मेन्निमाङ, मेन्धामाङ, सेक्खामाङ, आनुमाङ, मुजोत्लुङ, खेजोत्लुङ, माङलिङ, माङगेप्माङ, माङओप्मामाङ सेवारो।
श्रद्धालु भक्तप्रेमी, संसारमा रहनुभएका किरात धर्मावलम्बीहरु, उपस्थित हुनुभएका मान्यजन, मञ्चमा आसिन अतिथि र पत्रकार मित्रहरु।
आजको दिन रमाइलो र खुशीको दिन, हामी यो महान् कार्यमा हामी भेला भएका छौं। यहाँ भेला हुनुभएकोमा हामी कुलको तर्फबाट तपाईहरु र विश्वमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरुलाई यसै सञ्चार माध्यमबाट धन्यवाद दिन चाहन्छौं।
हामी संसारको विभिन्न कुनाकाप्चामा पुगेका छौं। त्यहाँ रहनुभएका भक्तजनहरुले सञ्चार माध्यमबाट मेरो सन्देश सुन्दै हुनुहुन्छ। मेरो चाहना पनि यही हो। हामीले यस लोकमा जन्मेपछि केही न केही त गर्नै पर्छ। तपाईहरुलाई सधैं भन्ने गरेको छु, विश्वको धर्ममध्ये किरात धर्म पनि एक हो। मेरो प्रवचन विश्वका धर्मावलम्बी तथा विश्वका अन्य धर्मका धर्मगुरुहरुले पनि सुनिरहनुभएको छ। हिन्दु, मुस्लिम, क्रिश्चियन धर्मका धर्मगुरुहरुले मेरो यो वचन सुनिरहनुभएको छ।
विश्वमा धर्म अन्त्यतै महान् हुन्छ। मानिस जन्मेपछि धर्म, ज्ञान, शिक्षाको आवश्यकता पर्छ। त्यसैले सय वर्षअघि यसै थलोमा महागुरु फाल्गुनन्दले जन्म लिनुभयो। नेपालको पूर्व खण्ड भनौं इलाममा धेरै महापुरुषहरु जन्मिनुभएको छ।
संसारमा जब जब पाप बढ्दै जान्छ तब धर्मको जन्म हुन्छ। अहिले संसारमा धर्मभन्दा पाप बढी छ। त्यसैले किरात धर्म पनि जन्मेको छ। धर्मले पापलाई धुने गर्दछ। धर्मलाई साबुन र पापलाई मैलो सम्झिनु पर्दछ। त्यसैले पापलाई धुनु धर्मको आवश्यकता पर्दछ। विश्वको कुनाकाप्चामा विभिन्न धर्महरु आफ्नो अस्तित्वमा रहेका छन्। त्यो साबुनले त्यो पापलाई धुन्छ। मान्छे भएपछि पाप त अलिकति गरेकै हुन्छन्। बोल्दा, हिँड्दा झुटो बोलेकै हुन्छौं। ढाँट पनि गरेकै हुन्छौं। कपट पनि गरेकै हुन्छौं। छलकपट हुँदै गएपछि पाप बढ्छ। त्यही पापलाई धुने धर्म हो।
धर्मले सधैं शान्तिको बाटोमा डोर्याउँछ। डाँडाको टुप्पोमा पुगेपछि हाम्रो शरीरमा आफैं आनन्द आउँछ, शान्ति भन्ने त्यस्तो चीज हो। त्यो आनन्द नै धर्मको एउटा स्वरुप हो। संसारमा हामी एकछिन जन्मेका छौं। एकछिन मीठो खान, मीठो बोल्न, रमाइलो गर्न जन्मेका छौं। रमाइलो, दु:ख, सुख, तीतामीठा सबै भोग्न जन्मेका छौं। आनन्द भन्ने चीजले, शान्ति भन्ने कुराले त्यो दु:ख, सुख, तीतामीठाहरु सबै निवारण गर्दछ। त्यसैले आनन्दमय जीवन बिताउनु पर्दछ। हामीले एक दिन त हाम्रो प्राण छोड्न पर्छ। माया, मोह, प्रेम, इष्टमित्र, दाजुभाइ, बन्धु सबै पृथ्वीमा छाडेर एक दिन हामी वहाँको लोकमा जानु पर्दछ। वहाँको लोकमा जाँदाखेरी यस लोकदेखि अर्को लोकमा हामी जान्छौं। त्यहाँ जाँदा धर्म गरेका थियौं भने धर्मकै फल पाइन्छ। पाप गरेका थियौं भने पापकै कर्म भोग्नु पर्दछ। त्यस कारण पापको खाडीभित्र पस्नुभन्दा धर्म नै गरेर जाऔं। म यो कुरा अनुरोध गर्न चाहन्छु।
संसारमा मान्छेहरु धेरै बढिसकेका छन्। त्यस कारण पाप ज्यादा हुन्छ। मान्छेको लोभ बढ्छ। पाप बढ्छ। महत्त्वकांक्षी भइन्छ। पापका साथसाथै अहंकार हुन्छ। हामीका क्रोध आउँछ। रीसराग जन्मिन्छ। त्यो रीसरागले नै हाम्रो जीवनलाई खत्तम गर्ने हो। त्यसैले तपाईहरुले रीसरागलाई कम गर्नु पर्दछ। हाम्रो दिमागभित्र नराम्रा भावनाहरु आउँछन्। त्यसलाई हटाउनु पर्दछ। हाम्रो आत्माभित्र नराम्रो चीजहरु घुसेर नराम्रो कर्म गर्न लगाउँछ। त्यसलाई हटाउने, हाम्रो दिमागलाई धुने, सबै साथीभाइमा प्रेम, सद्भाव राख्ने गर्नु पर्दछ। म यही कुरा तपाईहरुसँग आह्वान गर्न चाहन्छु।
