्बेमा माङइङघङ (देववाणी) गर्नुभयो, ‘आबुलासानु फोक्वासासे मेन्छाम्गेन नाम्याप्मी थिबोङ याक्थुङ सासे किरातेश्वर सावायेत्हाङ सासे: हिनी माङनिसा, हाङनिसा, माङलुङधुङ, हाङलुङधुङ, माङचोत्लुङ हाङचोत्लुङ कत्थो लेतुङफाआङ थाङाङइल्ये नाम्इन्धे लाइन्धे येबे, नाम्धेक लाधेक पत्छेरो, नाम्साराप, लासाराप: नाम्ही लाही:, साङग्रालुङही: थोक्ते पत्छेआङ खेनहा: कुबे इक्खुङ तेसुङ, हन्दुङ थाङङाङ नेरो।’
‘मेन्छाम्गेन नाम्याप्मीसा: आबुलासानु फोक्वा सा थिबोङ याक्थुङसासे किरातेश्वर सावायेत्हाङसासे, हिनी माङनिसा हाङनिसा, माङलुङधुङ हाङलुङधुङ, माङचोत्लुङ हाङचोत्लुङ कन मारुङफुक्कु पारुङफुक्कु, युमायाक्ना थेबायाक्नाओ युक्खुङ लेतुङफाआङ थाङाङङील्ये नाम्इन्धे लाइन्धे येबे, नाम्धेक लाधेक पत्छेरो। याङमो नामसाराप लासाराप, नाम्ही लाही नु: साङग्रालुङही थोक्ते पत्छेआङ खेन कुबेइक्वाहा हन्दुङथाङ इक्खुङ तेसुङङाङ नेरो। हेक्केआङ कन मारुङतेम्बे मारुङफुक्कु, पारुङतेम्बे पारुङफुक्कु, युमाफुकु थेबाफुकु, तागेरा निङवाभूमाङ फुक्कुओ युक्खुङथाङ हेक्केसाङ निङवा मेन्दारक पोक्खेरो।’
‘तान्दिल्ये: चापाचाप्मा केलन्दी केबोक्खी से निङवा से से केलबा लत्छा लत्छा केलन्दिआङ केगोतुम्बीफाआङ कन निसा यक्खुङथाङबारो, हेक्केसाङ निङवा मेन्दारक पोक्खेरो।’ यी देववाणीहरु गर्दा वहाँले आँशु पनि झार्नुभयो।
वि.सं. १९९९ बैसाकमा टन्टलापुर घाम चर्केर खडेरी लागि उजाड भएको स्थिति थियो। पान्थर लुङरुपा रानीटार माक्लुङम्बाका भक्तहरुले पानी मागिदिन गरेको आग्रहलाई स्वीकारी पानी मागिदिनुभयो।
सोही वर्ष इलाम जितपुरको पारिगाउँमा पानी उमार्दा नै स्थापना गर्नुभएको माङहिमलाई माथि डाँडामा स्थापित गर्नुभयो। र, चेला नरप्रसाद लिङ्देन (माङदेने माइला)लाई सेवासाबामा खटाउनुभयो।
दाजु लाजहर्क र कान्छी भाउजुलाई भेट्न सोध्दै खोज्दै भोटाङको राजारुख गाउँमा पुग्नुभयो। सेतो मेख्ली लगाएका विघौतधारी हेर्दा सन्त महन्त, महात्मा, तपस्वीजस्तो भाइलाई भाउजुले चिन्नु भएन। सोधपुछपछि बल्ल चिनाजान भयो। हर्षको आँशु बगाए। दाजुको मृत्यु भएको ४ दिन भइसकेको थियो। भाउजुसँग मात्र भेट भयो। साम्दाकखोङ गाउँमा नै ल्याएर चोख्याउने कार्य गाउँमै गर्नुभयो।
गुरुको मधुर बोलिवचनले त्यहाँका बासिन्दा भोटे डुक्पाहरुसमेत प्रभावित भए। हामी पनि गुरुको दर्शन पाउँm भनी पत्र लेखीलेखी गुरुलाई गाउँगाउँमा बोलाएर ज्ञान गुणका कुरा सोध्ने, उपकार गरिमाग्ने गर्थे। गाईवस्तुको उपकारदेखि गाउँका मुद्दामामिलासमेत मिलाई माग्न आउनेको लहर बढ्दै गयो। गाउँका भोटे डुक्पा नेपाली सबै मिलेर गुरुलाई कुटीसमेत बनाइदिएका थिए। सो कुटीको माङसेवासाबा हाल पनि लिङ्देन नै छन्। त्यस ठाउँका बासिन्दाको ढिपीले गर्दा ४ महिनासम्म भोटाङमा बस्नु पर्यो।
