एकछिनलाई भारतले भनेकै ‘नक्कली काली’लाई काली भनेर मान्दा पनि उसले बेइमानी गरेको देखिन्छ । सन्धिमा नदीलाई सीमा मानिएकाले उसले जुनलाई मन लाग्यो त्यसैलाई काली नदी मान्दै आएको छ ।
तर, १८७९ को नक्सामा भने नदी होइन डाँडालाई नक्कली सीमानामा कायम गर्न खोजिएको छ । लिपुलेकबाट ब्यासऋषि हिमालतर्फ सिमाना सारेर नक्सा बनाएको देखिन्छ । (हेर्नुस् लिपुलेकबाट तल डाँडै डाँडा झारेको नक्सा) पछिल्लो पटक देखिएको सीमा विवादको जड पनि यही नै हो ।
त्यति मात्रै होइन, माथिको नक्सामा काली नदीको नाम समेत फेरेर कुटियाङदी लेखिएको छ । जब कि स्थानीय व्यासी र सौका भाषामा कुटि भनेको काली र याङदी भनेको नदी हो । अर्थात कुटियाङदी भन्नुको अर्थ पनि काली नदी नै हो ।
माथिको नक्सामा लिपु खोलालाई नक्कली नाम दिएर काली नदी बनाइएको छ । र, सुगौली सन्धिले प्रष्टरुपमा दुई देशको सीमा भनेर उल्लेख गरेको काली नदीलाई भारतभित्र पारिएको छ ।
सन् १९६७ मा बेलायतले निकालेको नक्सामा कालापानी स्पष्ट रुपमा नेपाल भित्रै देखिन्छ
लिपुखोला किनारमा भारतले सात वटा क्याम्प राखेको देखिन्छ । जसमध्ये तीनवटा (नक्सामा ५, ६ र ७) नेपालको भूमिमा राखिएका छन् । क्याम्प १, २, ३ र ४ भने लिपुखोला पारी देखिन्छ । ती चारवटा क्याम्प लिम्पियाधुराविनाको नेपालको नक्सा अनुसार भारततिर परेको देखिन्छ ।
सर्वे अफ इन्डियाले भर्खरै निकालेको नक्सामा लिपु खोला भन्दा यताको भूभाग भारतमा पारिएको छ । उसले कालापानी क्षेत्रको तुरतुरे धारालाई नक्कली काली नदीका रुपमा व्याख्या गर्ने गरेको छ ।
भारतले पश्चिम नेपालको सिमाना कसरी बंग्यायो भन्ने सन् १८३५ र २०१९ मा प्रकाशित यो नक्सामा हेर्दा प्रस्ट हुन्छ ।
सुगौली सन्धिपछि नेपालले काली नदी पश्चिम कुमाउँ, गढवाल तथा सतलज नदीको पश्चिम कांगडा, र तराईको ठूलो भाग सहित एक तिहाई भूभाग गुमायो । त्यसपछिको तीन कालखण्डको पश्चिमी सीमा माथिको नक्सामा देख्न सकिन्छ ।
सन् १८१६–१८५० सम्मको लिम्पियाधुरा सहितको सिमाना, १८५०–१८७९ सम्मको कालापानी सहितको सिमाना र त्यसयताको कालापानी विनाको सिमाना ।
सुगौली सन्धिलाई मान्ने कि नमान्ने ?
सबै नक्साहरू हेर्दा भन्न सकिन्छ, सुगौली सन्धिमा उल्लेख भएको काली नदीको मुहान लिम्पियाधुरा नै हो । गुन्जी, कुटी, गब्र्याङमा २०१८ सालमा पनि नेपालले जनगणना गरेको, जग्गाको तिरो तिरेको, राष्ट्रिय पञ्चायत चुनावमा भाग लिएको जस्ता प्रमाणहरूले पनि सीमा कुटियाङदी भनिने काली नदी हो भन्ने प्रस्ट छ ।
भारतले काली नदीको नाम तीनपटक परिवर्तन गरेको छ । शुरुमा लिम्पियाधुराबाट आएको वास्तविक काली नदी, दोस्रो लिपुपासबाट आएको लिपुखोला र तेस्रो कालापानीमाथि एउटा मन्दिर बनाएर त्यहाँबाट बग्ने तुरतुरे पानीलाई भनिएको काली नदी भारतले बनाएको सन् १८७९ को नक्सामा त्यो तुरतुरे पानी बग्ने काली भन्दा पनि यता च्यापेर ब्यास हिमालसम्म नक्सा बनाएको देखिन्छ । सर्बे अफ इन्डियाले अहिले जारी गरेको नक्सामा पनि काली नदी भनेको लिम्पियाधुराबाटै बग्ने नदी हो भन्ने प्रस्ष्ट देखिन्छ । काली नदी कुन हो भन्नेमा थाहा भएर वा नभएर उनीहरू पनि अस्पष्ट देखिन्छ । तर, तीन–तीन पटक फरक–फरक सिमानामा प्रयोग गरेको देखिन्छ ।
लिपुखोला दोभानदेखि लिपुलेक भारतीय सेनाका सात क्याम्प राखेको देखिन्छ । त्यसमध्ये कालापानीमा राखेको क्याम्प नेपाली भूमिमै छन् । पारिबाट बाटो खन्न गाह्रो भएपछि उनीहरूले पुल बनाएर नेपालतर्फ आएको हो कि जस्तो देखिन्छ ।
भारत–चीन युद्धका बेलामा उनीहरूले अस्थायी रुपमा प्रयोग गर्न खोजेको हो कि जस्तो देखिन्छ । कतिपयले राजा महेन्द्रले त्यहाँ अस्थायी रुपमा बस्न दिएको बताउँछन् । पछि हटाउन सकेन । आधिकारिक रुपमा भने बस्न दिएको वा नदिएको भन्ने केही खुलेको छैन ।
तर, नेपालको आधिकारिक नक्सा हेर्दा लिपुखोला पूर्वका सम्पूर्ण भूभाग नेपालकै देखिन्छ । त्यसमा विवाद गरिरहनु आवश्यक देखिन्न । अस्थायीरुपमा बसेको क्याम्पबाट भारतीय सेना नहटेकाले समस्या देखिएको हो ।
लिपुखोला पूर्वको क्षेत्र पनि आफ्नो भूमि हुन्थ्यो भने त लिपुपास जानेबाटो पूर्वबाटै लैजान्थ्यो होला । कालापानीमा पूर्व ल्याएर बाँकी लामो बाटो पारिबाटै लगेको छ । अर्थात उसले काली नदी भन्ने गरेको लिपुखोलालाई नै काली एकछिनलाई काली मान्दा पनि त्यो खोला भन्दा पूर्व उसको भूभाग हुँदै होइन । सम्पूर्ण कालापानी क्षेत्र नेपालकै हो ।
त्यति मात्रै होइन, सुगौली सन्धि अनुसार गुन्जी, नावी र कुटी पनि नेपाल हो । सन्धि मान्ने हो भने ब्यास ऋषिको डाँडैडाँडा सीमा कोरेर हुँदैन । भारतले यो सन्धि मान्दैन भने टिस्टादेखि काँगडासम्म नेपालकै हुन्छ ।
No comments:
Post a Comment