मेरो चाहिँ चिन्तन के छ भने विश्वमा हिंसा नहोस्। शान्ति होस्। हामी प्राणीहरु सबै शान्तिसँग बाँच्न पाऔं। यही कामना छ। मैले सधैं तपाईहरुलाई भन्ने गरेको छु। संसारमा डाक्टर, औषधिले नसक्ने विभिन्न रोगव्याधीहरु आउँदैछ। त्यो रोगव्याधीबाट बच्न मदिरापान, धूम्रपान, चुरोट, खैनीको कुलतमा फस्न छाड्नु पर्दछ। यसो गरे तपाईहरुको जीवन सुन्दर हुन्छ। मान्छेहरुले विभिन्न चीजहरु सेवन गर्न थालेका छौं। हामीले नखाइ नहुने त खाना मात्रै हो। त्यसैले शुद्ध खाना खाऔं। शाकाहारी खाना खाऔं। सबैसँग मेलमिलाप गरौं। सत्यको बाटोमा हिँडौं। सत्यको नियममा हिँडौं। यही कुरा तपाईहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु।
यो ब्रह्माण्ड, मुन्धुमी भाषामा चाहिँ पोरोप्मीमाङ, यम्भाप्मीमाङ, मेन्निमाङ, मेन्धामाङ भन्छौं। यो ब्रह्माण्डमा दिनहुँ प्रलय हुन्छ। दिनहुँ सृष्टि हुन्छ। त्यहाँ एउटा भिन्नै संसार छ। हामीलाई शंका के लागेको छ भने यो पृथ्वी नै उडिगयो भने त हाम्रो अमनचैन गर्ने ठाउँ हराउँछ। हामी पनि हराउँछौं। यसमा मलाई चिन्ता लागेको छ। वैज्ञानिकहरुको संस्था नासाले एउटा भविष्यवाणी गरेको छ। यही पुस अन्तिममा ६ दिन पृथ्वीमा रात पर्ने बताएको छ। त्यो विभिन्न सञ्चार माध्यममा आएको छ। हिजो एउटा यान छाडेको छ। मंगल ग्रहमा पठाएको छ। पृथ्वीभन्दा ७ गुणा ठूलो एउटा ढुंगा झर्दैछ। त्यसले सूर्यको वरिपरि छल्छ रे। त्यति बेला पृथ्वीमा रात नै पर्छ। त्यो पनि एक प्रकारको प्रलय नै हो। अमेरिका, रसियालगायतका देश मिलेर त्यस ढुंगालई विष्फोट गर्नका लागि एउटा मिसायल पठाइएको छ। त्यो जाँदैछ। त्यसले भेट्टाएर ढुंगा फुटायो भने घाम लाग्छ। यदि त्यसले भेट्टाएन भने ६ दिन पृथ्वीमा रात पर्छ। भेट्टाएर फुटाए पनि त्यसको चोइटाले पृथ्वीलाई अलिकति असर गर्छ कि भन्ने वैज्ञानिक र हामी अध्यात्मिकहरुको अनुसन्धानले देखाएको छ। यस्तो समयहरु आउँदैछन्। तपाईहरुलाई के भन्न चाहन्छु भने तागेरा निङवाभूमाङ हर्ताकर्ता, दिने, लिने, सृष्टि गर्ने माङ भएको हुनाले हाम्रो ध्यान चाहिँ त्यतातिर केन्द्रित गरौं भन्छु है। अब ६ दिन रात पर्यो भने त हाहाकार हुन्छ। समस्या हुन्छ। चिल्लीबिल्ली हुन्छ। एक सय वर्षअघि पनि त्यस्तो भएको थियो। पृथ्वीको चक्र चाहिँ अप्ठ्यारो किसिमले घुमिराखेको छ। मेरो अनुसन्धानले के देखाएको छ भने अहिले पृथ्वी कोल्टे गतिमा गइराखेको छ। कोल्टे परेर घुमिराखेको छ। त्यसैले जलवायु तलमाथि भइराखेको छ। मान्छेका विचारहरु पनि तलमाथि भइराखेको छ। त्यसैले हामीलाई चिन्ता लागेको छ। त्यो ढुंगा आएर घामलाई छलेर ६ दिन रात पर्यो भने हाम्रो मनस्थिति त्यो नै परिवर्तन हुन्छ कि, मान्छेले मान्छे चिन्न नसक्ने, मान्छे मान्छे नै बाझने, टोकाटोक गर्ने हुन्छन् कि भन्ने मलाई ठूलो डर छ। अहिले शान्ति हुँदा त मान्छे टोकाटोक गर्छन्, बाझछन्। रीसैरीस उठ्छ। उट्पट्याङ मात्रै गर्छन्। त्यस्तो भइराखेको छ। त्यसैले त्योपट्टि पनि हामी धर्मावलम्बीहरु सचेत बनौं, चिन्तन गरौं। मनन गरौं। यही कुरा भन्न चाहेको छु।
