Wednesday, August 20, 2014


गोबध नगर्न लालमोहर
–राजकुमार दिक्पाल


         सरकारको स्वास्थ्य मन्त्री रहदा पद्मरत्न तुलाधरले “गाई काट्ने” बिषयका कुरा गर्दा त्यसबेला एमालेको अल्पमतको सरकारविरुद्ध जनमत तयार पार्न विपक्षी र खासगरी हिन्दु धर्मावलम्बीहरुलाई ठूलो मसला प्राप्त भएको थियो । त्यसो त गाईलाई नेपालको अन्तरिम संविधान २०६३ ले राष्ट्रिय जनावर मानिसकेको अवस्था छ । गाईलाई राष्ट्रिय जनावर बनाइनु हँुदैन भन्ने बहस पनि तातो रुपमा चलिरहेकै छ । 

गाईको सन्दर्भ कोट्याउँदा नेपालका अहिले आफूलाई आदिवासी जनजाति भन्ने सबैजसो जाति गोभक्षक थिए भन्ने पुष्टि हुन्छ । उनीहरुले पृथ्वीनारायण शाहले राज्यविस्तार अभियान थाल्नुअघि मात्रै होइन, उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहले शासन चलाउँदा समेत नेपालका आदिवासी जनजातिहरुले निर्वाध रुपमा गाईको मासु उपभोग गरेको इतिहास पाउन सकिन्छ । बरु रणबहादुर शाहको पालामा पूर्वमा शान्ति स्थापनार्थ लिम्बु सुब्बाहरुलाई एक लालमोहर पठाउँदा गाईको मासु खाएकोमा क्षमदान दिएको र अब उप्रान्त गाईको मासु नखान उर्दी जारी गरेको पाइन्छ । त्यसैले सनातनी परम्पराअनुसार नेपालमा गाईको मासु प्रचलनमा थिएन भन्ने कुरामा कुनै तर्क छैन । 

विभिन्न राज्यहरु गोरखा राज्यमा गाभिएपछि क्रमश गाईको वध गर्न प्रतिबन्ध लगाउन थालियो । खासगरी गिर्वाणयुद्ध विक्रम शाहको पालामा ऐन नै बनाएर गोवध नगर्न आदेश जारी गरियो । इतिहासकार महेशचन्द्र रेग्मीद्वारा सञ्चालित रेग्मी रिसर्च सेन्टरको रेग्मी रिसर्च कलेक्सनको भोल्युम ४० (पृष्ठ १६५—६८) अनुसार शिवराज, काशीराम, ऋषि पाध्यको नामका एक आदेश जारी गरी तामाकोशीदेखि टिष्टासम्मको पहाडी भागमा लागू हुने गरी गोवध प्रतिबन्ध गर्न उनीहरुलाई खटाइयो । त्यसबेला भीमसेन थापा सर्वेसर्वा अधिनायक थिए भने गिर्वाणयुद्ध विक्रम शाह बालक राजा ।

त्यसबेला गोवध गर्नेलाई कडा दण्ड जरिवाना तोकिएको थियो । गोवध गर्ने मात्रै होइन, गोवध गर्न सघाउने र गोवध गर्नका लागि गाई वा गोरु बेच्नेलाई समेत दण्ड जरिवानाको सजाय तोकिएको थियो भने गोवध गर्न सघाउने र वधका लागि गाई वा गोरु बेच्नेलाई सजाय दिन र उनीहरुबाट दण्ड जरिवाना अमालीबाट उठाउने व्यवस्था गरिएको थियो ।
सम्वत १९६६ पुस बदी ९ मा जारी गरिएको यस आदेशमा गोवध गर्नेलाई ज्यान सजायको व्यवस्था गरिएको छ । यस्तै गोवधका लागि सघाउनेलाई ५० रुपैयाँ जरिवाना अनि यदि गाईको मासु वितरण गरेको पाइएमा २० रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी यदि वध गरिएको गाई वा गोरु कसैले बिक्रीवितरण गरेको छ भने त्यस व्यक्तिलाई तीन रुपैयाँ जरिवाना तोकिएको थियो, त्यसबेलाको सरकारी आदेशमा । रेग्मी रिसर्च सेन्टरको भोल्युम छ (पृष्ठ ६६३—६५) अनुसार यसअघि नै १८६२ मार्ग बदी ९मा सोलु, खुम्बु र चाँखुमा गोवध नगर्न आदेश जारी गरिसकिएको थियो । त्यसबेला गोवध नगर्न मात्रै होइन, सिनो भन्दै विभिन्न मरेको चौपाया समेत नखान भोटे, राई, माझी, मुर्मी (तामाङ) जातिलाई १८७४ बदी ४ (रेग्मी रिसर्च सेन्टर, भोल्यूम ४३ पृष्ठ ६ र ७ ), गुरुङ जातिलाई १८६७ बदी १२ मा (रेग्मी रिसर्च सेन्टर भोल्यूम ३८ पृष्ठ ६९६—९७) र चेपाङ, सुनुवार, हायु, पहरी, बरामु र थान्सी जातिलाई १८६२ मा आदेश जारी गरी गोवध नगर्न आदेश दिइएको थियो (रेग्मी रिसर्च सेन्टर भोल्युम ६ पृष्ठ १८०) ।