कुटीमा बस्दा दुष्टात्माले दु:ख दिन्थ्यो। एकपटक कुटीमा चिल बस्यो। झटारोले हान्नु भन्दा हानेकाले मरेछ। बिहान त गाउँको बोक्सी मरेछ। त्यहाँ ६ महिना बस्ने विचारले जानुभएको थियो, तर यता पेलुङवा निस्केर दु:ख दियो। यसो हेर्दा नेपालमा काम बिग्रियो भनेर महागुरु चेलाहरुसहित हतारिँदै फर्किनुभयो।
वि.सं. २००१ मा काठमाण्डौमा जनरल विक्रम शमशेर जबरालाई बिरामले सताएको र उनकी श्रीमती रानीलाई थरथर काम्ने बिराम लागेको थियो। धेरै डाक्टर, वैद्यद्वारा उपचार गर्दा पनि निको नभएकाले नायव बडागुरु पं. द्वीपराजले जर्साबसमक्ष ‘पूर्वी लिम्बुवान पल्लो किरातमा एकजना तपस्वी लिम्बु ठूलागुरु छन्, उनी मानवीय उपकार–उपचार गर्न र विशेषत: वाकसिद्धि पनि छन्। वहाँलाई ल्याएर उपकार गर्दा राम्रो होला’ भने।
‘यहाँ रानी पनि त्यसरी नै लिम्बुवानको गुरु बोलाउनु पर्छ, म निको हुन्छु भन्छिन्। लौ न लिन पठाउ’ भन्ने आदेशबमोजिम एकजना प्रहरी जमदारलाई खोज्न पठाए। तपस्वी फाल्गुनन्दलाई खोज्दै सिलौटी पुगे। तर, तपस्वी हिमाल जानुभएकाले फर्के। फेरि दोस्रोपटक उही जमदार जर्नेलनीले पठाएको धुपबात्ती लिएर हिँड्यो। यसपटक तपस्वीलाई सिलौटी कुटीमा भेट्टायो। नायव बडागुरु पं. द्वीपराज र जर्साबको पत्र लिई महागुरुले बिरामबारे विवेक गर्नुभयो।
काठमाण्डौ पुगी माथिल्लो तलामा रानीलाई राखी रानीको कान्छी औंलामा धागो बाँधेर तल आफू बसी उक्त धागो छोएर जोखाना हेर्नुभयो। बिरामी विचार गर्दा पान्थरेनी यासकनी युमा साम्माङ महारानी चढेकी रहिछिन्। पूजाआजा स्वस्ती शान्ति गरी दीर्घरोग निको पारिदिनुभयो। जर्नेल आफंैले आफ्नो रोग बताउनुभयो। यज्ञसेवा शान्ति, दान दक्षिणा गरी दिएर झारफूक र अभिषेक गरी दीर्घरोग निको पार्नुभयो।
‘सत्यहाङमा तपस्वी काठमाण्डौमै बस्नोस्। माङहिम, गुठी, कुटी बनाइदिउँला’ भन्ने राणाहरुबाट आग्रह भयो। मृगस्थलीमा बस्नु भएको वहाँले आफू एक ठाउँ ढुक्क नबस्ने, लिम्बुवान घुमिघुमी धर्म प्रचार गर्ने र देश विदेश पनि भ्रमण गर्ने ध्यानी ब्रह्मचारी हुनाले अस्वीकार गर्नुभयो। बिदाइ क्रममा उपकारवापत ५०० रुपैयाँ भेटी राखी बिदा दिन खोज्दा आफूले उपकारवापत रुपैयाँ पैसा कहिल्यै लिने नगरेकाले पैसा पर्दैन भन्दा ‘बाटो खर्च लिनोस्, उब्रेको पैसा धर्म कर्ममा लगाइदिनु’ भन्ने पुन: मर्जी भएकाले एकजना चेलालाई समात्न लगाउनुभयो। सातवटा माङहिमका लागि गणेशको मूर्तिहरु ल्याउनुभयो। ‘जुन दोकानमा मन पर्छ सामान निकालेर लानु’ भन्दा ‘लाज हुन्छ है’ भन्नुभयो। तैपनि पैसा र छाप लिएर आउनुभयो।
राणाहरुले ‘हाम्रो आयु कहिलेसम्म छ’ भन्दा ‘छ, छ’ भन्नुभयो। तर, चार भञ्ज्याङ काट्दा ‘उनीहरुको हाङथरे यङबेआङ होप्लो’ भन्नुभयो। त्यसबखत बद्रिनन्द तुम्बापोलगायतका चेलाहरु साथमा हुनुहुन्थ्यो।