फर्सीको दानाजस्तो पृथ्वी रहेको छ। एउटा चोइटा आएर ठोक्कियो भने यो पड्किन्छ। पृथ्वीभित्र पड्किने सामानहरु धेरै छन्। पृथ्वी नै पड्यो भने त हाम्रो बस्ने ठाउँ नै हराउँछ। चैन गर्ने ठाउँ हराउँछ। त्यसैले हामी पुरुषहरुले पनि यो कुरामा चिन्तन गर्नु पर्दछ। रेडियो सुनेर बस्ने हाम्रा साथीभाइहरु र शक्तिपीठमा बस्ने हाम्रा गुरुजीहरुले यस कुरामा चिन्तन गर्नुपर्छ। पृथ्वी बाँच्यो भने हामी बाँच्छौं। पृथ्वी रहेन भने हामी हराउँछौं। सबै हराउँछ। प्रलय पहिले पनि हुँदै आएको हो। टुक्राटक्रा भएर आएको हो। संसारको बनावट, माङको सृष्टि अचम्मको छ। यसमा पनि हामीले चिन्तन गर्नुपर्ने जस्तो मलाई लाग्छ।
रोगव्याधीहरु त हरेक आउँछन्। जति नयाँ रोग आउछन्, त्यो रोगको दबाई पत्ता लगाएर त्यसलाई कन्ट्रोल गर्दै लग्यो। अझ अर्को रोग आउँछ। त्यसको औषधि पत्ता लगाइनसक्दै अर्को रोग आउँछ। यसरी विभिन्न किसिमका रोगहरु आइराखेका छन्। त्यसैले हामी पनि सचेत बनौं। साथीभाइलाई सम्झाऔं। ज्ञान दिऔं। जब सत्मार्गमा हिँड्न सक्छौं, तब हाम्रो कल्याण हुन्छ।
महागुरु फाल्गुनन्दको वाणी छ, ‘संसारमा एक पटक आगो बलेर आउँछ। त्यसलाई शान्ति गर्न कुनै धर्मले सक्दैन। किरात धर्ममा एउटा मुन्धुम छ। त्यसले मात्र शान्ति गर्न सक्छ है।’ यसरी वहाँले हामीलाई ज्ञान दिनुभएको छ। हामी जसो गरेर पनि बाँच्नु पर्छ। संसार जसो गरेर पनि रहनु चाहिँ पर्छ। संसार नै रहेन भने त हामी रहँदैनौं। त्यसैले अलिकति धर्ममा, सत्यपट्टि पनि बल गरौं। यही कुरा अनुरोध गर्न चाहन्छु।
आज धेरै बोल्ने मेरो धोको थियो। तर, समयले बिदा दिइसकेको छ। हामी भनेको संसारको एउटा जुम्राको स्वरुप हौं। धेरै पाप हुँदै गएपछि पृथ्वीले पनि रुप फेर्छ। त्यति बेला हामी हराउन पनि सक्छौं। बाँच्न पनि सक्छौं। यो दुविधा छ। मैले अघि भने तागेरा निङवाभूमाङ भनेको लिने पनि वहाँ नै हो, दिने पनि वहाँ नै हो। लाने पनि वहाँ नै हो। बनाउने पनि वहाँ नै हो। त्यसैले माङप्रति हाम्रो ध्यान आकर्षण गर्नु पर्दछ।
अहिले लोभ, लालचमा हामी फसिराखेका छौं। तेरो मेरोमा फसिरहेका छौं। तँ ठूलो र म ठूलो भन्नेमा फसिराखेका छौं। त्यसैले हामीलाई बुद्धि, विवेक, ज्ञान, आयु दिने माङलाई बिर्सिराखेका छौं। अब माङप्रति हाम्रो आत्मा आकर्षित गरौं।
संसार ईश्वरको फूलबारी हो भनेर मैले सधैं भनेको छु। संसारमा कोही मान्छेहरु चन्द्रमा, अन्तरिक्ष पुगे। ताराहरु गनिसके। कोही चाहिँ जंगलमा नै छौं। त्यसैले संसार माङको फूलबारी हो। संसारमा विभिन्न खाले मान्छे छौं। गोरो, कालो, नीलो, पहेंलो विभिन्न रंगका मान्छेहरु संसारमा फुलेर बसेका छौं। फूलबारी भएर बसेका छौं। मेरो भनाइको तात्पर्य पृथ्वी रह्यो भने हामी रहन्छौं। पृथ्वी बाँच्यो भने हामी बाँच्न सक्छौं।
हामीले अनुसन्धान गर्यौं। यो पारि कुम्भकर्ण पहिरो भन्छ, सुभाच्याङको। यसको मुनि मेरो सानो खेती छ। त्यो पहिरो नरोकिने हिसाबले सुरु भयो। तर, त्यही नजिक गएर पृथ्वीलाई चोमेन(उपकार) गर्दा त्यो पहिरो रोकियो। त्यहाँ अहिले जंगल भएको छ। यो इभाङमा एउटा पत्था पहिरो भन्ने थियो। मैले सानैमा देखेको हुँ। त्यहाँ ठूलो टार थियो। त्यो कहिल्यै नअडिने गरी पहिरो बग्यो। त्यो बग्दा–बग्दा त्यहाँ त साँघु लगाएर वारिपारि गर्नुपर्ने अवस्था आइसकेको थियो। त्यहाँका सबैले अनुरोध गरेकाले यहाँबाट भक्तजनहरु पठाएर एक दुई मुठी चरु पोल्न लगाएँ। त्यो पहिरो रोकियो। त्यो ठाउँमा अहिले जंगल भएको छ। त्यसैले पृथ्वीले पनि उपकार खोज्दो रहेछ। मान्छे बिमार भयो भने उपचार गर्न डाक्टरकोमा जान्छौं। कि त गुरुजनहरुकोमा