रेग्मी रिसर्च सेन्टरकै भोल्युम ३९को पृष्ठ ३१२—१३ अनुसार प्यूठानमा पनि गोवध नगर्न र सिनो नखान १८६७ साउन सुदि ७ मा आदेश जारी गरिएको थियो । त्यहाँ सिनो खाने प्रति घरपरिवारलाई आर्थिक जरिवाना तोकिएको थियो । प्यूठानका खटिएका काजी रेवन्त कुँवरले सिनो खाने प्रति घरपरिवार डेढ रुपैयाँ सजाय तोकि दिएका दिए। यस्तै सुवेदार रतनसिंह थापाले सिनो खाने प्रति घरपरिवार आठ आनाको दरले सजाय तोकेर तीन हजार परिवारबाट एक हजार पाँच सय रुपैयाँ जरिवाना दस्तुर सङ्कलन गरेका थिए । 
यसअघि नै लिम्बु जातिमा गोवध नगर्न रणबहादुर शाहले प्रतिबन्ध लगाइसकेका थिए । उनले १६ जना लिम्बु सुब्बाहरुको नाममा यस्तो आदेश जारी गरेका थिए । यसरी जारी गरिएको आदेश अर्थात् लालमोहरको सक्कल प्रति दार्जिलिङनिवासी साहित्यकार विरही काँइलाले सुरक्षित राखेका छन् । यो लालमोहरको फोटोकपि चाहिँ ललितपुरको तिखेदेवलनिवासी किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रशासक मञ्जुलकुमार याक्थुङसँग रहेको छ । 

लिम्बुहरुलाई तत्कालिन राजाद्वारा दिइएको सक्कली लालमोहरमध्ये यो सबैभन्दा पुरानो हो । यो लालमोहरको ब्यहोरा शिवकुमार श्रेष्ठले आफ्नो पुस्तक लिम्बुवानको ऐतिहासिक अध्ययनको दोस्रो संस्करण(२०५२ पृष्ठ १३६ र १३७)मा उल्लेख गरेका छन् भने दुर्गाहाङ याक्खा राईले आफ्नो पुस्तक ब्राह्मणवादविरुद्ध जनजाति+उत्पिडीत वर्ग(२०५३)को पृष्ठ ३४८मा यसको प्रयोग गरेका छन् । राजेन्द्रविक्रम शाहको पालाको बाहेक अन्य लालमोहरको छायाँप्रति हालसम्म प्रकाशमा आएको छैन । ती सबै जसो लालमोहर हातले सारेर राखेको अवस्थामा छन् ।

१८४३को जेठ सुदि २ सोमबार जारी गरेको यस लालमोहरमा रणबहादुर शाहले लिम्बु सुब्बाहरु देवपति राय, थामावु राय, बहीनामसा राय, फेन्दुवा राय, शाभामुधा राय, थेबेसिंह राय, जसमुखा राय, गोथिम राय, सां राय, नामसाहाङ राय, इगुमसेदी राय, पोतवा राय, ओङ्देवा राय, फावोहांग्या राय, यंवा राय, षिंभिदिंग राय, पातलुवा रायको नाममा यो लालमोहर जारी गरेका हुन् ।
यस लालमोहरमा हिजो सिमापारि बसेर लुटपिट गरेको र गोवध गरेको माफी दिएको उल्लेख गर्दै अब उप्रान्त गोवध नगर्नू भनी आदेश दिइएको छ । यस्तै आफ्नो खायन पायन सम्हाल्न आऊ भनी यस लालमोहरमा लेखिएको छ ।

शाह राजाहरुले लिम्बु जातिमा जारी गरेको सबैभन्दा पुरानो लालमोहर नै यहीँ हो । यसअघिका लालमोहरहरु सारेर राखिएका अवस्थामा प्राप्त भएका हुन् । 
यी लालमोहर वा आदेशबाट केही स्पष्ट हुन्छ भने नेपालमा प्रायःजसो आदिवासी जनजातिहरु गोभक्षक थिए । उनीहरु गोरखा राज्यमा बिलीन हुन पुगेपछि वा गोरखाली शाह राजाहरुको शासन स्वीकार गरेपछि गाई खान वा गोहत्या गर्न छाडेका हुन् भन्ने स्पष्ट हुन आउँछ । ०
स्रोतः 
चुम्लुङहिम अभिलेख, 
प्रथम संस्करणः २०६९
प्रकाशकः किरात याक्थुङ चुम्लुङ 
जिल्ला कार्यसमिति ललितपुर

No comments:

Post a Comment

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...