आफ्नो दिन नजिकिँदै आएको थाहा पाएर आफ्नो शिष्यहरुलाई बोलाएर ‘मेरा चेलाभूला छोराछोरीहरु हो, मेरो अब यो मत्र्यलोकमा बस्ने दिन धेरै छैन। दुईचार कुरा सुनिराख। माङहिम मात्र बनाएर हुँदैन। अब पाठशाला पनि बनाएर छोराछोरी सबैलाई बराबर शिक्षा दिनुपर्छ। काटेर मात्र हिंसा हुँदैन। मन दुखाउनु झन् ठूलो हिंसा हुन्छ। सत्य व्यवहार गर्नु, मनुष्य जीवन अमूल्य जीवन हो। देवताहरु पनि मनुष्य चोला मन पराउँछन्। यही जुनीमा राम्रो धर्मकर्म गर्नु। एक दिन यो जुनी छोडेर जानुपर्दा पाप र धर्मको पोका मात्र बोकेर जानुपर्छ। अबको आउने दिनमा कलि चम्केर जानेछ। सुखको दिन गयो।’
यसैको आधारमा जागो जागो भन्ने भजन बनाउनुभयो। यो मुक्ति मन्त्र थियो। ‘अब जाली, झेली छुल्याहाको दिन आउँदैछ। तँ साँढे कि म साँढे हुने, सबै ठूलठूला हुन खोज्ने बाठैबाठो हुन खोज्ने दिन आउँदैछ। त्यसो भन्दैमा तिमीहरुले धर्म छाडौला। आफ्नो स्वधर्ममा रहनु। केही गर्न नसके पनि बिहान बेलुका माङलाई सम्झेर धुपसम्म बाल्न नबिर्सिनु भन्दै सम्झाई रहनुहुन्थ्यो। तिरो बुझाएर भए पनि धर्म मान्नु।’
आफ्नो अन्तिम समय आएको थाहा पाएर वि.सं. २००५ चैतमा गैरिगाउँ माङहिमबाट मनमनै बिदा लिएर रवी पुगेर बास बस्नुभयो। आफ्नो नश्वर देहलाई हिमालमा पुर्याएर बिसर्जन गर्ने सोंच लिएर हिँडनु भएका मुहिङगुम अङसीमाङको मनको कुरा कसैले बुझेनन्। आफ्नो अन्तिम अवस्था भएको बताउनु हुन्थ्यो। हतारको कारण नबुझेका रवीका चेलाहरुले वहाँ आउनुभएको मौका छोपेर हतारहतार पूजाको सरसमान जुटाएर उभौली सेवा लगाइदिन भनी आग्रह गर्दा एक्कासी रिसाउनुभयो, ‘सेवा, सेवा, सेवा तिमीहरुको कहिल्यै नसकिने सेवा पूजा। आफैंले लगाउनु पर्छ, र पो वरदान पाइन्छ। म मरेपछि कसले लगाइदिन्छ सेवा?’ कहिल्यै नरिसाउने यसरी रिसाएको देखेर सबै जना हेराहेर गर्दै छक्क परे। आखिर सेवा गुरुले नै थाल्नुभयो। रवीको बजिरमान साम्पाङको घरमा लाधुङसेमी लगाउँदा भँवरा आयो। मेरो खबर आयो जानुपर्छ भन्दा सबै रोए। यसरी रवीमा चार दिन ढिलो भयो। त्यसबेला महागुरुले रवीमा उपदेश दिनुभयो।
सबैलाई अन्तिम आशिष दिएर चेला, गाउँ ठाउँसँग बिदा मागेर अन्तिम समयबारे केही नभनी गुरु त्यहाँबाट हिँड्नु भयो। रवीबाट उकालो लागेपछि महागुरु यही बाटो भएर आउनु हुँदैछ भनेर चाल पाउने माथिल्लो गाउँको चेलाहरुले गुरुलाई सेवा लगाइ माग्न भनी पर्खिरहेको हुन्थे। गाउँपिच्छे यसरी गुरुको बाटो रोक्न खोज्दा रिसाउनुभयो, ‘ए मुर्ख होज्ञ् मलाई नरोक न, मलाई ढिलो भयो’ एक दिन दुई दिन गर्दागदै अन्तिम दिन पनि आइपुग्यो। बाटोमा पर्ने सबै देवी देउराली, नाग, सिमे, भूमेलाई पानी फूल अक्षता चढाउँदै हतारिनुभयो।