जान्छौं। कि त ज्योतिषहरुकोमा कि त या, साम्बा, फेदाङमाहरुकोमा जान्छौं। यो पृथ्वीले पनि उपचार खोज्दो रहेछ। उक्त कुरा मैले पत्तो लगाएको छु। यो फुलाङगे पाखामा पनि एउटा ठूलो पहिरो गइराखेको थियो। अब त्यो पहिरो थमाउनलाई हल्ला गरौं भने लाज हुने। भौतिक जमानामा कसैले पत्याउँदैनन्। त्यसैले लुकीलुकी गएर एक दुई मुठी चरु पोल्न लगाएपछि पहिरो अडिएको छ। म बसेको वरिपरि पहिरो आइराखेको थियो। त्यो २०३६, २०३७ र २०३८ सालको कुरा हो। यहाँ त सुनसान थियो। धर्म भनेको कुरा जानेकै थिएनन्, यो ठाउँमा। त्यसैले गिल्ला गर्छ कि भनेर राति राति सामान बनाउन लगाएर चरु पोलेपछि त्यो पहिरो अडिएको छ। यसरी पृथ्वीले पनि उपचार खोज्दो रहेछ भन्ने कुरा चाहिँ मैले पत्तो लगाएको छु आदाङबासे। महागुरुको पालामा पनि यो सेतो पहिरो अडाइराख्नुभएको छ। त्यो बुआनाको एउटा ठूलो पहिरो थियो। त्यो पनि अडाइराख्नुभएको हो। चोकमागुको बेतेनी भन्ने एउटा खेत पहिरोले गर्दा बगिसकेको थियो। त्यो पनि अगाइराख्नुभयो। त्यो अझैसम्म छ। इक्सादिङ खाम्बेक माङ भन्छ हाम्रो मुन्धुमले, इक्सादिङ खाम्बेक माङले पनि उपकार खोज्दो रहेछ।
यहाँ ठूलो महामारीहरु आउँदैछ। दक्षिण अफ्रिकामा इबोला भन्ने रोग आयो। सञ्चार माध्यमहरुमा दिइराखेको छ। त्यो चाहिँ केबाट आयो अरे भन्दा त्यहाँका काला मान्छेहरुले त चमेरा, बाँदरहरु खान्छन्। चमेरा, बाँदरहरु खाएपछि इबोला रोग आएको हो। इबोला भन्ने त खोला रहेछ। त्यहीबाट इबोला रोग भनियो। अहिले संसारका डाक्टरहरु जम्मा भएका छन्। उपचार गर्दा डाक्टरहरु पनि मर्छन्। अनि डाक्टरहरु सबै भाग्न थालेपछि सरकारले पक्डिँदै त्यहाँ राखेका छन्। त्यो रोगको औषधिको अनुसन्धान गरिराखेका छन्। महागुरुले त के भन्नुभएको छ भने ‘तिमीहरुले जाँड, भाङ नखानु, मासुमंस नखानु, यसमा बिमार आउँछ। रोग आउँछ। र, मान्छे बिमार हुनुभन्दा पहिले रुख, ढुंगा, माटो बिमार हुन्छन्। अनि माछा बिमार हुन्छ। माछा बिमार भएपछि मान्छे बिमार हुन्छ। त्यतिबेला आधारातमा नुवाइधुवाइ गरेर चोखोनितो गरेर, पूर्व फर्केर युमासामलाई धुप पोल्नु है। यसो गरे मात्रै रक्षा हुन्छ। शान्ति हुन्छ।’
एउटा उदाहरण, नेपालमा इबोला पहिला हवाइजहाज लाइनबाटै आउँछ। हाम्रा मान्छे विदेश जान्छन्। त्यसबाटै इबोला आउँछ। त्यसलाई परीक्षण गर्ने यन्त्र त नेपालमा छैन। त्यो अञ्जानमा आएर यहाँ फैलियो भने त हामी सखाप हुन्छौं। त्यो पनि हामीले चिन्ता गर्नुपर्छ है। त्यो चाहिँ निक्कै टाढाबाटै सर्छ अरे। त्यस्तो खालको बिमार नेपालमा आयो भने त उपाय नै छैन। उही तागेरा निङवाभूमाङबाहेक अरु उपाय छैन। हाम्रो सरकारसँग त्यो सामान किन्ने उपाय छैन। त्यसैले गर्दा समस्या छ। तर, हामी चाहिँ के गरिराखेका छौं भने साँझ, बिहान इबोला बिमार कहाँबाट उत्पत्ति भयो, त्यही जाऊ, तिम्रो ठाउँ त्यता है। यता त तिम्रो ठाउँ होइन है भनेर आध्यात्मिक प्रयास गरिराखेका छौं। यस्तो कुराहरुमा चिन्तन गर्नु पर्छ। संसार कहाँ पुगिसक्यो, त्यो कुरालाई पनि हामीले चिन्तन गर्नु पर्छ। मान्छेहरु चन्द्रमामा बिरुवा लगेर रोप्दैछन्। माटो लाँदै रोप्दैछन्। मंगलग्रहमा पठाएका छन्। त्यहाँ त अक्सिजन छ। अझ बस्ती नै राख्ने भन्ने कुरा छ। होटलहरु खोल्ने कुरा छ। तर, हामी नेपालीहरु भनौं हामी किरातहरुमा त्यस्तो चिन्तन छैन। त्यो स्तरमा पुग्न त एक सय वर्षमा पनि पुग्दैनौं। धर्मले राम्रो कुरा सिकाउँछ। कुलतमा फस्न दिँदैन। स्वास्थ्यलाई राम्रो राख्नु भन्छ। चेतनालाई पवित्र राख्नु भन्छ। यो चेत, यो सम्झिने एउटा शक्तिलाई अझ राम्ररी सुधार भएर लानु पर्छ। यी कुराहरुमा पनि तपाईहरुको ध्यान आकर्षण गर्न चाहन्छु।
यहाँ विश्वभरिकै मान्छेहरु जम्मा हुनुभएको छ। प्रतिनिधिको रुपमा आउनुभएको छ। अन्तिममा म के भन्छु भने यो धर्म संसारमा फैलिएर जाओस्। तपाईहरुले मनमा जे सोचेर, सम्झेर आउनुभएको छ। केही माग्न आउनुभएको छ। त्यसलाई तागेरा निङवाभूमाङले पूरा गरिदिओस् भन्ने माङसँग प्रार्थना गर्न चाहन्छु।
दुई वटा बाटो हुन्छ। एउटा पापको बाटो, अर्को धर्मको बाटो। एउटा कुकर्म, एउटा सुकर्म। यसलाई चिन्नु पर्दछ। हामी कुकर्ममा जानुभन्दा सुकर्म, शान्तिको बाटोमा जानु राम्रो। हाम्रो बाटो यो हो। यसभित्र जाँदा गम्भीर दर्शन छ। थुप्रै दर्शन छन् यसभित्र। त्यसलाई हामीले अनुशरण गर्नुपर्यो। बुझनु पर्यो। जान्नु पर्यो। दिमागमा राख्नु पर्यो। मेरो समयमा धेरै कुराहरु अगाडि बढाएर ल्याएँ। सफल भइराखेको छु। मेरो बाजे महागुरुको समयमा त निरङ्कुश शासन थियो। राणा शासन थियो। तर पनि किरात धर्मको प्रचारप्रसार भएर आयो। महागुरुले माङहिमहरु बनाउँदै जानु हुँदा यो त लिम्बुवानको राजा हुनु खोज्दैछ भनेर पक्राउ पूर्जी आयो। र, पक्रिएर हतकडी लगाएर लगे। काठमाण्डौ पुर्याए। त्यतिबेला त काठमाण्डौलाई नेपाल भन्ने चलन थियो। नेपाल पुर्याए। श्री ३ राणा सरकारहरु वरिपरि बसेर हाजिर गराए। बाटोमा जाँदा–जाँदै महागुरुले ‘मेरो गहना त ल्याउनुभएको छ। म गहना लगाएर जान्छु।’ भन्नुभयो। त्यो गहना भनेको हतकडी थियो। र, हतकडी लगाएर राणा शासकको अगाडि पुर्याए। महागुरुले राणा सरकारको हातमा एउटा असर्फी राखेर हात उठाउँदा त्यो हतकडी आफैं चुडिएर झर्यो। अनि राणाहरु हेराहेर गरे। लामो लामो जिब्रो तन्काएर हेराहेर गर्यो अरे। त्यसपछि यो त राजा त होइन रहेछ। यो त के हो के हो, ईश्वर रहेछ भनेर पशुपति क्षेत्रमा मृगस्थली भन्ने ठाउँ छ। राणाले महापुरुष तिमी त्यहाँ बस्नु पर्छ भनेर ठाउँ दिएको थियो। तर, महागुरुले म त बस्दिन। नसुध्रिएको समाजलाई सुधार्न जन्मेको हुँ। म त मेरो बन्धुमा फर्किन्छु भनेर यो गाउँमा आउनुभयो।
मेरो समयमा पञ्चायत कालमा पनि लाइन त त्यही आइराखेको थियो। मेरो टाउको पनि तीन लाख रुपैयाँमा मोलेकै हो। तर, काम गर्दै आयौं। चेलाभूलाहरु, भक्तजनहरु नेल, साङली लगाउनेसम्म पुर्याएको छैन पो। मेरो समयमा धेरै विकास भएर आएका छ। मेरो नाममा पनि सेतामगुरालीको आरोप लाग्यो। कांग्रेसको आरोप लाग्यो। कम्युनिस्टको आरोप लाग्यो। बामे भन्थे। मैले एक दुई जना मान्छेलाई सम्झाउँदा यो बामे हो भन्थे। खेती गर्दा पनि यो कम्युनिस्ट हो। कम्युनिस्टले मात्रै यसरी काम गर्छ भन्थे। तर पनि ती सारा कुरालाई चिरफार गरेर पार भएर आइराखेका छौं। दु:ख, सुख त आफ्नै ठाउँमा छ। बिस्तारै तपाईहरुलाई भनौंला।
आज ज्यादै खुशी लागेको छ। तपाईहरु सहभागी हुनुभयो। सञ्चार माध्यमका प्रतिनिधि, देश तथा विदेशका भक्तजनका साथै देशका नेताहरु सबै आइदिनुभयो। यस भूमि माङसेबुङलाई विश्वले चिनिसकेको छ। यसलाई सबै मिलेर पवित्र भूमि, तीर्थस्थल, शान्तिको भूमि बनाऔं। हामीले काँधमा काँध मिलाएर, मनमा मन मिलाएर एउटा पवित्र थलो बनाऔं। संसारमा केही हुँदा पनि तपाईहरु यहाँ आएर बाँच्नु सकोस्। मेरो यही चाहना छ। तपाईहरुले राम्रो बुझनु होला।