रवीदेखि सिङहाङसम्म घोडामा गएर घोडालाई पछिल्लो जन्ममा मान्छे हुनु भनेर आशीर्वाद दिनुभयो। त्यो रात सिङहाङमा नै बास बस्नुभयो। आफ्नो नश्वर शरीरलाई हिमाल पुर्याउने समय नभएको थाहा पाएर चेला सिद्धिनन्द फेजङलाई भन्नुभयो, ‘अब सिलौटी पुगेर ठूलो सेवा लगाउनु पर्छ, तिमी अगाडि गएर धेरै दाउरा चिरिराख्नु ल, अगाडि जाऊ।’
हेल्लाङ तल सत्यरुपा फेन्जेथेप्पा खोलाको दोभानको खेतमा बास बस्दा रातभर सुत्नु भएन। मुरली बजाएर माङहरु बोलाएर कुरा गरिरहनुभयो। त्यसबेला भजन गाउनुभएको थियो। पाप र धर्मको रेलको टिकट कटाइ चलिजाउँ भन्ने भजन गाउनुभयो।
बिहान हाङयक र याम्बोङबाट चेलाहरु लिन आए। माथि जान खोज्दा तान्दै राख्दै गरे। हाङयकमा अभक्ष चीजहरु खुवाए, त्यहाँ सबै गहनाहरु दिनुभयो। रिसाएर श्राप पनि दिनुभयो। ‘अभक्ष चीज खुवायौ, पाप गर्यौ’ भन्नुभयो।
सिद्धिनन्दले गुरुको टोलीलाई छाडिराखेर अगाडि सिलौटी पुगेर धेरै दाउरा चिरिराखेका थिए। यता महागुरुलाई बाटोमै ब्यथाले छोप्यो। टाउको दुख्ने बिराम लाग्यो। तैपनि लम्कन छोड्नु भएन। आत्माले छोड्न लागेको नश्वर शरीर थाकिहाल्यो। अब हिँड्न नसक्ने भएकाले चेलाहरुले डोलीमा बोकेर लगे। लाँदालाँदै मलाई बिसाउ भन्नुभयो। चेलाहरुले बिसाए। पानी मागेर शिरमा आफै अभिषेक गर्नुभयो। मनमनै जप गरेपछि अडेस लाग्नुभयो। अडेस लिएपछि गाउँमा मान्छे बोलाउन जाऊ, मेरो लाशलाई सिलौटी पुर्याइदिनु भन्नुभयो। चेलाहरु बिह्वल भएर ‘हामीलाई एक्लै पारेर नजानुहोस् गुरु’ भन्दै रुन थाले।
‘तिमीहरु एक्लो छैनौ, सत्य सम्झ ईश्वर सदा तिमीहरुकै साथमा छ’ भन्दै ओत्कार लगाउनुभयो। महागुरुको वाक्य बन्द भयो।
वि.सं. २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा सिलौटीमुनि हाङयकमा देहान्तपछि पार्थिव शरीरलाई सिलौटी माङहिममा पुर्याएर तीन दिनसम्म राखेर टाढाटाढाका शिष्यहरुलाई खबर गरियो। तीन दिनको दिन बुधबार विधिवत ढंगले ठूलो सेवा लगाएर अन्तिम संस्कार भयो। सिलौटीको ध्वजे डाँडामा लाशलाई अग्निमा चढाउन साथ छिनभरमै जलेर गयो। धुँवाको मुस्लो बटारिएर हिमालतर्फ गयो र सिमसिमे पानी परी आगो निभ्यो।
लेखक किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष, प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख तथा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’का पूर्व निजी सचिव हुन्।
Wednesday, March 25, 2015
सन् १७७४ को नेपाल लिम्बुवान सन्धि र जनमत संग्रहको सन्दर्भ
अन्य मानिसले के कस्तो कदम चाल्छन् मलाई थाहा छैन। तर मेरो निम्ति कि त स्वतन्त्रता देऊ कि त मृत्यु।’ - पेट्रिक हेनरी
विश्व इतिहासको युद्धमा परास्त नभएका र आफ्नो सार्वभौमसत्ता नगुमाएका देशहरुमा लिम्बुवान पनि एक हो। किनकि नेपालका राजा पृथ्वीनारायण शाहले लिम्बुवानमाथि पटक -पटक आक्रमण गरे।