यहाँ धेरै विकासका कुरा गरे नेताहरुले। हुन त मेरो सल्लाह धेरै नेताहरुले लिएका छन्। मैले सल्लाह दिइराखेको छु। राज्य चलाउने, सत्ता चलाउने सल्लाह, परामर्श दिइराखेको छु। त्यो गरिराखेका छन्। यो माङसेबुङ बाँझो गाविसको नौ नम्बर वडा हो। यहाँका जनताहरु, माङसेबुङवासीहरु सरकार बिजुली देउ भनेर कराए। बिजुली पनि भर्खरै प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन भयो। यो बिजुली पनि उपभोग गरौं। सबैले बालौं। हराभरा बनाऔं। यस ठाउँलाई सुन्दर, शान्त बनाऔं। तपाईहरुलाई यही कुरा आग्रह गर्न चाहन्छु। र, बाटोको हकमा फाल्गुनन्द मार्ग दमक, चिसोपानी, रबी भनेर कराइरह्यौं। त्यसमा कतिसँग छलफल भयो। त्यो छलफलमा म पनि सहभागी भएको थिएँ। पहिला पञ्चायत कालदेखि नै त्यो सुरु गरेको हो। अहिले आएर सरकारले आठ करोड रुपैयाँ बजेट छुट्याएको छ। अब यो बाटो बन्यो भने तपाईहरु आउन सजिलो हुन्छ। र, यता माङसेबुङ–बिर्तामोडका लागि अलिकति बाटो अल्झिएको थियो। मैले तपाईहरुकै भेटी दिएर त्यसलाई पूरा गर्न सफल भयौं। अहिले बस आवतजावत गर्दैछ। अहिले भुटान, सिक्किम र सिलगुडी, आसामबाट आउने भक्तजनहरुलाई त्यो बाटोबाट नजिक भएको छ। सुविधा भएको छ। विकासको क्रम त्यस्तो छ।
एउटा नयाँ कुरा, फाल्गुनन्द धार्मिक वनको पेटपेट लगेर जितपुरमा महागुरुले बनाउनु भएको माङहिमसम्म र त्यहाँबाट गाग्रेभञ्ज्याङसम्म हाम्रो सुम्बोगेन हुक्वाबाट बाटो बनिँदैछ। त्यस बाटोबाट फुलुङगी तीर्थस्थल, महागुरुले ज्ञान प्राप्त गर्नुभएको ठाउँ र मैले ज्ञान प्राप्त गरेको थलोमा सबै भक्तजनहरु सुविधा साथ आनन्दसँगले यात्रा गरुन्, दर्शन गरुन् भनेर तीर्थमार्ग नाम लगाएर हामीले काम सुरु गरिराखेका छौं। त्यो कुरा हाम्रा नेताजीहरुसँग माथिल्लो निकायमा पनि कुरो भइराखेको छ। तीर्थमार्गको अध्यक्षका साथै काम गर्नेहरु पनि यही आउनुभएको छ। त्यसमा पनि हामीले अलिअलि हुक्वा लगाऔं। त्यसबाट पनि तपाईहरुले माङवाहाङवा पाउनु हुनेछ। त्यो परिबन्ध मिलाएका छौं। यो फाल्गुनन्द धार्मिक वनको पेटपेट मेक्वा खोलाको किनारबाट फुलुङगी र फुलुङगी हुँदै जितपुर गाग्रेभञ्याङसम्म जान्छ। यो बाटो निर्माण गर्न सफल भयौं भने ऐतिहासिक थलोहरु हामी सबै देख्न पाउँछौं। महागुरु कस्तो ठाउँमा बस्नुभएको रहेछ। कस्तो ठाउँमा ज्ञान प्राप्त गर्नुभएको रहेछ भन्ने कुराहरु थाहा पाउन सक्छौं। र, जितपुरमा महागुरुले एउटा माङहिम बनाउनुभएको छ। त्यसको पनि दर्शन गर्न सक्छौं। त्यसैले यस बाटोमा विश्वका भक्तजनहरुले अलिअलि हुक्वा लगाऔं। एक थुकी सुकी सय थुकी नदी भन्छन्। हामीले अलिअलि थुक्यौं भने नदी बन्छ। त्यसैले त्यसपट्टि पनि तपाईहरुको ध्यान आकर्षण होस्। यो माङसेबुङ नजिकबाट आउन मझुवा खोलाबाट एउटा बाटो खोल्नु पर्नेछ। अब बिस्तारै बिस्तारै सुन्दर बन्छ भन्ने हामीलाई आशा लागेको छ। यसप्रति पनि ध्यान आकर्षण गर्न चाहन्छु।
निजी आश्रमका लागि पनि तपाईहरुकै हुक्वाबाट साम्याङवा धारा, युप्पावा धारा, निजी आश्रममा गुरु बस्ने तपाईहरुको शीर, गुरु आराम गर्ने थलो तपाईहरुले बनाइदिँदै हुनुहुन्छ। तपाईहरुको सहयोगबाट। त्यस वापत आशीर्वाद मेडलको प्रबन्ध छ। त्यसमा पनि तपाईहरुले ध्यान दिनु होला। मुजोत्लुङ माङहिमका लागि धुनीकुण्ड बन्दैछ। विश्व शान्तिका निमित्त एक दुई मुठी चरु त लगाउनै पर्छ। तपाईहरुले सुम्बुगेन हुक्वा लगाउनुभएको माङलाई त देखाउनै पर्छ। त्यसका निमित्त पनि तपाईले सुम्बुगेन हुक्वा दिइराख्नु होला। हाम्रो सबै काम सिद्ध भएपछि पक्कै पनि हामी सबै सिद्ध हुन्छौं। हाम्रो मनोकामना पूर्ण हुन्छ भन्ने मैले सम्झेको छु।
अब मेरो पनि समयको गति नजिक नजिक आइपुगेको छ। हिजोदेखि ६१ वर्षमा लागें। अब अर्को साल त्यत्तिकै जान्छ। त्यसपछि पनि त्यत्तिकै जान्छ। अब यताभन्दा पनि उत्तै नजिक हुँदै जान्छ। तर, मान्छेमा यो गर्छु, त्यो गर्छु भन्ने लोभ चाहिँ कहिल्यै मर्दैन। त्यसैले म हुँदै तपाईहरुले बल गरिदिनु पर्यो। म हुँदै धेरै कुरा तपाईहरुले सोध्नुपर्यो। म केही दिन आएको छु। मैले तपाईहरुलाई के भनेको छु भने तपाईहरुको दिमाग, विवेक, आत्मामा रहेका नराम्रा चीजहरुलाई धुन, सफा गर्नु आएको हुँ। मेरो काम यो हो। मेरो कर्तव्य यो हो। यी कर्तव्य पूरा भइसकेपछि म पनि परमधाम जानुपर्छ। मेरो माथिल्लो अफिस पनि खाली भएको छ। त्यो अफिस चलाउनु पर्छ माथि गएर। त्यसैले अब तपाईहरुसँग घुलमेल गरेर बस्ने समय अलि छोटिँदै गइरहेको छ। त्यसैले यसपट्टि पनि तपाईको ध्यान आकर्षण गरें।
अब यहाँ माङहिमहरु बनाउने, हराभरा बनाउने मेरो एउटा इच्छा छ। यस ठाउँमा विश्वका मान्छे आउँछन्। करोडौं भक्तजनहरु आउँछन्। तर, कसरी थाम्न सक्नु हुन्छ? भन्ने कुरामा मलाई चिन्ता लागेको छ। यो हत्तपत्तको दिमागले थाम्दैन है। निकै ठूलो दिमाग चाहिन्छ। संसार अट्ने दिमाग चाहिन्छ। मैले त दु:ख–सुख खेती गरेर हुन्छ कि, भारी बोकेर हुन्छ कि, मान्छेलाई सम्झाएर हुन्छ कि, अपाङग असहायलाई सहयोग गरेर हुन्छ कि यो धर्म यहाँसम्म ल्याएको छु। यो तपाईको भाग्य हो। यो सम्हालेर यसलाई टेक्वा दिएर लाने तपाईहरुको कर्तव्य हो है। यो बुझनुभयो नि?
स्वास्थ्य रहनका लागि हामीले चुरोट, बिडी खानु हुँदैन। अभक्ष चीजहरु खानु हुँदैन। आत्मालाई पवित्र राख्नुपर्छ। तपाईहरु यति जम्मा हुनु भएको छ। मतवाली भन्छ, किरातहरु भेला भएको ठाउँमा त झगडा मात्रै पो हुन्छ त। कुटाकुट हुन्छ। अनि पुलिसलाई पक्रेर कारवाही गर भन्ने बाध्यता आउँछ। कानुन लाउनु पर्ने बाध्यता आउँछ। धन्न पो तपाईहरु यतिसम्म हुनुभएको छ। तपाईहरु माथि आउनुभएको छ। यसमा मलाई खुशी लागेको छ। अब तपाईहरुको विवेक जति ब्यूँझिँदै जान्छ, तपाईहरुले आत्मालाई सफा राख्नुभयो भने, अमूल्य ज्ञानहरु आफैं आउँछ। कसैलाई सोध्नु पर्दैन। म कुनै विश्वविद्यालय पढेर डाक्टरेट गरेको होइन। मैले गुफा साधन गरेर, ध्यानबाट डाक्टरेट हुँ। त्यसैले मेरो स्कुल त ओडार पो है भन्ने गरेको छु। मलाई सोध्छन् नि, कहाँ पढेको हो? डिग्री कुन विश्वविद्यालयबाट हो? म चाहिँ मेरो क्याम्पस ओडार है भन्छु। यसरी सुनाउने गर्छु। हामीले अध्ययन गर्दै गयौं भने त्यो आफैं आउँछ है आत्माबाट। कसैले अराउनु पर्दैन। त्यो ज्ञान मैले प्राप्त गरेर तपाईहरुको दिमागमा, मस्तिस्कमा हालिदिएको छु। त्यसले आफैं काम गर्दै जान्छ। तर, यति हो सत्य सम्झिनु पर्छ। सत्य कुरालाई पछ्याउनु पर्छ। मेन्डेट एरिया भनेको त्यो हो।