वीर लिम्बुवानवासीले ती सवै आक्रमणलाई विफल पारिदिए। अन्ततः ६ अगष्ट १७७४ मा पृथ्वीनारायण शाह तत्कालीन लिम्बुवानका राजाहरु सुन लिम्बु, कुम लिम्बु एवं जंग लिम्बुसँग सन्धि गर्न बाध्य भए। उक्त सन्धिमा लिम्बुवानलाई सहराज्यको मर्यादा र लिम्बुवानवासीलाई नेपालका राजाको सगोत्रीको उपाधि प्रदान गरियो। जुन बेला लिम्बुवान नेपालमा प्रविष्ट भयो, त्यसवेला यसको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा अरुण नदी / सप्तकोशी नदी, उत्तरमा हिमालय (तिब्बत) र दक्षिणमा मुगलान (भारत) सम्म विस्तृत थियो। साथै तिनताका लिम्बुवानमा १७ वटा राजनैतिक तथा प्रशासनिक थुम -जनपद) हरु थिए। ती हुन् - चारखोला थुम, आठराई थुम, छथर थुम, याङरुप थुम, पाँचथर थुम, मेवाखोला थुम, तमोरखोला थुम, फाक्फोक थुम, दशमझिया थुम, पाँचखपन थुन, सभायाउत्तर थुम, मोरङ थुम, चौबीसे थुम, ताजेःलुङ थुम।वीर नेम्बाङ यद्यपि सन् १८१४ को ब्रिटिश इण्डिया- नेपाल युद्धमा ब्रिटिश इण्डियाद्धारा नेपाल परास्त भयो। फलतः २ दिसम्बर १८१५ को सुगौलीको सन्धिमा सुक्खिम थुम र ताजेःलुङ थुमलाई नेपालले ब्रिटिश इण्डियालाई सुम्पियो। १० फेब्रुअरी, १८१७ को तितलियाको सन्धिमा उपर्युक्त भू-भागलाई ब्रिटिस इण्डियाद्धारा सिक्किमलाई प्रदान गरियो। त्यसपछि १ फेब्रुअरी, १८३५ मा सिक्किमले सुक्खिम थुमलाई आफूसँग राखी ताजेःलुङ थुमलाई चाहिँ ब्रिटिश इण्डियालाई दान दिए। सन् १९९२ को नेपालको राजनैतिक तथा प्रशासनिक संरचना अनुसार हाल मूलभूमि लिम्बुवानको रुपमा मेची अञ्चलको झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्ला र कोशी अञ्चलको संखुवासभा, तेह्रथुम, धनकुटा,सुनसरी र मोरङ जिल्लालाई मानिन्छ। सन् २००१ को नेपालको जनगणना अनुसार लिम्बुवानको जनसंख्या ३२१५३१५ र यसको क्षेत्रफल १६३५८ वर्ग किलोमिटर रहेको छ। इतिहासतः सन् १७८२ लिम्बुवानवासीलाई सन् १७७४ को नेपाल -लिम्बुवान सन्धि प्रदत्त सहराज्यको मर्यादाबाट मुक्त पारिए र तिनलाई अमाल प्रशासन र किपट व्यवस्था जस्तो सीमित अधिकार तथा सुविधा मात्र उपभोग गर्न दिइयो। यसै क्रममा लिम्बुवानवासीलाई सन् १९६२ मा अमाल प्रशासन र सन् १९६७ मा किपट व्यवस्थाको अधिकार तथा सुविधाबाट पनि बञ्चित गरियो। यति मात्र होइन् सन् १९७१ को राजा वीरेन्द्रको राज्यभिषेकमा बलात् लिम्बुवानवासीलाई शुद्र (अछूत) को प्रतिनिधित्व गराइयो। र लिम्बुवानवासी शूद्र भएको कारण देखाई उनीहरुलाई नेपालका राजाको सगोत्रीय हुन पनि अयोग्य ठहर्याइयो। यद्यपि सन् १७७४ को नेपाल- लिम्बुवान सन्धि निलम्बन गरिएको थिएन। उक्त सन्धि सजीव नै थियो। यस्तो कानुनी अवस्थामा २० दिसेम्बर, १९८६ मा लिम्बुवानमा लिम्बुवान मुक्ति मोर्चा नामक एक राजनीतिक संगठन स्थापना भयो। मोर्चाले तत्कालीन राजा वीरेन्द्रसंग लिम्बुवानवासीलाई लिम्बुवान स्वायत्तता प्रदान गर्नुका साथै सन् १७७४ को नेपाल -लिम्बुवान सन्धिको