उभौलीको समयमा माघ १ गतेदेखि हामीले एक हप्ते किरात धार्मिक चाड घोषणा गरेका छौं। प्रधानमन्त्री सुशील कोइरालाजी आउनुभएर घोषणा गरिदिनुभएको छ। र, हामीले एक हप्ते चाडलाई रमाइलो साथ मनाऔं। १ सय ८ प्रकारका परिकार बनाएर खाऔं। यसमा पनि केही छुट छ। आ–आफ्नो किसिमले मनाउने। अब हामी शाकाहारीले शाकाहारी किसिमले मान्ने, मासुमंस खानेहरुले त्यही किसिमले मान्छन्। तर, १ सय ८ वटा चीज चाहिँ मिलाएर खानु सिक्नु पर्छ। एक हप्ते चाड मान्दै जाऔं। शान्तिको कामना गरेर सबैसँग शुभकामना आदानप्रदान गरौं। दु:ख, सुखका कुरा गरौं। यसरी चाडको स्वरुप ल्याऔं। यो पनि तपाईहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले माघमा अलि व्यवस्थित ढंगले उभौलीको सेवा गरौं, चाड पनि मनाऔं। माङवाहाङवा पनि थापौं। यही कुरा तपाईहरुलाई ध्यान आकर्षण गर्छु। अर्को कुरा निजी आश्रममा काम प्रसस्त भएकाले अलि कति जनशक्तिको आवश्यकता परेको छ। त्यसैले तपाईहरुले जनशक्तिको सहयोग मलाई दिनु पर्यो।
अब म तपाईहरुसँग समय लिन चाहन्न। आज धेरै बोल्ने मेरो इच्छा त थियो। तर, समय अभावले सकिएन। एउटा विशाल धार्मिक प्रवचन गराउने मेरो योजना छ। दुई संस्थाहरु (किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमागेन्ना सेवा)सँग सल्लाह भइराखेको छ। कुन ठाउँमा गर्ने, कहाँ गर्ने, कति मान्छे जम्मा गर्ने भन्ने कुरामा छलफल गरिराखेका छौं। यसमा तपाईहरु पनि सहभागी हुुनु होस्। तपाईहरुले पैसा कुलतमा फ्याँक्नुभन्दा धर्मको कुरा सुन्न खर्च गरेर जानु। अब गाडी बन्द भयो भने खुट्टाले हिँडेर जानु। हिजोसम्म हामी खुट्टाले हिँडेका हौं। तर, गाडी चलेर सुविधाभोगी भइयो। यहाँ जान निक्कै गाह्रो हुन्छ। त्यसैले खुट्टाले हिँडेर पनि आइपुग्नु पर्छ। हामीले खबर गर्छौं।
माघलाई चाडको रुप दिएका छौं। देशमा शान्ति भयो भने राम्रो कुरा हो। अशान्ति भयो भने बाटो रोकिन्छ। बन्द हुन्छ। त्यतिबेला त हामी बन्दोबस्ती सामानसँग हिँडेर आउनु पर्छ। खर्चबर्च बोकेर हिँडेर आउनु पर्छ। त्यो पनि हामीेले मनन् गरौं। चिन्तन गरौं। यो थलोलाई नबिर्सौं। हामीले माथिल्लो निकायबाट राम्रो आश्वासन पाएका छौं। यहाँको शान्तिको निमित्त प्रहरी प्रशासन, सबैले हामीलाई सहयोग पुर्याउनुभएको छ। सहयोग दिनुभएकोमा म सरकारलाई नै धन्यवाद दिन चाहन्छु। महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको र राष्ट्रले चिनेको छ। महागुरु फाल्गुनन्द जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रिय बिदाका लागि पनि छलफल भइराखेको छ। राष्ट्रबाट मैले आशा गरिराखेको छु। फाल्गुनन्द जन्मजयन्तीमा राष्ट्रिय बिदा भयो भने अझ राम्रो। हामी शान्तिसँग बसौं। हाम्रो भाषा, साहित्य, संस्कृति बाँच्न पाओस्। धर्म सबैले मान्न पाओस् भन्ने कामना गर्छु।
हामी यसरी भेट भयौं। दु:ख, सुखका कुरा गर्यौं। यो थलो त्रिवेणी हो। यो थलो भनेको कुम्भकर्ण हिमाल(फक्ताङलुङ)बाट आएको डाँडाको शृङ्खला हो। यो लारुम्बामा आएर यो माइठकुरानीको, रतुवाको छेउ, यो चुलाचुलीको छेउमा टुङ्गिएको छ। यहाँ हामी विश्वका मान्छे भेला भएका छौं। त्रिवेणी, तीर्थमा भेला भयौं। यस महायज्ञमा भेला भयौं। यो महायज्ञमा भेला भएको हुनाले तपाईहरुले जे जे चिताउनुभएको छ, त्यो पूरा होस्। कसैले ठूलठूला पद पाऔं भनेर माग्न आउनुभएको होला। कोही के पाउँ भनेर माग्न आउनुभएको होला। कसैले धन शक्ति, जनशक्ति, वुद्धि, ज्ञानको शक्ति सिद्धि माग्नुभएको होला। दु:खहरु सबै निवारण होस् भनी माग्नुभएको होला। ती सबै तागेरा निङवाभूमाङले पूरा गरोस्। तपाईहरुको मनोकामना पूरा होस्। यही आशीर्वाद दिँदै म बिदा लिन चाहन्छु।
आसेवारो, आसेवारो, आसेवारो। जय किरात।
मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ६१औं जन्मोत्सव समारोहको अवसरमा २०७१ साल मंसिर १९ गते माङसेबुङ, इलाममा दिनुभएको प्रवचनको पूर्ण पाठ :