पनि नवीकरण गरियोस् भनी जोरदार माग गर्यो। अपितु राजाबाट यो मागको कुनै सुनुवाई भएन। यसको अलावा लिम्बुवान मुक्ति मोर्चाले सन. १९९० मा पुनस्थापित बहुदलीय प्रजातन्त्र सरकारलाई पनि लिम्बुवान स्वयत्तता मागबारे ध्यानकर्षण नगराएको कदापि होइन अपितु तिनको पनि यो मागप्रति कुनै चासो देखाएनन्। १ जुन, २००१ मा राजा वीरेन्द्रको हत्या भयो। यसको लगतै ४ जुनमा उनका भाई ज्ञानेन्द्र नेपालका राजा भए। र १ फेब्रअरी, २००५ मा उनले एक शाही घोषणा मार्फत प्रत्यक्ष शासन गर्न थाले। लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको हैसियतले मैले उसैलाई सन् १९७४ को नेपाल -लिम्बुवान सन्धिको नवीकरण गर्नुका साथै लिम्बुवान स्वायत्ताको आधारशीला राखियोस भनी विनम्रता पूर्वक आग्रह गरे। किनकी त्यस बेला उनमा नै सम्पूर्ण राजकीय अधिकार अन्तर्निहित थियो। किन्तु राजा ज्ञानेन्द्र यो मेरो आग्रहको सुनुवाई गर्नुको साटो स्वायत्तताको मेरुदण्ड मानिने बहुदलीय प्रजातन्त्रकै हत्या गर्न उद्यत भए। जब मैले राजा ज्ञानेन्द्रलाई सन् १७७४ को नेपाल -लिम्बुवान सन्धिको नवीकरण नगर्नुको साथै लिम्बुवान स्वायत्तताको आधारशीला राखियोस् भनी गरेको आग्रहबारे जन्मजात लिम्बुवान मुक्ति मोर्चा र लिम्बुवान स्वायत्तता विरोधीहरुले थाहा पाए। तब तिनीहरु जसरी हुन्छ, मलाई दरबारियाको लाञ्छाना लगाए। वस्तुतः तिनीहरु नै यो वा त्यो रुपमा दरबारिया रहेको तथ्य मलाई प्राप्त भएको छ। समय आएपछि त्यसलाई सार्वजनिक गर्ने नै छु। यसै वीच ७ अप्रेलदेखि २४ अप्रेल, २००६ मा भएको आन्दोलन मार्फत राजा ज्ञानेन्द्रलाई सम्पूर्ण राजकीय अधिकारबाट मुक्ति पारिए। यसपछि कानूनतः सन् १७७४ को नेपाल-लिम्बुवान सन्धि निर्जीव हुनुका साथै नेपाल र लिम्बुवान पनि विभाजित भयो। किनभने यही सन्धिको आधारमा आजपर्यन्त लिम्बुवान नेपाल अन्तर्गत रहि आएको हो। यसरी सन् १७७४ को नेपाल -लिम्बुवान सन्धि निर्जीव र नेपाल र लिम्बुवान विभाजित भएको खण्डमा म्बुवानको राष्ट्रिय पहिचानलाई प्रत्याभूति दिनु जरुरी थियो। र २२ जनवरी, २००७ मा लिम्बुवान मुक्ति मोर्चाले नेपाल सरकारसंग लिम्बुवानवासी नेपाल र लिम्बुवानलाई विभाजन गर्न चाहन्छन् या चाहँदैनन् भनी लिम्बुवानमा जनमत संग्रह गराइयोस् भनी माग गरेको छ। किन भने आफ्नो मातृभूमि लिम्बुवानको भविष्यवारे निर्णय गर्ने भन्ने सार्वभौमसत्ता लिम्बुवानवासीमा अन्तर्निहित छ। यस सन्दर्भमा यहाँ जनमत संग्रह गराउँदा र नगराउँदाको अन्तर्राष्ट्रिय अनुभवलाई उल्लेख गर्दा कदाचित् असान्दर्भिक नहोला। किनकि क्युबेकवासी विभाजन गर्न चाहन्छन् या चाहँदैनन् भनी क्युबेकमा दुई पल्ट जनमत संग्रह गराइयो। दुवै पल्टको जनमत संग्रहमा क्युबेकवासीले क्यानडा र क्युबेकलाई विभाजन गर्न चाहेनन्। जबकि तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मिरमा जनमत संग्रह गराउने बचनबद्धता जाहेर गरेका थिए। परन्तु भारतले त्यहाँ जनमत संग्रह नगराइ शासन गर्दा आज कश्मिरमा थकतावादले घर गरेको छ। यसबाट के प्रमाणित हुन्छ भने जनमत संग्रह गराउँदैमा कुनै पनि राष्ट्र विभाजित भई हाल्ने र जनमत संग्रह नगराउँदैमा कुनै पनि राष्ट्र अविभाजित रुपमा नै नहरने रहेछ। जहाँसम्म सन् १७७४ को नेपाल-लिम्बुवान सन्धिको नवीकरण र अनुमोदनको प्रश्न छ, अबोप्रान्त उक्त सन्धिको वीकरण गर्ने हैसियत राजसंस्थाले राख्दैन। उता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले अनृमोदन गर्लान् भनौं भने यो तिनको क्षेत्राधिकारमा पर्दैन। किनकि सन् १७७४ को नेपाल -लिम्बुवान सन्धि र्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग सम्बन्धित नभई राजसंस्थासँग सम्बन्धित छ। यस सन्दर्भमा साँच्चि नै लिम्बुवानको राष्ट्रिय पहिचानलाई प्रत्याभूति दिने हो भने यहाँ जनमत संग्रह गराउनुको विकल्प छैन। कथकदाचित जनमत संगमत नै नगराई शासन गरिएको खण्डमा राष्ट्रिय -अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले लिम्बुवानमा औपनिवेशिक रुपमा शासन गरेको छ भन्ने सन्देश प्रवाहित हुने छ। साथै यहाँ पनि पृथकतावादको बीजारोपण हुने प्रायः निश्चित छ।
Thursday, March 19, 2015
मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन
वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो। बुबा जगुनबाज र आमा हंसमति बेघा लिम्बुको कोखबाट साइँला छोराको रुपमा सामान्य किसान परिवारमा जन्मिएका सो बालक गर्भमा रहँदा आमाले मदमंस खाए अस्वस्थ हुने, सपना बिग्रिनेजस्ता लक्षणहरु हुँदै आए पनि त्यसतर्फ कुनै ध्यान दिइएको थिएन। बालक जन्मेपछि सुत्केरीलाई कुखुराको मासु र जाँड खुवाउनाले शिशुले आमाको स्तनपान गर्नु भएन। जन्मेको ३/४ घण्टासम्म नरुने, आमाको दूध चुस्न पनि नमान्ने भएपछि भोकले मर्ला भन्ने डरले जबरजस्ती स्तनपान गराउन खोज्दा आमाको स्तनमा खटिरा उत्पन्न हुनाले दूध चुसाइएन। तथापि, सोही घरमा चार दिनअघि ब्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालनपोषण गयो।Phalgunanda

Subscribe to:
Posts (Atom)
११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल
मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...
-
आध्यात्मिक र भौतिकबाट मुन्धुम मुन्धुम् र भौतिकवादी दृष्टिकोण मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार सं...
-
वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो। बुबा जगुनबाज र आमा ह...
-
लिम्बूजातीको बाजा ‘के’ (च्याब्रुङ) उत्पती र नाच गोविन्द आङबुहाङ । प्राचिन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो...